ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार


१३ चैत्र २०७८, आइतबार


बैतडी । स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ ।

यसका लागि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए ।

शिविर यही चैत १६ गते शिवनाथ गाउँपालिकाको सुल्लेखान, चैत १८ गते दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र यही चैत २० मा सिगासको गाँजरी स्वास्थ्यचौकीमा सञ्चालन हुने जनाइएको छ ।

ती शिविरमा उनीहरुको स्वास्थ्योपचार र औषधि वितरण गरिने जनाइएको छ ।

शिविरमा अपाङ्गता भएका व्यक्तिको चिकित्सकद्वारा स्तर निर्धारण गरी सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने उनले बताए ।

शिविरमा आएर निःशुल्क स्वास्थ्य जाँच गराउन आग्रह गरिएको छ । यसैबीच जिल्ला अस्पतालमा यही चैत १९ देखि २३ गतेसम्म निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।

अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञले सेवा दिनेछन् ।

शिविरमा खुट्टाका पैताला फर्केका, जन्मजात हातखुट्टा बाङ्गिएका, हातमा आगोले पोलेका र हातखुट्टामा अन्य विकृतिजन्य समस्या भएकाको उपचार गरिनेछ ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल बैतडीको संयुक्त आयोजना शिविर सञ्चालन हुने छ ।

शिविरमा आएर सेवा लिनसमेत जिल्ला अस्पतालले आग्रह गरेको छ । हाडजोर्नीको समस्या भएर अर्थाभावमा उपचारबाट वञ्चित भएका नागरिकले उक्त सेवा लिन अस्पतालले आग्रहसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस