मध्यपहाडी लोकमार्ग : समस्याग्रस्त बोक्सेमा ढलान, अन्यमा धमाधम काम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मध्यपहाडी लोकमार्ग : समस्याग्रस्त बोक्सेमा ढलान, अन्यमा धमाधम काम


१३ चैत्र २०७८, आइतबार


गलकोट । पानी पर्नासाथ बागलुङ नगरपालिका–३ स्थित बाक्से खाल्टोमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध हुन्छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सबैभन्दा समस्याग्रस्त क्षेत्र बोक्से क्षेत्र कमजोर भौगोलिक बनावट र पानीको मूलका कारण बर्खामा मात्रै होइन, हिउँदमा सुक्खा पहिरो खस्छ ।

बर्खा लाग्यो भने त लोकमार्ग आयोजनाले पहिरो पन्छाउन आवश्यक उपकरणहरू बोक्सेमै राख्नुपर्ने अवस्था छ ।

लोकमार्गको टाउको दुखाइ बन्दै आएको बोक्सेमा अहिले भने धमाधम सडक ढलान भइरहेको छ ।

सडक ढलानपछि लोकमार्गको समस्या केही हदसम्म हटेर जाने लोकमार्ग आयोजना कार्यालयको भनाइ छ ।

अहिले बोक्से खाल्टोमा धमाधम लोकमार्गको ढलान कार्य भइरहेको छ । लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ जिल्लाको सदरमुकाम खण्डमा फागुनबाट कामले तीव्रता पाएको छ ।

अहिले भइरहेको कामले लोकमार्ग कालोपत्र हुने आस पलाएको छ । अहिले जिल्ला सदरमुकामबाट अछेतेतर्फ खहरेखोलासम्म ग्राभेलको काम धमाधम गरेको छ भने लोकमार्गको सबैभन्दा बढी समस्याग्रस्त क्षेत्र बोक्से खाल्टोमा ढलान गरिरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

लोकमार्ग आयोजना कार्यालयको निरन्तरको ताकेतापछि अहिले लोकमार्गले गति लिएको र बागलुङ बजारबाट अछेतसम्म कालोपत्रका लागि धमाधम भौतिक पूर्वाधार ग्राभेलको काम भइरहेको छ भने बोक्से क्षेत्रको ३०० मिटर सडक ढलान गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका नारायणदत्त भण्डारीले जानकारी दिए ।

‘सडक कालोपत्रका लागि निरन्तर ताकेता गरेपछि अहिले बागलुङ बजारबाट अछेतेसम्मको सडकले गति लिएको छ, बजारबाट बोक्सेसम्मको सडक त कालोपत्रका लागि तयारी भइसकेको छ’, उनले भने, ‘निरन्तररूपमा पहिरो खसेर सडक अवरुद्ध हुने स्थान बोक्सेमा कालोपत्र नगरेर ढलान गरिएको छ, पहिरो खसेपछि कालोपत्र बिग्रिन्छ, जमिनमुनिबाट समेत मूल फुट्छ, ढलान गरेपछि पहिरो पन्छाउनासाथ सवारी रोकिँदैन ।’

सबैभन्दा बढी समस्याग्रस्त क्षेत्रमा ढलान गरेपछि पहिराका कारण सवारी फस्ने समस्या हटेर जाने आयोजनाको विश्वास छ । सदरमुकामदेखि अछेते बजारसम्म तत्कालै कालोपत्र गरेपछि त्यसमाथिको सडक ग्राभेल गरिने छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको जिल्ला सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको छ वर्ष लाग्दासमेत कालोपत्र हुन सकेको छैन ।

लामो समयदेखि केही काम हुँदै केही रोकिँदै गरेको सडक अहिले भने कालोपत्र हुने छाँटकाँट देखेको बागलुङ नगरपालिका–३ खहरेका स्थानीयवासी जङ्गबहादुर कार्कीले विश्वास व्यक्त गरे ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरबाहेक अन्य सडक कालोपत्र भइसकेको छ ।

मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ–घोडाबाँधे सडकखण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्लाचौरबाट अक्षेते–बिहुँ खण्ड विसं २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ–घोडाबाँधे खण्ड विसं २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो ।

कूल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङमा २५ किलोमिटरमात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।

यस्तै मध्यपहाडी लोकमार्गको कालोपत्र भइसकेको घोडाँबाधे–गलकोट खण्ड कालोपत्र गरिएको चार वर्ष नबित्दै क्षतविक्षत भइरहेको छ ।

पहिरोका कारण मध्यपहाडी लोकमार्गको घोडाबाँधेबाट गलकोटसम्मको सडकमा खाल्डाखुल्डी परेको छ भने कालोपत्र उप्किएर ग्राभेल निस्किएको छ ।

उक्त सडक मर्मतका लागि बजेटको विषयमा छलफल भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस