जनक शिक्षालाई मतपत्र छपाईको तयारी गर्न आयोगको आग्रह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जनक शिक्षालाई मतपत्र छपाईको तयारी गर्न आयोगको आग्रह


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले मतपत्र छपाईका लागि तयारी अवस्थामा रहन जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई आग्रह गरेको छ ।

आयोगको आज (शुक्रबार) बसेको बैठकले मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको हो ।

सोही अनुसार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई पत्राचार गरिएको आयोगका अधिकारीहरुले जानकारी दिएका हुन् ।

‘ल जनक शिक्षा सामाग्री केन्द्र तिमीकहाँ मतपत्र छाप्ने हो । मेसिन, जनशक्ति सबै कुरा तयारी हालतमा राख्नू भनेर निर्देशन दिने गरी आज आयोगले निर्णय गरेको छ’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

प्रवक्ता पौडेलका अनुसार यही चैत १६ गतेदेखि मतपत्र छपाई सुरु गर्ने आयोगको तयारी छ ।

आसन्न स्थानीय तहको चुनावका लागि २ करोड मतपत्र छापिनेछ । मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकिएको र कागज धमाधम आउने क्रम जारी रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए ।

‘सात सय मेट्रिक टन कागजमध्ये साढे तीन सय मेट्रिक टन जफत आइसक्यो । अबको एक दुई दिनमा सबै कागज आइसक्छ’ पौडेलले भने । कागज जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमै स्टोरेज गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस