एमालेले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैन : योगेश भट्टराई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमालेले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैन : योगेश भट्टराई


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताएका छन् । तर आवश्यकताका आधारमा तल्लो तहका कमिटीको सिफारिसमा जिल्ला कमिटीको निर्णयबमोजिम गठबन्धन हुने उनले बताए ।

शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले समेत स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने स्पष्ट पारे ।

‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन,’ भट्टराईले भने, ‘आवश्यकता परेमा स्थानीय आवश्यकताका आधारमा तल्लो कमिटीको सिफारिसमा सम्बन्धित जिल्ला कमिटीले तालमेल गर्न सक्छ ।’

उनले अगामी निर्वाचनमा मुख्य गरी नेकपा एमाले र नेपाली काँग्रेसकाबीचमा प्रतिस्पर्धा हुने बताउँदै मुलुक बिस्तारै बहुदलीय प्रणालीबाट दुई पार्टीबिचको प्रतिस्पर्धामा गइरहेको उल्लेख गरे ।

भट्टराईले अघिल्लो पटक देशका ४५ प्रतिशत स्थानीय तहमा नेकपा एमालेले विजयी हासिल गरेकोमा बैशाख ३० गते हुने निर्वाचनमा भने ६० प्रतिशत भन्दा बढी पालिकामा जित्ने दाबी समेत गरेका छन् ।

पार्टी विभाजन भएका बेला ६० प्रतिशत स्थानीय तहमा जित कसरी सम्भव छ ? भन्ने जिज्ञासामा भट्टराई ले भने, ‘मुलुकको लोकप्रिय पार्टी भनेको नेकपा एमाले भएको कुरा देश भरी विभिन्न पार्टी परित्याग गरेर प्रवेश गरिरहेको जनलहरले पुष्टि गरेको छ । अन्य पार्टी माइनस हुँदा एमाले प्लस प्लस हुँदै गइरहेको छ यही हाम्रो जित्ने आधार हो।’

गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन नगर्न अनेक खालका दाउपेच गरेको भए पनि नेकपा एमाले, बुद्धिजीवी, पत्रकार र आम नागरिकको दबाबका कारण मिति घोषणा गर्न बाध्य भएको दाबी समेत भट्टराईको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस