फागुनमा बिदेसिने नेपालीको सङ्ख्या झनै घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फागुनमा बिदेसिने नेपालीको सङ्ख्या झनै घट्यो


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ। गत फागुन महिनामा रोजगारीका लागि बिदेसिने नेपाली श्रमिकको सङ्ख्या झनै घटेको छ । माघमा भन्दा माघमा विदेश जान श्रम स्वीकृति लिनेको सङ्ख्या १ हजारले घटेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका छन् । माघ महिनामा यस्तो सङ्ख्या ५४ हजार ४७० जना थियो । फागुनमा दैनिक औसत १ सय ७८१ जना श्रमिक विदेश गएका छन् ।

बितेको फागुन महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार ५२० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने अन्यले श्रम स्वीकृति नवीकरण गरेका थिए ।

गत पुस महिनामा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब २ हजार र मंसिरमा २ हजार ५ सय थियो । पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए भने मङ्सिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए ।

नेपालमा महामारीको तेस्रो लहरले माघ महिनामा यसरी बिदेसिने श्रमिकको सङ्ख्या घटेको अनुमान छ । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको सङ्कट हट्दै गएपछि बिदेसिने नेपालीको सङ्ख्या बढ्दै गएको थियो । तर, पुस महिनापछि सङ्ख्या बढ्ने क्रम रोकिएको छ ।

अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र युएईमा जाने नेपालीको सङ्ख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरू गइरहेका छन् । चैत्र महिनादेखि मलेसियाबाट पनि माग आउन थालेकाले अब बिदेसिने नेपालीको सङ्ख्या अझै बढ्ने अनुमान छ ।

विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर, जेठमा बिदेसिने नेपालीको सङ्ख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए ।

विभागका अनुसार साउनमा २५ हजार ४२८ जना, भदौमा ३६ हजार ४० जना, असोजमा ३९ हजार ६७१ जना र कात्तिक महिनामा ५४ हजार ९१८ जना नेपाली कामका लागि विदेश उडेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस