स्थानीय चुनावमा भाग लिने विप्लवको प्रस्ताव अल्पमतमा, बहुमतको कदर नगरे पार्टी विभाजन हुने चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय चुनावमा भाग लिने विप्लवको प्रस्ताव अल्पमतमा, बहुमतको कदर नगरे पार्टी विभाजन हुने चेतावनी


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा नेताले धारणा राख्ने क्रम सकिएको छ । बिहीबार साँझसम्म ६८ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकार गरी ७२ जनाले नै महासचिव विप्लवको राजनीतिक प्रस्तावमाथि धारणा राखेका छन् ।

स्थानीय तहको निर्वाचनमा सहभागी हुने पार्टी महासचिव विप्लवको राजनीतिक प्रतिवेदन अल्पमतमा परेको छ । ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जनाले चुनाव बहिस्कारको पक्षमा धारणा राखेका छन् । त्यस्तै, चारै जना सल्लाहकारले पनि अहिले चुनाव उपयोग गर्न क्रान्तिकारीको लागि वस्तुगत र आत्मगत दुवै अवस्था नभएको भन्दै बहिस्कार गरेर जाने निर्णय धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

चुनाव सहभागी हुने विप्लवको प्रस्तावको पक्षमा २४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् भने चार जनाले कतै मत राखेनन् । बिहीबार चार जना केन्द्रीय सदस्य र चार जना सल्लाहकारले आफ्ना धारणा राखेका थिए । चार जना केन्द्रीय सदस्यमध्ये इन्द्रजीत पुन ‘उभार’ चुनावको पक्षमा धारणा राखेका थिए भने धिरिन्द्रा उपाध्याय, तीर्थ राईलगायतले चुनाव बहिस्कारको पक्षमा मत राखेका थिए । त्यसै गरी सल्लाहकार समिति अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’, सचिव चित्रबहादुर आले, शङ्कर खड्का र दीर्घ पाण्डेले चुनाव बहिस्कारको पक्षमा धारणा राखेको स्रोतले बताएको छ ।

दुवै पक्षमा मत नराख्ने चार जनाले उनीहरूले जता जाँदा पनि पार्टी एक ढिक्का भएर जानुपर्नेमा जोड दिएका थिए । फरक मत वा दुई लाइनसहित चुनाव उपयोग र बहिस्कार दुवै प्रभावकारी नहुने धारणा राखेको बताइएको छ ।

चुनाव उपयोगको प्रस्ताव अल्पमतमा परिसकेको बताउँदै महासचिवले उक्त प्रस्ताव फिर्ता लिएर बहिस्कारको कार्यक्रम बनाउनु पर्ने एक केन्द्रीय सदस्यले बताए । उनले महासचिवको प्रस्ताव परिमार्जन भएर आउनेमा विश्वास व्यक्त गरेका छन् । अल्पमतले बहुमतको कदर नगरे पार्टी विभाजन हुनेसमेत उनले चेतावनी दिएका छन् ।

महासचिव विप्लवले आज धारणा राख्ने बताइएको छ । त्योभन्दा पहिले सचिवालय बैठक बस्न लागेको छ । सचिवालय बैठकमा एकमत बनाउने प्रयास गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस