एमालेद्वारा उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेद्वारा उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय


१० चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ ।

एमालेको आज (बिहीबार) सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो ।

स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्याङ्कन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

त्यस्तै, उम्मेदवार सिफारिस गर्नका लागि वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख-उपप्रमुखको हकमा गाउँ-नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर- महानगरकमिटीको हकमा सम्बन्धित कमिटीहरुको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने गरी केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस