खयरमारामा पहिरो, २०० घरधुरी त्रासमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खयरमारामा पहिरो, २०० घरधुरी त्रासमा


१० चैत्र २०७८, बिहिबार


जलेश्वर । महोत्तरी जिल्लाको उत्तर वर्ती बर्दिबास नगरपालिकाको वडा नं १० खयर मारामा भीषण पहिरो जाँदा २०० घरधुरीका परिवारमा त्रास भएको छ ।

खयरमाराको चुरे पहाडमा गए राति बस्ती नजिकै तीन तले स्थानबाट पहिरो गएकाले अहिले त्यहाँका बासिन्दा त्रस्त भएको स्थानीयवासी इसारा लामाले बताए । मध्यरातसम्म साना– साना पहिरो झरे पनि आज बिहान २ बजेदेखि ठुला–ठुला र अहिले दिउँसोसम्ममा भीषण पहिरो झरेका कारण वरपरका २०० घरधुरी बासिन्दामा त्रास बढेको हो ।

तीनतलेबाट झरेको पहिराले खयर माराको खोला पुरेपछि अहिले छोड्के, पिपलदमा, गुरुङ खोला, चनौटे, गर्दी खोला, भाङ्गरे झ्याउरे र खयर माराको मुख्य बजार नै जोखिममा परेको स्थानीयवासीले बताएका छन् । खयर माराको भित्री बस्तीमा सडक सञ्जाल नहुँदा स्थानीयवासी खोलाबाटै आवतजावत गर्दै आएकामा अहिले पहिराले खोला पुरेपछि खयर माराबाट बर्दिबास आवतजावत गर्ने बाटो पनि बन्द भएको छ ।

वर्षायाम लाग्नुभन्दा तीन/चार महिना पहिले नै गएको बेमौसमी पहिराले त्रस्त बनेका स्थानीयवासी वर्षायाम लागेपछि हुने थप पहिराको पीडालाई अनुमान गर्दै चिन्तित भएका छन् ।

वातावरण क्षेत्रमा काम गर्दै आएका बर्दिबासका नागदेव यादवले विगत एक सातादेखि तराई मधेसमा एक्कासि बढेको अत्यधिक तापक्रमले चुरे पहाडमा रहेको खुकुलो चट्टानमा तातो र चिसोको सन्तुलन मिल्न नसक्दा पहिरो गएको बताएका छन् । उनले थप पहिरो जान सक्ने भएकाले त्यस क्षेत्रका बस्ती जोखिममा रहेको पनि औँल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस