बैङ्किङ कसुरमा दोषी ठहर व्यक्ति पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बैङ्किङ कसुरमा दोषी ठहर व्यक्ति पक्राउ


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । बैङ्किङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको छ ।

उच्च अदालत पाटनबाट बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र ७ दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौँको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्केलाई पक्राउ गरिएको हो ।

उनले पीडितलाई न्युरोडको महालक्ष्मी विकास बैङ्कको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए । उक्त बैङ्क खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएकामा चेकमार्फत भुक्तानी हुन नसकेको ठहर गर्दै अदालतले गत वर्ष उक्त जरिवाना र कैद सुनाएको थियो ।

त्यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास गर्न परिचालित टोलीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको हो ।

उनलाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्युरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस