वन डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकको व्यवस्था « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वन डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकको व्यवस्था


९ चैत्र २०७८, बुधबार


महेन्द्रनगर । कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि यहाँका ६ वटा सब वन डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । यहाँको वन तथा राष्ट्रिय निकुञ्जमा गर्मीयाममा डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याउँदै आएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकृत शिवराज अवस्थीले डढेलो नियन्त्रणको पूर्व तयारी भइरहेको जानकारी दिए ।

उनले जिल्लामा रहेका सब वन डिभिजनमा अग्नि नियन्त्रकको व्यवस्था भएको बताए। ‘हरेक डिभिजनमा दुई जना नियन्त्रक राखेर वनमा डढेलो नियन्त्रणसम्बन्धी सूचना सङ्कलनदेखि नियन्त्रणका लागि समन्वय गर्न भनिएको छ,’ उनले भने, ‘यहाँ ६ वटा डिभिजन डढेलो नियन्त्रण र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सचेत छन् ।’

केही दिनअघि मात्र डिभिजन वनसँगै सबै सब डिभिजनले साताव्यापी वन डढेलो व्यवस्थापन सम्बन्धित जनचेतनामूलक सप्ताहसमेत गरेको थियो । ‘अग्नि नियन्त्रक सामग्रीका लागि यस वर्ष बजेट आएन,’ सूचना अधिकृत अवस्थीले भने, ‘गत वर्ष खरिद गरिएका सामग्री प्रयोगमा ल्याइनेछ ।’

कञ्चनपुरमा ७८ हजार हेक्टर वन क्षेत्रमा पर्छ । वन डढेलोका कारण जनधनको समेत क्षति हुनसक्ने भएकाले त्यसका नियन्त्रणका लागि सेना, प्रहरी, वन उपभोक्ताहरुसित पनि समन्वय हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यसै गरी कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बर्सेनि डढेलो लाग्ने गरेको छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज प्रशासनले पनि डढेलो नियन्त्रणका लागि पूर्व तयारी गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस