चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको अमेरिकालाई आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको अमेरिकालाई आग्रह


९ चैत्र २०७८, बुधबार


बेइजिङ । चीनले मङ्गलबार मानवअधिकार उल्लङ्घन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ ।

प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ ।

अमेरिकी भनाइ वैचारिक पूर्वाग्रह र राजनीतिक रूपमा झूटो भएको भन्दै अमेरिकाले विभिन्न बहानामा चीनको बदनाम गर्ने र चिनियाँ अधिकारीहरूमाथि अनावश्यक दबाब दिने गरेको चीनले बताएको छ ।

अमेरिकाले केही चिनियाँ अधिकारीहरुमाथि अल्पसंख्यक समुदायमाथि अत्याचार गरेको आरोपमा अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेपछि चीनको यो प्रतिक्रिया आएको हो ।

अमेरिकी विदेश मन्त्रालयले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यकलाई दमन गरेको भन्दै त्यस्तो प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यस्तो प्रतिबन्ध लगाइएका चिनियाँ अधिकारीहरुको संख्या र परिचय भने खुलाइएको छैन ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले धार्मिक तथा आध्यात्मिक समुदाय, अल्पसंख्यक, मानवअधिकारकर्मी, पत्रकार, ट्रेड युनियन, नागरिक समाज र तथा शान्तिपूर्ण विरोध जनाउनेहरु विरुद्ध नीति निर्माण गर्ने तथा दमन गर्नेप्रति निर्णय लक्षित रहेको बताएका छन् ।

ब्लिंकेनका अनुसार यो संख्या निकै ठुलो हुन सक्ने छ । अमेरिकी अधिकारीहरुले चीनको सिञ्चीयान प्रान्तमा कम्तीमा दश लाख उइगुर मुस्लिमहरुलाई बन्दी बनाइएको दाबी गर्ने गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको भन्दै यो दुई पक्षीय सम्बन्धका लागि गलत नजीर हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार भेटमा बताए । आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी सोचको दृढतापूर्वक विरोध गर्ने वाङले बताए ।

उनले मानव अधिकारको संरक्षणका नाममा अन्य मुलुकको मानवअधिकारलाई कमजोर पार्ने काम गर्नुको साटो आफ्नै प्रणालीगत र दीर्घकालीन मानवअधिकारका समस्याहरूको सामना गर्न र त्यसको समाधान गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरे ।

वाङले भने, ‘यदि संयुक्त राज्य अमेरिकाले मानव अधिकारको वकालत बन्द गरेमा विश्वमा मानव अधिकारको स्थिति राम्रो हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस