चुनावी अभियानलाई तीव्रता दिँदै राउत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चुनावी अभियानलाई तीव्रता दिँदै राउत


९ चैत्र २०७८, बुधबार


काठमाडौँ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीव्रता दिएको छ ।

स्थानीय तह चुनाव केन्द्रित ‘जनमत माटो यात्रा’का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दै छन् ।

पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो सङ्कलन गरेका थिए ।

जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६ चैतदेखि सप्तरी जिल्लाको विभिन्न स्थानीय तहमा यात्रा जारी रहेको जनमत पार्टीका नेता बिपी साहले जानकारी दिए ।

सप्तरी पछि रौतहट, सिरहा, सर्लाहीलगायतका जिल्लामा माटो यात्रा हुने उनको भनाइ छ । नेता साहका अनुसार किसान, आम सर्वसाधारण तथा मतदातासँग प्रत्यक्ष रुपमा भेटघाट गर्न जनमत माटो यात्रामा तीव्रता दिइएको हो ।

‘तराई-मधेसका गाउँगाउँमा पुगेर अध्यक्षज्यूले सर्वसाधारणलाई भेट्दै हुनुहुन्छ,’ नेता साहले भने, ‘मधेस एकता उद्यान स्थापनाका लागि तराई-मधेसको विभिन्न स्थानीय तहबाट माटो सङ्कलन गर्ने कार्यक्रमको रुपमा जनमत माटो यात्रा सुरु गरिएको थियो ।निर्वाचन नजिकिएपछि यसलाई निर्वाचन केन्द्रित कार्यक्रमको रुपमा पनि अगाडि सारिएको छ ।’

स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले केन्द्र स्तरबाटै कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने नेता साहको भनाइ छ ।

‘हाम्रो पार्टीले केन्द्रीय तहबाटै कुनै पार्टीसँग गठबन्धन गर्दैन । स्थानीय नेतृत्वले आफू अनुकूल कोहीसँग पनि तालमेल गर्न सक्छन्,’ उनले भने, ‘चुनावको तयारीमा हामी धेरै पहिलेदेखि नै कभरेज अभियान, बुथबुथ मजबुत अभियान र जनमत माटो यात्रा गरिरहेकोले ग्राउन्डमा हाम्रो शक्तिको अनुमान हामीले लगाएका छौँ । त्यसकारण हामी एक्लै चुनावमा गएर पनि धेरै राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस