एआईजी बढुवामा लोक सेवाद्वारा जवाफ माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एआईजी बढुवामा लोक सेवाद्वारा जवाफ माग


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपाल प्रहरीका तीन जना डिआइजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे लोक सेवा आयोगले बढुवा समितिको सचिवालयसँग लिखित जवाफ मागेको छ ।

सिफारिसमा नपरेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले गत सोमबार दिएको उजुरीपछि आयोगले बढुवा सिफारिस समितिको सचिवालयसँग जवाफ मागेको हो ।

गृह सचिव नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा डिआइजीहरू वसन्त पन्त, धिरज प्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डिआइजीहरूले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा चैत ६ मा उजुरी दिएका थिए ।

बढुवाबारे उजुरी सुन्ने समितिको अध्यक्ष लोक सेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ । समितिमा मुख्य सचिव र कानुन सचिव रहन्छन् ।

बढुवा गर्ने निर्णय भएको सात दिनभित्र उजुरी दिन सकिने व्यवस्था प्रहरी नियमावलीमा छ । उजुरी प्राप्त भएपछि उजुरी सुन्ने समितिले भोलिपल्टै बढुवा समितिमा पत्र पठाउनुपर्छ । उक्त पत्र प्राप्त भएको तीन दिनभित्र सम्बन्धित बढुवा समितिले उजुरी सुन्ने समितिमा आवश्यक कागजातसहित लेखी पठाउनुपर्छ । उजुरीमा उजुरी गर्ने म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र टुङ्गो लगाइ सक्नुपर्छ ।

प्रहरी नियमावलीमा एआईजी पदका लागि बढुवा सिफारिस समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव र सदस्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रहने व्यवस्था छ । यो समितिको सदस्य सचिव प्रहरी महानिरीक्षक हुने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस