नेपाल प्रहरी : सुरु भयो थप गरिएका पदमा बढुवा प्रक्रिया « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपाल प्रहरी : सुरु भयो थप गरिएका पदमा बढुवा प्रक्रिया


९ चैत्र २०७८, बुधबार


काठमाडौँ। नेपाल प्रहरीमा थप गरिएका तीन वटा पदका लागि अब बढुवाको प्रक्रिया सुरु भएको छ । यो प्रक्रिया सुरु भएसँगै प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक (वसई), वरिष्ठ प्रहरी हबल्दार (वह) र सहायक हबल्दार (सह)मा बढुवाको बाटो खुलेको हो।

सरकारले प्रहरी कर्मचारी नियमावली-२०७१ संशोधन स्वीकृत गरेसँगै थप गरिएका पदमा बढुवाका लागि बाटो खुलेको हो । केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले अबको १०÷१५ दिनभित्र पदोन्नति गरिसक्ने बताए ।

तल्लो दर्जाका प्रहरी कर्मचारीलाई प्रोत्साहन स्वरूप आत्मबल बढाउन तीन वटा नयाँ पद सिर्जना गरिएको हो । कार्यसम्पादन मूल्याङ्कन भन्दा वरिष्ठताका आधारमा पदोन्नति तथा बढुवामा सिफारिस गरिने भएको छ।

प्रवक्ता केसीका अनुसार कारबाहीमा परेकाबाहेक प्रबल दाबेदारलाई वरिष्ठताकै आधारमा ब्याचअनुसार बढुवा गर्ने तयारी भइरहेको छ । पदोन्नति भएकाहरू दर्ज्यानी चिह्न पहिरिएर २०७९ वैशाख ३० गते हुने निर्वाचनको सुरक्षामा खटिने छन् ।

वरिष्ठ सईमा एक हजार ४१८, वरिष्ठ हबल्दारमा तीन हजार ७४८ र सहायक हबल्दारमा १५ हजार २४१ जनाको दरबन्दी स्वीकृत भएको छ । त्यस्तै सईको दरबन्दी दुई हजार ८७८, हबल्दारको ११ हजार २४१ र सिपाहीको ३० हजार ९६६ कायम गरिएको छ । करिब ७६ हजार प्रहरी जनशक्ति रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस