पश्चिम बङ्गालमा टिएमसी नेताको हत्यापछि हिंसा भड्कियो, कम्तीमा ८ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पश्चिम बङ्गालमा टिएमसी नेताको हत्यापछि हिंसा भड्कियो, कम्तीमा ८ जनाको मृत्यु


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । भारत पश्चिम बङ्गालको बीरभूम जिल्लामा भड्किएको हिंसामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । बीरभूम जिल्लाको बगटुई गाउँमा भएको यो घटनाले जिल्ला शोकमग्न छ ।

सोमबार बिहान एक पसलमा चिया पिइरहेको बेला त्रिणमूल काँग्रेस (टीएमसी)का नेता भादु शेखमा अज्ञात समूहले गोली हानेको थियो । तत्कालै उनलाई उपचार गर्न रामपुर हाट अस्पताल लगियो तर डाक्टरहरूले बचाउन सकेनन् ।

मृत्युको खबर फैलिनासाथ उनको घर नजिकका घरहरूमा अज्ञात समूहले आगजनी गरेको थियो । आगोमा जलेर १० जनाको मृत्यु भएको दाबी स्थानीयले गरे पनि प्रहरीले भने ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । जलेको एउटा घरबाट सात जनाको शव बाहिर निकालिएको थियो ।

यो घटनापछि गाउँलेहरू आतङ्कित छन् । गाउँमा आतंकसँगसँगै पश्चिम बङ्गालको राजनीति पनि तरङ्गित भएको छ ।

राज्यपाल जगदीप धनखडले यस घटनाको विस्तृत अनुसन्धान रिपोर्ट तयार पार्न सरकारका सचिवलाई निर्देशन दिएका छन् । घटनाको अनुसन्धान गर्न राज्य सरकारले विशेष कार्यदल गठन गरेको र घटनामा संलग्न भएको आशङ्कामा ११ जना पक्राउ परेको भारतीय मिडियाले जनाएका छन् ।

अर्को तर्फ मुख्य विपक्षी पार्टी भाजपाले राज्यमा शान्ति सुव्यवस्था र कानुनी राज्यमा प्रश्न उठाउँदै मुख्यमन्त्री ममता बनर्जीको राजीनामा मागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस