जलस्रोत ऐन मस्यौदा संसदमा पेस गर्ने सरकारको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जलस्रोत ऐन मस्यौदा संसदमा पेस गर्ने सरकारको तयारी


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेस गर्ने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन उक्त मस्यौदालाई अन्तिम रुप दिएर संसदमा पेस गर्ने तयारी गरिएको बताइन् ।

अब छिट्टै सो मस्यौदालाई मन्त्रिपरिषदबाट पेस गरी संसदमा दर्ता गर्ने मन्त्री भुसालको योजना छ । मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताइन् ।

विश्व पानी दिवसको अवसरमा आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले सरकार जल संरक्षण र संवर्द्धनमा सचेत रहेको पनि उनको भनाइ थियो ।

यस्तै मन्त्री भुसालले भूमिगत जलस्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गर्न जोड दिनुपर्ने बताइन् । यसका लागि आम नागरिकलाई सचेत बनाउनुपर्ने बताएकी थिइन् ।

‘राष्ट्रिय जलस्रोत नीति–२०७७ जारी भइसकेको छ । यस नीतिलाई कानुनमा रुपान्तरण गरी जलस्रोत ऐनको मस्यौदा समेत तयार भइसकेको अवस्था छ । अब हामी अन्तिम अवस्थामा छौँ । छलफल गर्दैछौं । यसलाई अन्तिम रुप दिएपछि क्याबिनेट हुँदै संसद्‍मा दर्ता गर्नेछौँ । साथै जल तथा ऊर्जा आयोगबाट एकीकृत नदी बेसिन योजनासमेत सम्पन्न हुने क्रममा छ । जुन हाम्रो १५ औँ आवधिक योजनाको जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा राखिएको छ,’ मन्त्री भुसालले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस