पीडित परिवारलाई १८ लाख क्षतिपूर्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पीडित परिवारलाई १८ लाख क्षतिपूर्ति


२९ फाल्गुन २०७८, आइतबार


मुग्लिन । फिस्लिङ–शक्ति खोर सडक खण्डअन्तर्गत चितवनको इच्छा कामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी दुर्घटनामा परि मृत्यु भएकाको परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीमा पीडित पक्ष र सवारीसाधनका धनीबिच उक्त क्षतिपूर्ति दिने सहमति भएको हो । यसअघि पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गर्दै आएको थियो । मृतकका आफन्त अञ्जना गुरुङका अनुसार दुर्घटनाको तीन दिनपछि मृतकको शव आज उनका परिवारजनले बुझेका छन् ।

शुक्रबार साँझ शक्ति खोर–फिस्लिङ सडक खण्डअन्तर्गत इच्छा कामना गाउँपालिका–२ वल्र्याङबाट शक्ति खोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना१क ८१०८ नं को ट्याङ्कर इच्छा कामना–२ रमाइलो डाँडामा एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा इच्छा कामना–३ का ३० वर्षीय तर्की गुरुङ र उनका ५ वर्षीय छोरो आरोन तथा इच्छा कामना–२ का २४ वर्षीय नवीन गुरुङको मृत्यु भएको थियो । चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीका अनुसार घटना लगत्तै ट्याङ्करका चालक रत्न नगर नगरपालिका–११ का सन्तराम दराईलाई पक्राउ गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस