भेरी नदीमा पुल निर्माण हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भेरी नदीमा पुल निर्माण हुँदै


२६ फाल्गुन २०७८, बिहिबार


जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डको बिचमा रहेका भेरी नदीमा बेल ब्रिज पुल निर्माण कार्य जारी छ।

निर्माण व्यवसायीले अस्थायी रूपमा तल्लु बगरमा बेल ब्रिज निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ। जाजरकोटको नलगाड नगरपालिकाका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेल ब्रिज बनाएर डोल्पा खण्डमा बेल ब्रिज पुल निर्माणको कामलाई तीव्रता दिएको सडक डिभिजन चौरजहारीका इन्जिनियर सुरेश बस्यालले जानकारी दिए ।

बेल ब्रिज बनेपछि पहिलो पटक सवारीसाधनले ठूलीभेरी नदी तरेर सिधै डोल्पाको दाङसम्म जान पाएका छन् । यहाँ पुल नहुँदा भेरी नदीको किनारमा वारिपारि रोकिएको अवस्था थियो । बेल ब्रिज नहुँदा यसअघि सवारीसाधन वारिपारि गराउनका लागि (तल्लुबगरबाट गोतामकोटसम्म) तुइनमार्फत तारेर एक लाख ५० हजारप्रति पटक रकम खर्च गर्नुपर्ने बाध्यता रहेको थियो ।

अहिले जाजरकोट–डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य दुई खोलाका चार ठाउँमा बेल ब्रिज निर्माणको काम भइरहेको छ । इकोइन्फ्रा विल्डर्सले यहाँ बेल ब्रिज निर्माण गरिरहेको छ ।

विल्डर्सका प्रतिनिधि मनोज लेखकले सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्ने गरी पुल तयार भएको बताए । उनका अनुसार अस्थायी बेल ब्रिज भएर अरू चार ठाउँका पुल सोझै दाङ पुर्‍याइनेछ । अरू पुलको सामान ढुवानीकै लागि अस्थायी बेल ब्रिज तयार गरिएको हो । विल्डर्सले जाजरकोट–डोल्पा सडकको रुपगाडखोला, त्रिपुरा कोट, दाङ र करबगार खोलामा बेल ब्रिज निर्माणको काम गरिरहेको छ । ती पुल निर्माण स्थलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ, भने सामान जडान गर्न मात्र बाँकी छ ।

अहिले त्रिपुरा कोट र दाङमा ठूलीभेरी नदीमाथि बेल ब्रिज बन्दै छ भने रुपगाडखोला र करबगारखोलामा पनि पुल बनाइनेछ । सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुरेश बस्यालले ४ वटा बेल ब्रिज निर्माणको कार्य ६० प्रतिशतसम्म सकिएको बताए ।

तल्लुबगरमा पुल नहुँदा नेपालगन्ज, सुर्खेतलगायतका ठाउँबाट आएका सवारीसाधन तल्लुबगरमा रोकिने गरेका थिए  । अहिले तल्लुबगरबाट झोलुङ्गे पुलमार्फत यात्रुले पिठ्यूँमै बोकेर सामग्री वारपार गराउने गरेका थिए । अस्थायी बेल ब्रिज निर्माणसँगै यात्रा सहज बनेको नलगाड नगरपालिका तल्लुका हरिबहादुर बस्नेतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस