अब टोखावासीलाई निःशुल्क रगत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अब टोखावासीलाई निःशुल्क रगत


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । टोखा नगरवासीले निःशुल्क रगत एवं रक्ततत्व पाउने भएका छन् । यसका लागि टोखा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबिच आज द्विपक्षीय सम्झौता भएको छ ।

अब नगरवासीले रगत परीक्षण तथा रक्त थैलीका लागि पनि कुनै शुल्क तिर्नुपर्ने छैन । नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र ई)को प्रतिलिपिका आधारमा निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सो नगरपालिका दोस्रो भएको छ । यस अगाडि कीर्तिपुर नगरपालिकाले गत मङ्सिर ७ गतेदेखि निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ ।

टोखा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल र नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, केन्द्रीय रक्तसञ्चार सेवाका कार्यकारी निर्देशक दिव्यराज पौडेलका सेवा सञ्चालनसम्बन्धी सो द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन समझदारी भएको जानकारी दिए । नेरेसोका कार्यकारी निर्देशक ढकालले मानवीय सेवाका लागि नेरेसोले आफ्ना गतिविधि केन्द्रित गरेको जानकारी दिए ।

उनले भने, ‘रक्तदानका बारेमा थप सचेतना आवश्यक छ । यसका लागि पालिकाको अहम् भूमिका हुन्छ ।’ केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पौडेलले भने, ‘सुलभ र निःशुल्क रगत उपलब्ध गराउन यो सम्झौता एउटा महत्त्वपूर्ण सुरुआत हो । अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिनेछ । रगतको सहज पहुँचका लागि उच्च प्राथमिकताका साथ काम गरिएको छ ।’

रगत परीक्षण र सेवा शुल्कका लागि नगरपालिकाले पहिलो चरणमा चालु आवको रकमबाट पाँच लाख विनियोजन गरेको छ । सम्झौतामा रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई शोधभर्ना दिइने उल्लेख छ । त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षका कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस