सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने विरुद्ध कारबाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने विरुद्ध कारबाही


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खलबल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने जनाएको छ ।

ब्युरोले आज एक सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्बिरहरू अपलोड गरेको भन्दै त्यस्ता व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।

उनीहरूले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने गरी गतिविधि गरेको ब्युरोले जनाएको छ । समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भाव खलबल्याउने र पीडितको गोपनीयताको हकको हनन् गरी सामाजिक तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधि देखिएको ब्युरोको सूचनामा उल्लेख छ ।

सूचनामा त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस