स्थानीय तहको सरुवामा निमित्त खेलो ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तहको सरुवामा निमित्त खेलो !


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत खटनपटनमा हुँदै आएको ‘खेलो फड्को’ जारी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो दिन एउटालाई र भोलिपल्ट अर्कोलाई निमित्त दिनु र स्थानीय तहहरूले आफूले भनेकै कर्मचारीलाई निमित्त लिनु पछाडिको खेल बुझिनसक्नुको छ । यद्यपी विगतदेखि नै किन यस्तो भइरहेछ भन्ने विषयमा भने कोही अनविज्ञ छैनन् ।

पछिल्लो पटक मन्त्रालयले २०७८ फागुन १० गते हंसपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशमा सरुवा गर्दै ११ गते राम भजन यादवलाई प्रमुख प्रशासकीय अधिकृतको प त्र थमायो । उनलाई प्रमुख प्रशासकीय अधिकृत बनाउनकै लागि जिल्ला समन्वय समितिको कार्यालय, धनुषाबाट समायोजन मिलान गरियो । जसमा स्थानीय जनप्रतिनिधि र मन्त्रालय दुवै संलग्न देखिन्छन् ।

अधिकारीलाई मन्त्रालयले २०७८ साउन २८ मा प्रमुख प्रशासकीय अधिकृतमा खटाएकोमा मेयर राम ज्ञान मण्डलले हाजिर नगराएपछि उनी बल्ल तल्ल असोज ६ गते हाजिर भए तर त्यो बिचमा बैठक बोलाउन असहयोग गरेको कारण नगरबासीलाई सास्ती भएको भन्दै लक्ष्मीनीया गाउँ कार्यपालिकाको कार्यालय, धनुषाका अधिकृत सातौँ राम भजन यादवलाई समायोजन संशोधन गरी आफ्नो नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठायो ।

छ महिना पनि राम्ररी काम गर्न नपाउँदै सरुवा गरिएका अधिकारी भने नियमानुसार काम गर्न खोज्दा मेयरले काम नगराएको बताउँछन् । ‘हामी कर्मचारी हो, ऐन, कानुनले भनेको भन्दा बाहिर गएर काम गर्न मिल्दैन’ उनले भने, ‘उहाँले भनेकै जस्तो काम नगरेपछि मलाई मेयरले हटाए’

व्यक्ति नै तोकेर प्रमुख प्रशासकीय अधिकृत माग गर्नुको विशेष कारण के हो ? भन्ने नगरप्रमुखलाई गरेको प्रश्नमा नगर प्रमुख मण्डलले स्पष्ट जवाफ दिन सकेनन् तर ‘जुनसुकै कर्मचारी आए पनि नगरपालिकाको हितमा काम गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्छौँ’ भने ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई हटाउनु पछाडिको उद्देश्य भनेको जनताको विकास निर्माणको काममा असहयोग गरेको र पटक पटक अनुरोध गर्दा पनि बैठक नराखेको तथा कामकारबाही चित्त नबुझी स्पष्टीकरण माग्दासमेत अङ्ग्रेजीमा लेखेर दिएपछि विकल्प खोज्नु परेको नगरप्रमुख मण्डलले बताए ।

त्यसो त सम्सी गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कडा शब्दमा आलोचना गरेको छ । हालसम्म ११ पटक र चार महिनामा ३ पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको पालिकाले जनाएको छ । फागुन ११ गते पालिका अध्यक्ष फारुक शेषको अध्यक्षतामा बैठक बसी कार्यरत प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरे हाजिर नगराई फर्काउने चेतावनीसहित मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ३ बमोजिम प्रमुख प्रशासकीय अधिकृत नियुक्ति नभएसम्मका लागि उपदफा ४ बमोजिम नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न खटाउने व्यवस्था रहेकोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लज्जास्पद, गैर जिम्मेवार तथा बदनियत पूर्वक यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हालसम्म ११ पटक र विगत चार महिनामा ३ पटक सरुवा गरेको छ’ निर्णयमा भनिएको छ ‘कार्यालयले पटक पटक निर्णय गरी अनुरोध गर्दा समेत मन्त्रालयबाट बेवास्ता हुँदा गाउँपालिकाको प्रशासनिक एवं विकास कार्यमा असहज भई हालसम्म सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब भत्ता जस्ता सेवा सुविधाहरूसमेत प्रभावित हुन पुगेकोमा मिति २०७८ पुस २३ को मन्त्रालयको पत्र अनुसार प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रलाई अन्यत्र सरुवा गरेमा असहज परिस्थिति हुन सक्ने तथा क्षम्य हुन नसकी हुल दङ्गा तथा सशक्त आन्दोलन हुन सक्ने र सोको सम्पूर्ण जिम्मेवारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा जाने तथा मन्त्रालयले पठाउने कुनै कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाउने भनी मन्त्रालयलाई पत्राचार गरी जानकारी गराउने निर्णय गरियो ।’

अध्यक्ष फारुकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाएका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साहलाई हाजिर नगराई फिर्ता पठाउन आदेश दिएका छन् । मुखियापट्टि मसहरनिया गाउँपालिका, धनुषाका प्रमुख प्रशासकीय अधिकृत रहेका साहलाई मन्त्रालयले फागुन १५ गते सम्सीको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो ।

यी त केही प्रतिनिधि घटना मात्रै हुन्, हरेक दिन जसो कुनै न कुनै पालिकामा सरुवा हुने गरेको र यसरी हुने सरुवामा मन्त्रालयका मन्त्री, सचिवालयका पदाधिकारी, सम्बन्धित शाखा हेर्ने कर्मचारी, स्थानीय तहका पदाधिकारी, सांसददेखि बिचौलियाकोसमेत ‘इन्ट्रेस्ट’ जोडेर आउने गरेको मन्त्रालय स्रोत बताउँछ ।

नजिकिँदो चुनावका लागि खर्चको जोहो गर्ने मेलोसमेत कर्मचारीको सरुवालाई बनाउँदा जनताको विकास हुने त कुरै भएन, कर्मचारीभित्रै पदका लागि बढाबढको अवस्था सिर्जना हुन गई सिङ्गो कर्मचारीतन्त्र नै बदनामित हुन पुगेको छ । जसमा मन्त्रालयकै केही ‘क्रोनिक’हरु विगतदेखि आफ्नो धन्दालाई निरन्तरता दिँदै आएको मन्त्रालयको स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस