काठमाडौँ । देशभरका पेट्रोल पम्प व्यवसायीहरूले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन् ।
नेपाल आयल निगमले आफूहरूले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्म व्यवसायीहरूको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।
‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौँ, आज निगमका डिपोबाट तेल उठेको छैन,’ एसोसिएसनका एक अधिकारीले भने ।
बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिँदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो ।
व्यवसायीले घोषणा गरेरै इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
‘बिहानैदेखि इन्धन उठाउन रोक्ने घोषणा भएको छ, निगमको डिपोबाट इन्धन उठेको छैन,’ प्रवक्ता उपाध्यायले भने, ‘व्यवसायीको विरोधका कारण देशैभर इन्धन नउठेको जानकारी आएको छ ।’
काठमाडौँ उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठुलो मध्ये एक थानकोट डिपोबाट शुक्रवार बिहानैदेखि इन्धन नउठेको डिपोले जनाएको छ ।