सैनिक सहचारीद्वारा जङ्गी अड्डाको भ्रमण « प्रशासन
Logo १७ चैत्र २०८०, शनिबार
   

सैनिक सहचारीद्वारा जङ्गी अड्डाको भ्रमण


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सेना दिवसका उपलक्ष्यमा आमन्त्रित २६ मुलुकका आवासीय तथा गैर आवासीय सैनिक सहचारीको टोलीले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमण गरेको छ । युद्ध कार्य निर्देशनालयले नेपाली सेनाको सङ्गठन र कार्य जिम्मेवारीबारे भ्रमण टोलीलाई सो अवसरमा जानकारीमूलक प्रस्तुति प्रस्तुत गरेको थियो ।

टोलीमा भारत, चीन, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिकाका आवासीय सैनिक सहचारी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बङ्गलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, इजरायल, मेक्सिको, नाइजेरिया, म्यानमार, फिलिपिन्स, पोल्यान्ड, कोरिया, टर्की, सेने गल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्डका गैर आवासीय सैनिक सहचारी पनि भ्रमण दलमा सहभागी थिए ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित बढाइँ विशेष समारोहमा सहभागिता रहेको उक्त टोलीले लुम्बिनी र पोखराको समेत अवलोकन भ्रमण गर्ने छ । सैनिक सहचारीको भ्रमणले नेपाल र ती मुलुकबिच सैनिक कूटनीतिमार्फत सम्बन्ध अझ सुमधुर तुल्याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

सैनिक मुख्यालयको भ्रमणका क्रममा टोलीले प्रधानसेनापति प्रभुराम शर्मासँग भ्रमण दलले भेट गरेको जानकारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस