छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा


२५ माघ २०७८, मंगलबार


काभ्रेपलान्चोक । पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो ।

आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको जनाइएको छ ।

नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले यस वर्षदेखि विपन्न नागरिकको स्वास्थ्य बीमा थालिएको नगरप्रमुख भीम न्यौपानेले बताए । उनका अनुसार उक्त बीमा कार्यक्रमबाट करिब तीन हजार नागरिक लाभान्वित हुनेछन् ।

वडा कार्यालयले विपन्न परिवार पहिचान गरी सिफारिस गरेको आधारमा बीमा गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हाल प्रति वडा ५० परिवारका दरले सिफारिस गरिएको छ ।

बिमित परिवारले आउँदो फागुन १ गतेदेखि धुलिखेल अस्पताल र बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्ने जनाइएको छ ।

स्थानीय नागरिक, सहकारी संस्था र नगरको सहकार्यमा अन्य आर्थिक अवस्था कमजोर भएका करिब चार हजार परिवारको स्वास्थ्य बीमा गर्ने नगरको योजना छ ।

नागरिक र सहकारीको ३३/३३ प्रतिशत तथा नगरको ३४ प्रतिशत रकमबाट उक्त परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस