कञ्चनपुरमा ६० हजार विद्यार्थीलाई पूर्ण खोप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कञ्चनपुरमा ६० हजार विद्यार्थीलाई पूर्ण खोप


२४ माघ २०७८, सोमबार


महेन्द्रनगर । कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरले अझै विद्यालयहरुमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिए । ‘सो उमेर समूहमा तीन हजार जति बालबालिका छुटेकाले हामीले थप खोप माग गरेका छौँ’, कुँवरले भने, ‘केही समयपछि छुटेकालाई पनि पहिलो खाप लगाइनेछ ।’
त्यसै गरी यहाँ ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ७८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘यहाँको कूल तीन लाख जनसङ्ख्या मध्ये ७८ प्रतिशतले खोप लगाइसके’, उनले भने, ‘भारतबाट स्वदेश फर्किनेलाई पनि गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणसँगै खोपसमेत लगाइँदै छ ।’

यहाँ दैनिक २८ देखि ४० जनासम्ममा पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यहाँ ५६५ सक्रिय सङ्क्रमित रहेकामा अधिकांश होम आइसोलेसनमा रहेका छन् । कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म २०८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस