घुससहित पक्राउ परेका वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घुससहित पक्राउ परेका वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर


२१ माघ २०७८, शुक्रबार


काठमाडौँ । घुससहित पक्राउ परेका काठमाडौँ महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दुई लाख रुपैयाँ बिगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

अख्तियारको टोलीले उनलाई गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा महर्जनले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

सहायक प्रवक्ता भण्डारीले हिजो (बिहीबार) जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज वसन्त महर्जनलाई बिगो दुई लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस