बैतडीको हवाई सेवा एक महिनादेखि बन्द « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द


२० माघ २०७८, बिहिबार


बैतडी । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो ।

साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए ।

उनले भने, ‘यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिएको छ ।’

मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको जनाइएको छ । अठार यात्रु क्षमताको समिट एयरको जहाजका लागिसमेत यात्रु नहुँदा समस्या भएको छ । उनले भने, ‘दैनिक ५/७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन्, १४/१५ जनासम्म पुगेपछि उडान गर्न सकिन्छ ।’

वि.स. २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो ।

त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस