वैदेशिक रोजगारलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउन सचिव अर्यालको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगारलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउन सचिव अर्यालको निर्देशन


२० पुस २०७८, मंगलबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारलाई विना झन्झट सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन २५ बुँदे निर्देशन दिएका छन् ।

सचिव अर्यालले मङ्गलवार वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, वैदेशिक रोजगार कार्यालय तहाचल र जिल्लास्थित श्रम तथा रोजगार कार्यालयबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गरी वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोगबाट सहज र सरल तरिकाले सेवाग्राहीको हितलाई ध्यानमा राखी सकारात्मक सोचका साथ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

प्रविधिको प्रयोगले सेवा प्रवाहलाई सहज, सरल र पारदर्शी बनाउन सकिन्छ भन्ने ध्येयका साथ उनले सूचना प्रविधिको प्रयोगलाई पहिलो र विशेष प्राथमिकता दिएका छन् । जसमा हाल अनलाइन र म्यानुअल दुवै तरिकाबाट काम गर्दा सेवा प्रवाहमा दोहोरोपना देखिएकोले वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण कामलाई वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत गर्ने गरी विभागले आवश्यक प्रबन्ध मिलाउन भनेका छन् भने सबै प्रकारका सेवालाई फेस लेस, क्यास लेस र पेपरलेस बनाउन निर्देशन दिएका हुन् ।

यसै गरी अग्र भाग(फ्रन्ट लाइन)मा बसी काम गर्ने विभाग र कार्यालयका कर्मचारीहरूले वैदेशिक रोजगार सूचना प्रणाली र कम्प्युटर चलाउनै पर्ने अनिवार्य गर्ने। सो कार्य गर्न सक्ने गरी कर्मचारीले आफूलाई तयारी अवस्थामा राख्न भनेका छन् ।

विभाग र कार्यालयमा वेभसाईटलाई अद्यावधिक गर्न र प्रवाह हुने सेवाको जानकारी र सूचनाहरू वेभसाईट, सामाजिक सञ्जाल वा नागरिक बडापत्र मार्फत गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सचिव अर्यालले दैनिक रूपमा जारी गर्ने श्रम अनुमति लगायत प्रदान गरिएका सेवाहरूको दैनिक÷साप्ताहिक प्रतिवेदन कार्यालयको वेभसाईट र सूचना पाटीमा प्रकाशित गर्दै विभाग र सबै कार्यालयमा भरपर्दो विद्युत्, ब्याक अप र कम्तीमा दुई लाइन इन्टरनेटको व्यवस्था मिलाउन भनेका छन् ।

यसैगरी सेवा प्रवाहको सरलीकरण र व्यवस्थापनको सम्बन्धमा पनि विभिन्न १४ बुँदे निर्देशन दिएका छन् । जसमा सेवाग्राहीले वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाहका हरेक चरण र प्रक्रियामा बिचौलिया वा दोस्रो पक्षको सहयोग लिनै नपर्ने गरी सेवालाई सरलीकरण र सेवाग्राहीलाई कार्यालय तथा कर्मचारी मार्फत नै आवश्यक सहयोग र सहजीकरण गर्न विशेष निर्देशन दिएका छन् ।

त्यस्तै श्रम स्वीकृति लगायतका कामको लागी प्राप्त अनलाइन निवेदनहरू कार्यालय समयमा मात्र हेर्न समय अपुग भएमा अफ आवर अर्थात् बिहान, बेलुका र बिदाको दिनमा समेत समय मिलाई कार्यसम्पादन गर्ने, अनलाइन मार्फत प्राप्त निवेदनहरूको कामको लागि सेवाग्राहीको भौतिक रूपमा कार्यालयमा उपस्थित नहुने भएकोले त्यस्ता कामलाई पहिलो प्राथमिकतामा राखी छिटो छरितो कार्य सम्पादन गरी दिने, विभाग र कार्यालयबाट प्रवाह हुने सेवाको वर्गीकरण गरी आवश्यक पर्ने कागजात, तिर्नुपर्ने राजस्व लगायतका विषयवस्तु समावेश गरी कार्यालय सञ्चालन कार्यविधि जारी गर्ने व्यवस्था मिलाउने र सो वेवसाईडमा अपडेट गर्न निर्देशन दिएका छन् ।

यसै गरी सेवा प्रवाहलाई सरलीकरण गर्न हाल कार्यान्वयनमा रहेका कार्यविधि तथा निर्देशिकामा संशोधन गर्नुपर्ने भए छलफल गरी मन्त्रालयमा पेस गर्ने, नागरिक सहायता कक्षको व्यवस्था गरी सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने, सेवाग्राहीलाई सूचनाहरूको जानकारी गराउन प्रवक्ता/सूचना अधिकारीको व्यवस्था मिलाउन, वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालयसँग नियमित सम्पर्क राख्ने, महानिर्देशक वा निर्देशकले हरेक दिन कम्तीमा एक पटक सबै कार्यालय प्रमुखसँग टेलिफोन सम्पर्क गरी सेवा प्रवाहको अवस्था र समस्या लगायत विषयमा जानकारी लिने र आवश्यक निर्देशन दिने/सहजीकरण गर्ने व्यवस्था गर्न सचिव अर्यालको निर्देशन छ ।

वैदेशिक रोजगारको नाममा हुने ठगी लगायतका गलत क्रियाकलापलाई नियन्त्रण गर्न र्यापिड रेस्पोन्स टिमको व्यवस्था गरिएको हुँदा त्यस्ता सूचना वा जानकारी उक्त टिमको संयोजक वैदेशिक रोजगार विभागका उपसचिव श्री डम्बर सुनुवारको मोबाइल नं. ९८५११८०५६६, वैदेशिक रोजगार कार्यालय, तहाचल, काठमाण्डौंका निर्देशक हरिराम नागिलाको मोबाइल नं. ९८५१३१७३९३ वा वैदेशिक रोजगार बोर्डमा रहेको टोल फ्रि नं. १६६००१५०००५ वा ११४१ र मोबाइल नं. ९८०१८०००१३ मा तुरुन्त जानकारी गराउन सचिव अर्यालले भनेका छन् ।

त्यस्तै एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्न कोठा प्रणालीलाई काउन्टर प्रणालीमा परिणत गर्ने, सकेसम्म अधिकृतदेखि सहायक स्तर सम्मका सबै कर्मचारी एकै स्थानमा बसी समन्वयात्मक रूपमा सेवा प्रवाह गर्ने, कार्यालय व्यवस्थापनमा विशेष ध्यान दिने, मूल गेटदेखि फाँटसम्म सबै स्थानलाई सफा–सुग्घर राख्ने, समय समयमा सबै कर्मचारीको संलग्नतामा कार्यालय सफाइ कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेका छन् ।

साथै अनावश्यक कागजात, सामग्री, पुराना फर्निचर र उपकरणलाई लिलाम विक्री वा डिस्पोज गरी कार्यालय परिसरलाई सफा–सुग्घर राख्ने, सेवा प्रवाहको स्थिति, भए गरेको कार्य प्रगति र कर्मचारीको कार्य सम्पादन स्तर मन्त्रालयमा मासिक÷त्रैमासिक रूपमा प्रतिवेदन गर्ने तथा बिचौलिया र असम्बन्धित व्यक्तिलाई कार्यालय प्रवेशमा पूर्ण निषेध गर्ने र सो कार्यको लागि नेपाल प्रहरीसँग समन्वय गर्न सचिव अर्यालले निर्देशन दिएका छन् ।

सेवाग्राहीले गर्ने सबैभन्दा ठुलो गुनासोका रूपमा रहेको कर्मचारीको आचरण, व्यवहार र अनुशासनबारे पनि श्रम सचिव अर्यालले कडा निर्देशन दिएका छन् । कार्यालयमा कुनै पनि प्रकारको गैर कानुनी लेनदेन वा स्वार्थको द्वन्दको अवस्थालाई अन्त्य गर्ने, कार्यालय प्रमुखको अगुवाइमा सदाचारिता र निष्ठा कायम गरी सदाचार प्रवर्द्धनमा जोड दिन भनेका अर्यालले विभागीय प्रमुख/कार्यालय प्रमुख पूर्ण अनुशासन र आचरणमा रहन भनेका छन् ।

कार्यालय प्रमुखले अघि सारेका सुधारका कार्यमा सहयोग नगर्ने, विभिन्न बहाना गर्ने, काम भन्दा अन्य कुरामा ध्यान दिनुका साथै चेन अफ कमान्डमा नरहने कर्मचारीको विवरण तत्काल विभाग वा मन्त्रालयमा पठाउनसमेत सचिव अर्यालको निर्देशन छ ।

कसैको दबाब र प्रभावमा नपर्ने, नबिराउने, नडराउने भन्दै उनले कानुन बमोजिम काम गर्दा कसैबाट अनावश्यक दबाब वा प्रभाव पर्न आएमा त्यस्ता व्यक्ति वा समूहको सम्बन्धमा मन्त्रालयमा सूचना दिनसमेत भनेका छन् ।

इमानदार र कर्तव्यनिष्ठ कर्मचारीलाई उत्प्रेरित गर्न र मनोबल उच्च राख्न अवलम्बन गर्नुपर्ने विषयमा सुझाव पेस गर्ने तथा असल नियतले काम गर्न सुझाएका अर्यालले कर्मचारीलाई कर्तव्यपालनको क्रममा कुनै समस्या आएमा त्यस्ता कर्मचारीको बचाउ र संरक्षण गर्न निर्देशन दिएका छन् ।
कर्मचारी आचरण र अनुशासनमा विशेष ध्यान दिँदै कार्यालयमा नियमितता, समय पालना, पोसाक, परिचय पत्रको पूर्ण रूपमा पालना गर्न गराउनसमेत सचिव अर्यालको निर्देशन छ ।

वैदेशिक रोजगारीमा देखिएका बेथितिहरू नियन्त्रण गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको सचिव अर्यालले बताएका छन् । सरकारी संयन्त्र मात्रै होइन, म्यानपावर कम्पनीहरुलाईसमेत प्रविधिमैत्री बनाएसँगै ठगी नियन्त्रणमा यो निर्देशन कोषेढुंगा साबित हुने सचिव अर्यालको दाबी छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँदेखि काठमाडौँ महानगर हुँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छँदा प्रविधिको प्रयोगमार्फत सहज सेवा प्रवाहमा जोड दिँदै आएका सचिव अर्याल श्रम मन्त्रालयमा सरुवा भएसँगै विभिन्न सुधारका सुरुवात गरेका छन् ।

मन्त्रालय तथा अन्तर्गतका निकायहरूका असल अभ्यास तथा खराब पक्षहरूबारे यथार्थ विवरण पेस गर्न सहसचिवहरूको नेतृत्वमा समिति नै गठन गरी प्रतिवेदनसमेत मागेका सचिव अर्यालले सोही आधारमा सुधारको सुरुवात गरेका हुन् ।

श्रम सचिव अर्यालले दिएका निर्देशहरूको पूर्ण कार्यान्वयन हुनसके वैदेशिक रोजगारीमा जाने लाखौँ नागरिकहरू र तिनको परिवारहरूको मुहारमा खुसीयाली त छाउने छ नै, वैदेशिक रोजगारी भनेपछि कहलिने बदनामीको कलङ्कसमेत मेटिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस