पहिराेले खानेपानी अवरुद्ध « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पहिराेले खानेपानी अवरुद्ध


३ असार २०७८, बिहिबार


बागलुङ । ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।

लगातारको वर्षासँगै भुँदीखोला मुहान नजिक जिरेदीमा १३ वटा पाइप पहिराले बगाएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । ल्डाँडास्थित ट्याङ्कीछेउ पनि पहिरा खस्दा पाँच पाइपमा क्षति पुगेको छ ।

बोक्सेलगायत अन्य कैँयन ठाउँमा खानेपानीका पाइपमा क्षति पुगेको जनाइएको छ ।

‘आयोजनामा ठूलो क्षति र अवरोध पुगेको छ, खानेपानीको सहज आपूर्ति हुन हप्ता दिन जति लाग्छ’, प्रबन्धक शर्माले भने । क्षति पुगेका ठाउँमा संस्थाका प्राविधिक र कर्मचारी मर्मतका लागि खटिइसकेको उनको भनाइ छ । पहिराको जोखिमका कारण बागलुङ नगरपालिका–३ मा निर्माणाधीन ‘लिफ्टिङ’ आयोजना पनि प्रभावित बनेको छ ।

शनिबारदेखि जारी वर्षाका कारण जिल्लाभर बाढीपहिराका घटना बढेका छन् । पहिराको जोखिमले दर्जनौँ परिवार विस्थापनमा परेका छन् । कतै धनमाल त कतै पशुचौपाया पहिरामा पुरिएका छन् । विस्थापित छिमेकीकहाँ आश्रय लिइरहेका छन् ।

ठूलादेखि ग्रामीण भेगसम्मका सडक मार्गलाई पहिराले क्षतविक्षत तुल्याएको छ । कालिगण्डकी करिडोरअन्तर्गत मालढुङ्गामा रहेको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ ।

त्यसका कारण जिल्लाको दक्षिण भेगसँग सडक सम्पर्क टुटेको छ । खोलानाला बढेकाले पैदल आउजाउ गर्न पनि सहज छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस