विभिन्न देशबाट स्वास्थ्य सामाग्री आउने क्रम जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विभिन्न देशबाट स्वास्थ्य सामाग्री आउने क्रम जारी


३० जेष्ठ २०७८, आइतबार


काठमाडौँ । कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी छ । आइतबार विभिन्न देशहरूले भेन्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, मास्क, पिपिई, अक्सिजन नेसल क्यानुला, अक्सिजन फेस मास्कलगायत सामाग्रीहरू सहयोग गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हरेक दिन जसो विभिन्न मन्त्रालयबाट प्राप्त विवरणहरू एकमुष्ट रूपमा सार्वजनिक गर्दै आएको छ । कार्यालयका प्रवक्ता किरण राज शर्माका अनुसार चीनको तिब्बतस्थित गैर सरकारी संस्था गुड विल फाउन्डेसनले कोभिड–१९ महामारी विरुद्ध लड्न नेपाल सरकारलाई प्रदान गर्ने ५० थान अक्सिजन कन्सेन्ट्रेटर तातोपानी नाकामा आइपुगेको छ भने डेनिस सरकारले २६ थान भेन्टिलेटर सहित विभिन्न स्वास्थ्य सामग्री छिट्टै नेपाललाई उपलब्ध गराउने भएको छ ।

यस्तै चीनको युनान प्रान्तले नेपाललाई प्रदान गर्ने ४८ हजार थान एन.नाइटिफाइव मास्क, एक लाख १० हजार थान सर्जिमल मास्क र तीन हजार आठ सय २० थान प्रोटेक्टिभ गार्मेन्ट(पिपिई) जस्ता स्वास्थ्य सामग्रीहरू हिमालयन एयरलाइन्सको चार्टर्ड उडानबाट१४ जून २०२१ मा त्रिभुवन विमानस्थलमा आइपुग्ने जानकारी स्थानीय चिनियाँ दूतावासबाट प्राप्त भए बमोजिम सो स्वास्थ्य सामाग्रीहरू बुझिलिन आवश्यक समन्वय गरिएको मन्त्रालयका प्रवक्ता शर्माले जनाएका छन् ।

चीन सरकारले प्रदान गर्ने ६ सय ५० थान अक्सिजन कन्सेन्ट्रेटर, २० हजार थान अक्सिजन नेसल क्यानुला र २० हजार थान अक्सिजन फेस मास्क बेइजिङबाट नेपाल ल्याउनका लागि जुन २३ मा चार्टर उडानको व्यवस्थाका लागि आवश्यक समन्वय भइरहेको छ। गैर–आवासीय नेपाली सङ्घ हङकङ्ले प्रदेश नं.१ लाई ५ थान, प्रदेश नं. २ लाई ५ थान, बागमती प्रदेशलाई ५ थान, गण्डकी प्रदेशलाई १५ थान, लुम्बिनी प्रदेशलाई ५ थान, कर्णाली प्रदेशलाई १० थान र सुदूरपश्चिम प्रदेशलाई ५ थान गरी जम्मा ५० थान अक्सिजन कन्सेन्ट्रेटरहरू तथा गैर–आवासीय नेपाली सङ्घ मकाउले प्रदान गर्ने ५ थान अक्सिजन कन्सेन्ट्रेटर गरी जम्मा ५५ थान अक्सिजन कन्सेन्ट्रेटर १८–१९ जूनमा केरुङ–रसुवागढी नाकामा आइपुग्ने भएकोले उक्त स्वास्थ्य सामग्रीको भन्सार लगायत आयात सहजीकरणको लागि आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस