पूर्वसचिव त्रिताल भन्छन् : सरकार, तिम्रो गति र मतिको कारण जनस्वास्थ्यमा नराम्रो खेलबाड भयो ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वसचिव त्रिताल भन्छन् : सरकार, तिम्रो गति र मतिको कारण जनस्वास्थ्यमा नराम्रो खेलबाड भयो !


२५ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव शारदा प्रसाद त्रितालले समयमै कोरोना खोप ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

मङ्गलवार साँझ सामाजिक सञ्जालमार्फत सरकारकै ढिलाइका कारण हजारौँ नागरिकले ज्यान गुमाएको र लाखौँ सङ्क्रमित भई कठिन जीवन बिताउनु परेको बताएका छन् ।

उनले इतिहासमै पहिलो पटक वर्तमान सरकारकै पालामा छिमेकी मुलुक चीन र भारतसँग एकै पटक सम्बन्ध चिसिएको बताउँदै छिमेकीलाई गरेको बेवास्ताका कारण यस्तो सहयोग पाउन नसकेकोसमेत उल्लेख गरेका छन् ।

हेर्नुहोस् उनको भनाई जस्ताको त्यस्तै
१. भारतले अप्रिल १ मा नै भ्याक्सिन निर्यात नगर्ने निर्णय गर्‍यो । त्यसपछि तिमीले त्यसको विकल्प खोज्न खासै चासो देखाएनौ ।
मे २६ मा आएर राष्ट्रपति मार्फत प्रयास त गर्‍यौ तर त्यस ढिलाइको कारण हजारौँ नागरिकको ज्यान गयो भने लाखौँ नागरिक सङ्क्रमित भएर कठिनतम जीवन बिताइ रहेका छौँ ।
२. इतिहासमै शायद पहिलो पटक तिम्रो पालामा दुवै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध एकै पटक चिसिन पुग्यो । देशलाई अप्ठेरो पर्दा एउटा छिमेकी रिसाए पनि अर्कोले सहयोग गरिरहेको इतिहास हो हाम्रो ।
निवर्तमान स्वास्थ्य मन्त्रीका अनुसार उत्तरी छिमेकी चीनले भ्याक्सिन खरिदको लागि मूल्यको जानकारी दिन समेत आनाकानी गर्‍यो रे । यदि चीनलाई बेवास्ता नगरेका थियौ भने उसले हाम्रो लागि धेरै ठुलो सहयोग गर्ने थियो । यो सबै तिम्रो अविवेकी व्यवहार र कमजोर कूटनीतिका कारण भएको हो ।
यस्तो विपत्तिमा समेत दुवै छिमेकी तिम्रो रमिता हेर्न बाध्य भए र नेपाली जनताको दुख अझ बढ्न पुग्यो ।
३. नेपाल रणनीतिक रूपमा महत्त्वपूर्ण भएको कारणले यदि उपयुक्त कूटनीतिक प्रयास भएको भए अमेरिका, बेलायत लगायत अन्य युरोपियन राष्ट्रहरूले नेपाललाई भ्याक्सिनमा ठुलो सहयोग गर्ने थिए । त्यहाँ पनि चुक्यौ । विश्व स्वास्थ्य सङ्गठनसँग समन्वय गर्नै सकेनौ ।
४. कोभिड १९ को समस्या गत डेढ वर्षदेखि गम्भीर रूपमा फैलिएको र अझै केही वर्ष यसको प्रभाव रहने विज्ञहरूको राय रहेको देखिन्छ ।
यस्तो वेलामा अन्तर्राष्ट्रिय जगतसँग गहन सम्पर्क, समन्वय र सम्बन्ध राख्न सक्ने व्यक्ति परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयमा मन्त्री बनाइनु पर्थ्यो । यी तीनै मन्त्रालयमा आफ्नो भूमिकालाई एकरत्ति प्रभावकारिता दिन नसक्ने तथा अङ्ग्रेजी भाषामा एक वाक्य बोल्न र लेख्न समेत नसक्ने व्यक्तिहरू नियुक्त गरिनु वर्तमानमा राष्ट्रका लागि ठुलो धोका हो ।
५. वर्षौँदेखि स्वास्थ्य सामग्री आयात गरिरहेका अनुभवी र सम्पर्क राम्रो भएका संस्थाको सट्टा अनुभव नै नभएका आफ्ना चम्चेहरु मार्फत काम गर्न खोजेर अर्को नौटङ्की देखायौ ।
६. यति ठुलो महामारीमा शायद यति कमजोर व्यवस्थापन संसारको कुनै देशमा छैन !

प्रतिक्रिया दिनुहोस