विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली सकारात्मक : परिसंघ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली सकारात्मक : परिसंघ


२५ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउन र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकामा परिसंघले बैंकलाई धन्यवाद दिएको छ । परिसंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालमा औद्योगिक उत्पादन बढाउन ‘मेक इन नेपाल स्वदेशी’ अभियान अगाडि बढाइहेको छ ।

विनियम ४ मा विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरेपछि सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य हुने छैन भन्ने व्यवस्था छ । यसले विदेशी लगानीकर्तालाई लगानी भित्र्याउन छिटो र सहज हुने परिसंघको विश्वास छ ।

विनियम ५ मा विदेशी कम्पनी वा लगानीकर्ताले लेखांकनका लागि निवेदन दिएको सात कार्य दिनभित्र लेखांकन प्रमाणपत्र उपलब्ध गराउने व्यवस्थले विदेशी लगानी र ऋणको लेखांकन छिटो सम्पन्न गरी लगानीकर्तालाई समयमै निर्णय प्राप्त गर्ने जनाइएको छ ।

विदेशी लगानीकर्ताले नेपालमा आर्जन गरेको रकम फिर्ता लैजान निवेदन दिएको १५ कार्य दिनभित्र बैंकले निर्णय दिनुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ । यसले लगानीकर्ताले आर्जन गरेको रकम लैजान थप सहज हुने विश्वास परिसंघको छ । एकल विन्दु सेवा केन्द्रमा रहेको बैंकको एकाइमार्फत रकम लैजाने प्रक्रिया अघि बढाउन सक्ने व्यवस्थाले लगानीकर्तालाई सहज सेवाप्रदानको विश्वास प्राप्त हुने पनि परिसंघले विश्वास लिएको छ ।

बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सहजीकरण गर्न समिति गठन गरेको छ । विनियमावलीमार्फत गठन गरिएको यस्तो समितिले विदेशी लगानीकर्ताले भोगेका समस्या समाधान गर्न सहजता प्रदान गर्ने विश्वास परिसंघको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस