राजनैतिक उतारचढाव र असामाजिक टीकाटिप्पणी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजनैतिक उतारचढाव र असामाजिक टीकाटिप्पणी


२४ जेष्ठ २०७८, सोमबार


२०७८/२/८ गतेको संसद् विघटन लगायतको विषयलाई लिएर फेसबुकमा प्रधानमन्त्री र राष्ट्रपतिलाई काम बिगारे भनेर व्यङ्ग्य गर्नेहरू धेरै देखिए । कतिपयले प्रेम जोडीकोरूपमा आरोप लगाए भने कतिपयले चाहिँ प्रधानमन्त्री र राष्ट्रपतिको सम्बन्धलाई हाँसी मजाकको विषय बनाए । २०७८/२/६ को राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पराजित भएपछि नेता बादलको सम्बन्धमा पनि फेसबुकमा असभ्य टिप्पणी थिए ।

नेत्री राम कुमारी झाक्रीलाई अब रत्न पार्कको बाटो लाग् भनेर लेख्नेहरू थुप्रै थिए । अश्लील गाली त कतिकति । जब प्रधानमन्त्रीको पत्रकार सम्मेलन वा यस्तै केही संवोधन प्रसारण हुन्छ, तल तथानाम गालीको वर्षा हुन्छ । चोर, फटाहा, लुटेरा, डाँका… के हो के हो । २०७८/२/८ गते नेता गोकुल बासकोटा ऋषि धमलासँग प्राइम टेलिभिजनमा अन्तरवार्ता दिँदै थिए, तल ७० करोड ठग, चोर, भ्रष्टाचारी लगायतका शब्दहरूको वर्षा थियो ।

नेता शेर बहादुर देउवालाई भकभके, शेरे, पुष्पकमल दाहाललाई हत्यारा, जङ्गली जस्ता शब्दहरूले टिप्पणी गरेका तमाम कमेन्टहरू हामीदेखि रहन्छौँ । पूर्व राजा ज्ञानेन्द्रलाई हत्यारा भन्नेहरू पनि थुप्रै भेटिन्छन् सामाजिक सञ्जालमा ।

यी त केही प्रतिनिधि टिप्पणी मात्रै हुन् । यतिवेला सामाजिक सञ्जालमा परिवारलेसँगै बसेर हेर्नै नमिल्ने खालका टिका टिप्पणीहरू आमरूपमा देखिन थालेका छन्। खास गरी राजनैतिक उतार चढावकाबीच आफूलाई अब्बल र सर्वज्ञाता ठान्ने पाटीका कार्यकर्ताहरू नै यस्तो गर्नेमा बढी देखिन्छन् ।

‘एक जना क्याम्पस पढाउने उपप्राध्यापक छन् पाल्पातिरका, तिनलाई प्रधानमन्त्री केपी ओलीलाई गाली गरेर स्ट्याटस नलेखेसम्म खानै पच्दैन सायद । ती उपप्राध्यापकका स्ट्याटस हेर्दा तिनका विद्यार्थीहरू तिनकाबारेमा के सोच्दा हुन् ?

राजनीति आम चासोको विषय हो र राजनीतिक विषयसँग जोडेर राजनीतिक पात्रहरूलाई टीकाटिप्पणी गर्नु स्वाभाविकै हो । तर, व्यक्तिगत रूपमा नानाथरी चरित्र चित्रण गरेर गालीगलौजको भाषामा उत्रिनु लघुताभाषको पराकाष्ठा हो । यस्तो असभ्य भाषा सर्व साधारण नागरिकका लागिसमेत नसुहाउने कुरा हुन् । तर नेपालमा पिएचडी गरेका डाक्टर सापहरूका टिप्पणीसमेत यस्तै देखिन्छन् । प्रधानमन्त्रीलाई कहिले भस्मासुर, कहिले जालझेल शिरोमणि जस्ता शब्दको प्रयोग बाबुराम जस्ता मूर्धन्य विद्वानहरूको टिप्पणीमासमेत देखिन्छन् । ठुला पार्टीका केन्द्रीय तहका नेताहरूसमेत गालीगलौजको भाषा प्रयोग गर्छन् ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीश, मुख्यमन्त्री जस्ता पदहरू आफैमा संस्था हुन् । जो सुकै पार्टीको भएपनि तिनीहरू संवैधानिक वा कानुनी बाटोबाट त्यहाँ पुगेका हुन्छन् । तर अर्को पक्षको हुने बित्तिकै वा आफूलाई चित्त नबुझ्ने बित्तिकै नाङ्गो टिप्पणी गर्ने प्रचलन खास गरी दलीय कार्यकर्तामा बढी नै देखिन्छ । त्यस्तो गर्नेमा एउटा पक्ष वा पार्टीको वरिपरि घुमेर विभिन्न किसिमका लाभ हत्याउन पल्केका कथित भित्रिया कार्यकर्ताहरू अगाडि छन् ।

सामाजिक सञ्जालमा हुने टीकाटिप्पणी त्यहीँ नै समाप्त हुँदैनन् । एकातिर तिनले समाजमा तिक्ततापूर्ण विभाजनका लागि काम गर्छन् भने अर्कातिर समग्र राजनीतिलाई नै कुरूप बनाउन वा नकारात्मक बनाउन योगदान गर्छन् । एउटा पक्षले अर्को पक्षकालाई तथानाम गाली गर्दा तेस्रो पक्षलाई कस्तो लाग्दो हो ? आम मान्छेले त्यसलाई कसरी ग्रहण गर्दा हुन् । कसले ख्याल गरोस् । अवश्य पनि सकारात्मक प्रभाव त यसबाट पर्दैन नै ।

नेपालको राजनीतिक विडम्बना भन्नु पर्छ । नेताहरूले भाषण गर्दा अरू कुनै नेताको गाली नगरी तिनको भाषण पूरा हुँदैन । उनीहरू अर्कालाई वेइमान्, धोखेबाज, जाली, ठग, चरित्रहीन, भ्रष्टाचारी नभनी भाषण गर्नै सक्दैनन् । आफ्नो विचार, सोच, योजना, सपना, सल्लाह, रणनीति, आदर्श केहो हो ? थाहा छैन, मतलब छैन, तर अर्काको खेदो खन्न छोड्दैनन् उनीहरू । अर्कालाई कमजोर नदेखाइ आफू बलियो भइन्न शायद ।

माउ नेताका यस्तै चरित्रले कायकर्ताहरूको टिप्पणी गालीमय बन्छ । गार्वेज इन, गार्वेज आउट ।

यो टिप्पणीकारले २०१९ को डिसेम्बरमा चीनको सांघाइ, निङ्वो, फुजो लगायतका सहरहरू भ्रमण गर्ने अवसर पाएको थियो । चिनीयाहरुको राष्ट्रपति, प्रधानमन्त्री र अन्य नेताहरूप्रतिको सम्मान कति थियो भने छलफलका क्रममा हरेक प्रसङ्गमा उनीहरू राष्ट्रपति र प्रधानमन्त्रीका योगदानहरूलाई जोडी रहन्थे । नेताहरुप्रतिको उनीहरूको सम्मान अनुकरणीय लाग्थ्यो । थाइल्यान्डमा राजाकोविरुद्धमा नकारात्मक टिप्पणी गर्नु आमरूपमा अपराध मानिन्छ भने बेलायत जस्तो खुला समाजमासमेत राष्ट्रपति र प्रधानमन्त्रीप्रति असहिष्णु टिप्पणी देखिँदैन ।

राजनीतिज्ञहरुलाई गाली गर्ने संस्कृति दक्षिण एसियाका देशहरूको पहिचान हो सायद । तर व्यक्ति किटाएर तथानाम गाली बर्साउनेमा नेपाल अग्र भागमा छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गत वर्ष भारत भ्रमण गर्दा भारतीय जनता पार्टीका नेता राजनाथ सिंहलाई निहुरिएर अभिवादन गरेको विषयलाई लिएर समग्र नेपाललाई नै निचो देखाउने गरी टिप्पणीहरू भए ।

भारतीय पत्रकार गो स्वामीले प्रधान मन्त्री केपी ओलीलाई भेट्दा उपरखुट्टी हालेर बसेको विषयमासमेत प्रधानमन्त्रीलाई निचो देखाउने गरी सामाजिक सञ्जालमा ‘एन्टी कार्यकर्ता’ टिप्पणीहरू भए । यस्ता टिप्पणीले समग्रतामा राष्ट्रियता र राष्ट्रिय मर्यादामा चोट पुर्‍याउने कुरामा कसले ख्याल गरोस् ।

हालै प्रचण्ड पुत्री रेणु दाहालले बिरामी आमा सीता दाहालसँगको फोटो पोष्ट गरिन् । मान्छेहरूले न्युनतम् मानवीयतालाईसमेत बिर्सिएर प्रचण्ड परिवारमाथि अश्लील टिप्पणीहरू गरे । १७ हजार मान्छे मारेको पापसमेत भन्न भ्याए । बिरामी भएको अवस्थामासमेत यो तहको टिप्पणीलाई के भन्ने ?

नेपालमा करिब ६५ प्रतिशत नेपालीहरू इन्टरनेटको पहुँचमा छन् र अधिकांश नागरिक कहीँ न कहीँ सामाजिक सञ्जालमा जोडिएका छन् र विद्यार्थी वा किशोर पुस्ता सामाजिक सञ्जालमा अलि बढी नै कनेक्टिड छ । यस्तो बेलामा राजनैतिक उतार चढाबमा गरिने अश्लील टिप्पणी र नेताहरूको चरित्रको विद्रुपीकरणले समाजमा कस्तो प्रभाव पार्छ ? सोच्न जरुरी छ ।

यसै पनि कसैलाई गालीगलौज गर्नु सामाजिकरूपमा अशोभनीय र अक्षम्य अपराध हो । कानुनीरूपमासमेत यो दण्डनीय कार्य हो ।

नेपालको संविधान २०७२ को धारा ५१ को राज्यका नीतिहरू अन्तर्गत खण्ड ‘ग’ मा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था छ । उक्त खण्डको उपखण्ड १ ले स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने नीति लिएको देखिन्छ । संविधानको कार्यान्वयन गर्ने अग्र जिम्मेवारीमा रहेका दलीय कार्यकर्ताहरूबाटै गरिने गाली टिप्पणीबाट उपयुक्त बमोजिम समाज निर्माण गर्ने कुरामा कस्तो प्रभाव पार्ला गम्भीररूपमा सोच्न जरुरी छ ।

संविधानको प्रस्तावनामै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्ने भनिएको छ । तथापि राजनैतिक तहबाटै यो विषयको गम्भीर आत्मिकरण भएको देखिँदैन । सर्वसाधारणबाट के अपेक्षा गर्ने ?

२०७८।२।९ गते प्रधानमन्त्री र राष्ट्रपतिको फोटो टाँसेर गोबर दल्ने विद्यार्थी नेताहरू पक्राउ परको खबर पढियो । के विद्यार्थीसँग राजनैतिकरूपमा विरोध गर्ने अरू कुनै शैली थिएन होला ?

हाम्रो समाज बहुल चरित्रको छ । बहुलता नेपाल र नेपालीको जबरजस्त विशेषता हो । बहुल समाजको विचार बहुल हुन्छ, बुझाइ बहुल हुन्छ । हामीले अङ्गीकार गरेको व्यवस्था बहुल छ । तर अर्कातिर हामी अर्काको अस्तित्व स्विकार्न तयार छैनौँ । अर्काको विचार सुन्न तयार छैनौँ ।

आफ्ना कुरा सबै ठिक, अर्काको कुरा ठिक भएपनि खतम । यही मनोग्रन्थीले बिगारेको छ, शायद । त्यसैले त मान्छे सिधै गाली गलौचमा उत्रिन्छ ।

बहुदलीय व्यवस्थामा दलीय मतान्तरहरू भई रहन्छन् । समयक्रममा राजनैतिक उतारचढाब पनि भई रहन सक्छन् । तिनको टीकाटिप्पणी स्वस्थ र तार्किक हुनु पर्छ । राजनीति गर्नेले राजनीतिक टिप्पणी गर्नु पर्छ । सर्वसाधारणले पनि सामाजिक सीमा र मर्यादाभित्रबाट अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नु पर्छ । सामाजिक सञ्जाललाई हाँसिमजाक गर्ने, कसैको चरित्र हत्या गर्ने र तुष्टि लिने कार्यका लागि प्रयोग गर्नु यसको दुरुपयोग मात्रै होइन अपराध पनि हो ।

हुन त सञ्जालमा प्रयोग गर्ने भाषाले मान्छेको मनसाय, औकात र हैसियत देखाइ रहेकै हुन्छ, तथापि यसले समग्र समाजमा पार्ने नकारात्मक असरलाई नियन्त्रण गरिनु जरुरी छ ।

कस्तो संस्कृति विकास हुन खोज्दै छ देशमा । अर्को पार्टी वा पक्षको चरित्र नङ्ग्याउनै पर्ने । आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न नसक्ने तर उता प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति वा यस्तै उच्च पदस्थहरूको तथानाम खोइरो खन्ने ।

आफ्नो गाउँ टोलमा खाने पानीको जोहो गर्न नसक्ने वडाअध्यक्षहरु प्रधानमन्त्रीलाई यो गरेन त्यो गरेन भनेर उछितो कडी रहेको देखिन्छन् । विद्यालयमा गएर राष्ट्रपति यस्तो, प्रधानमन्त्री उस्तो, फलानो पार्टी उस्तो, फलानो नेता त्यस्तो भनेर कलिला विद्यार्थीहरूको मस्तिष्कमा नकारात्मकता भर्ने र तिक्तताको बिउ छर्ने नेताहरू प्रशस्तै देखिन्छन् ।

गाली त्यसले गर्छ जो कमजोर हुन्छ । गाली त्यसले गर्छ जो हीन भावनाले ग्रसित हुन्छ । गाली त्यसले गर्छ जसको समाजमा आफ्नै मर्यादा कमसल हुन्छ । अर्काको चरित्र त्यसले हत्या गर्न खोज्छ जो आफै कमजोर र विवादास्पद चरित्रको हुन्छ । कमसेकम टिप्पणीकारहरूले यस्तो कुरा ख्याल गर्दा हुन्थ्यो ।

अहिले निषेधको राजनीति गर्ने र वैयक्तिक चरित्र हत्या गर्ने गरी हुने सन्जालीय टीकाटिप्पणीलाई बेलैमा नियन्त्रण नगर्ने हो भने राजनीतिक दलहरूका लागि यो महँगो साबित हुनेछ । समाजलाई दूषित बनाउने कुरा त छँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस