प्रदेश २ मा आज प्रदेश सभा बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश २ मा आज प्रदेश सभा बैठक बस्दै


२४ जेष्ठ २०७८, सोमबार


जनकपुरधाम । प्रदेश नम्बर २ मा आज प्रदेश सभाको बैठक बस्ने भएको छ। प्रदेश सभाको छैटौँ अधिवेशनको पहिलो बैठक सोमबार बस्ने भएको हो।

प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान गरिएको छ।

मन्त्रिपरिषद्का सिफारिसमा प्रदेश प्रमुख डा. राजेश अहिराजले सोमबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन्।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८/०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ।

प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ।

त्यसैगरी सरकारको आव २०७८/०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसदमा प्रस्तुत हुने भएको छ।

सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ।

प्रदेशसभामा प्रदेश प्रमुख डा अहिराजले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ।

नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस