मन्त्री हुँदा सात महिनाको तलब कोरोना कोषमा र छ लाख पार्टीलाई बुझाएको छु : निवर्तमान उपप्रधानमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्री हुँदा सात महिनाको तलब कोरोना कोषमा र छ लाख पार्टीलाई बुझाएको छु : निवर्तमान उपप्रधानमन्त्री


प्रशासन संवाददाता

२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । निवर्तमान उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले आफू मन्त्री पदमा रहँदाको अवधिभर आफ्नो सात महिनाको तलब कोरोना कोषलाई बुझाएको जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन पछि पदमुक्त भएका पोखरेले आफूले पदमा बहाल रहँदा कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम, नियन्त्रण र कोभिड सङ्क्रमितहरूको उपचारका लागि आफ्नो सात महिनाको साढे चार लाख रुपैयाँ कोरोना कोषलाई बुझाएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

यस्तै उनले मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आज बुझाइसकेको जानकारी दिँदै यस अवधिमा आफ्नो पार्टीको कोषमा ६ लाख ५ हजार बुझाएको जानकारी दिएका छन् ।

उनले पुलचोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको पनि जानकारी दिएका छन् ।

पोखरेलले २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म दुई वर्ष ७ महिना १४ दिन नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात् २०७८ जेठ २१ गतेसम्म ७ महिना २३ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारी पाएका थिए । उनले ३ वर्ष ३ महिना ७ दिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकारमा रहेको जानकारी दिए।

सबैप्रति हार्दिक आभार !
————– —–
म २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म (२ वर्ष ७ महिना १४ दिन ) नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात् २०७८ जेठ २१ गतेसम्म (७ महिना २३ दिन ) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा रहेँ । सुरुमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षा मन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहेँ । यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्त्वपूर्ण समयावधिका रूपमा लिएको छु । यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पुरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनु भयो । मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो । नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति लगायत सकल दर्जाका साथीहरू, मन्त्रालयका सचिवजीहरू तथा अन्य सम्पूर्ण कर्मचारी साथीहरूले गर्नुभएको सहयोगलाई म कहिल्यै बिर्सन सक्तिन । मलाई समर्थन गर्नुहुने/ माया गर्नुहुने आम जनता खास गरी निर्वाचन क्षेत्रका मतदाताहरूले सद्भाव र समर्थन जनाइरहनु भयो । उहाँहरूले गर्नुभएको सहयोग र सद्भावलाई म कहिल्यै बिर्सने छैन । उहाँहरू सबैप्रति म कृतज्ञ छु ।
यसबीच सरकारमा रहेकाबेला मबाट र मेरो नेतृत्वमा भएका सबै कामहरू सम्बन्धित ठाउँमा औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन् । तिनले आज मात्र नभएर आवश्यक पर्दा पछि पछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु । यसबीच कोभिड सङ्क्रमणको महामारीका समयमा मैले “उच्चस्तरीय समन्वय समिति” र “कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र” मा संयोजकका हिसाबले भूमिका खेल्ने काम गरेँ । त्यस बेलाको जटिलतासित गाँसिएर उठेका/ उठाइएका कुराहरूलाई म कहिल्यै बिर्सन सक्तिन । यसबीच मैले कोभिड सङ्क्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००।- कोभिड कोषमा बुझाएको छु । सुविधा प्राप्त गरेबापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पुरा गरेको छु । मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतबार (२३ गते जेठमा) बुझाइसकेको छु । यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००।- बुझाएको छु । पुलचोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको छु ।

साथीहरू सबैलाई थाहा छ- म नेकपा ( एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव – तर “महान् र ऐतिहासिक” भनिएको एमाले- माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन ! तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले- माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुनः एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु – म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ । पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्बन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तर आशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु।

अहिले कतिपयले भन्ने गरेजस्तो “सबैतिर छ पार्टी – तर कहीँ पनि छैन पार्टी” जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान सञ्चालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ । दुर्भाग्य नै हो – यति वेला पार्टीभित्रको एकतामा पनि सङ्कट देखा परेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशङ्काले मानिसहरूमा त्रास सृजना गराउन खोजिँदै छ । आर्थिक विकास र सम वृद्धिको अभियानलाई कमजोर पार्ने , राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई बिथोल्ने आदि दुष्प्रयत्नहरू हुँदै छन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ । यस्तो बेलामा सिङ्गो राष्ट्रले/आम नेपाली जनताले नेकपा (एमाले)प्रति – सुदृढ र जनआधारित नेकपा (एमाले)प्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ । यो आवश्यकतालाई पुरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ । यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई गोलबन्द हुन हार्दिक अनुरोध गर्दछु ।
– ईश्वर पोखरेल
२०७८ जेठ २३

Tags :
प्रतिक्रिया दिनुहोस