राउटे युवतीलाई मदिरा सेवन गराई होटेलमा लगेर दुर्व्यवहार, होटेल सञ्चालकसहित तीन जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राउटे युवतीलाई मदिरा सेवन गराई होटेलमा लगेर दुर्व्यवहार, होटेल सञ्चालकसहित तीन जना पक्राउ


२३ जेष्ठ २०७८, आइतबार


सुर्खेत । राउटे समुदायका युवतीलाई मादक पदार्थ सेवन गराई होटेलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

राउटे समुदायका युवतीलाई मादक पदार्थ सेवन गराइ होटेलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको सुर्खेतका जिल्ला प्रहरी प्रमुख राजेन्द्र भट्टले जानकारी दिए ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले तत्काल तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ । घटना २१ गते भएको र हिजो (२२ गते) राति १२ बजे मात्रै अभियुक्तलाई पक्राउ गरिएको भट्टले जानकारी दिए । उनले भने, ‘घटना २१ गतेको हो, हिजो राति १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएका छौँ, थप अनुसन्धान गर्न प्रहरी टोली राउटे बस्तीतिर गएको छ ।’

भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरिरहेका छन् । लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाई सरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस