ढुङ्गा, गिट्टी निकासी गर्ने निर्णय खारेज गर्न विपक्षी गठबन्धनको माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ढुङ्गा, गिट्टी निकासी गर्ने निर्णय खारेज गर्न विपक्षी गठबन्धनको माग


प्रशासन संवाददाता

२२ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । विपक्षी गठबन्धनले ढुङ्गा, गिट्टी, बालुवा निकासीको निर्णय तत्काल खारेज गर्न माग गरेको छ।

विपक्षी गठबन्धनका पाँच नेताले शनिवार विज्ञप्ति जारी गर्दै चुरेमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर निकासी गर्न दिने निर्णय राष्ट्रघाती र जनघाती भएको बताएका हुन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने उल्लेख गरेको छ।

सरकारको उक्त निर्णयले पानीको स्रोत सुकाउने, तराईमा बाढीको प्रकोप बढ्ने र तराई क्षेत्र मरुभूमिकरण हुने विपक्षी गठबन्धनले जनाएको छ।

“व्यापार घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ, “वस्तुतः यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनको लागि दुरुपयोग गर्ने राष्ट्र हित विरोधी निर्णय हो।”

विज्ञप्तिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष महन्त ठाकुर र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस