गाउँका सबैमा कोरोना सङ्क्रमण, उपचारमा समस्या « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गाउँका सबैमा कोरोना सङ्क्रमण, उपचारमा समस्या


२२ जेष्ठ २०७८, शनिबार


डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ ।

सिङ्गो गाउँ नै कोरोना सङ्क्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । गाउँका अधिकांश नागरिकलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए । उनले भने, ‘सिङ्गो गाउँ नै कोभिड सङ्क्रमणले प्रभावित छ, केहीले कोरोना जाँच गर्न मानेका छैनन्, सङ्क्रमितको उपचारमा पनि समस्या छ ।’

उहाँका अनुसार ५२ जना सङ्क्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी रहेका कारण उपचार गर्नमा झनै समस्या उत्पन्न भएको हो । यतिमात्र नभई एउटै परिवारका छ जनासम्मलाई सङ्क्रमण पुष्टि भएको पाइएको छ । गाउँका अधिकांशलाई सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्वीकार गर्ने गरेका छन् ।

सङ्क्रमित देखिएका ५२ जनामध्ये अहिलेसम्म कुनै सङ्क्रमितलाई अस्पताल भने भर्ना गरिएको छैन् । सङ्क्रमित देखिएकाहरुमा जटिल खालको स्वास्थ्य समास्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होमआइसोलेशनमा राखिएको सिनियर अहेब खड्काले जानकारी दिए । यस गाउँमा रहेको स्वास्थ्य चौकीमा दुई स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएका कारण सङ्क्रमित देखिएकाको उपचार तथा रेखदेख गर्नमा समस्या उत्पन्न भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमितको उपचारका लागि थप स्वास्थ्यकर्मी माग गर्न गाउँपालिकालाई स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस