कास्कीमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कास्कीमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइयो


प्रशासन संवाददाता

२० जेष्ठ २०७८, बिहिबार


कास्की । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा यही जेठ मसान्तसम्म थप गरिएको छ । प्रशासनले आज सूचना जारी गरी जिल्लाभर लागू गरिएको निषेधाज्ञाको आदेश जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको जनाएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्न यसअघिको आदेश तथा पछिल्ला दिनमा देखिएको सङ्क्रमण दर, प्रवृत्ति र मृत्युदर विश्लेषणका आधारमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । प्रशासनले निषेधाज्ञा अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ ।

निषेधाज्ञाका अवधिमा अत्यावश्यक सेवामा प्रयोग हुने बाहेकका जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । यसबाहेक अन्य सभा,सम्मेलन,भेला गोष्टी, शैक्षिक संस्था, धार्मिकस्थलहरु,सिनेमा हल, पार्टी प्यालेस, रेष्टेरेन्ट लगायत समेत सञ्चालनमा बन्देज गरिएको छ ।

बैँक तथा वित्तिय संस्थाले अत्यावश्यक सेवाको लागि एक चौथाई कर्मचारीको उपस्थितिमा एक चौथाई शाखाबाट निक्षेप रु ५० हजारभन्दा बढीमात्र जम्मा गर्ने र चेक भुक्तानीको कार्य दिउँसो ११ बजेदेखी २ बजेसम्ममात्र गर्न आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस