कोरोना सङ्कटमा सेवक बने वडाध्यक्ष « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कोरोना सङ्कटमा सेवक बने वडाध्यक्ष


२० जेष्ठ २०७८, बिहिबार


झापा । कोरोना सङ्क्रमण पुष्टि भएलगत्तै मेचीनगर नगरपालिका–१३ की १७ वर्षीया कञ्चन रिजाललाई घरधनीले डेराबाट निकालिदिए । गाडीमा मजदुरी गर्दै आएका पतिका साथमा उनी कपडाको पोको बोकेर माइत प्गेकी थिइन् । त्यहाँ पनि आश्रय मिलेन । निर्दयी पतिले ‘पानी लिन जान्छु’ भन्ने निहुँ पारेर चारआली बजारको खाली टहरामा उनीलाई छाडेर भागे ।

एक सय चार डिग्री ज्वरोले बेहोस अवस्थाकी गर्भवती कञ्चनलाई टहरामा अलपत्र देखेपछि गाउँलेले टाढैबाट रमिता मात्र हेरे । वडाध्यक्ष कृष्णराज सिग्देलले यो घटना थाहा पाएपछि एम्बुलेन्स तत्काल बोलाए। आफैँले बिरामीलाई बोकेर एम्बुलेन्समा राखे र अस्पताल पुर्‍याए ।

मेचीनगरकै वडा नं ६ का अध्यक्ष ललित तामाङ हरेक दिन स्प्रेट्याङ्की बोकेर कोरोना सङ्क्रमितको घरघरमा पुग्छन् । ट्याङ्कीमा निसङ्क्रमणका लागि स्यानिटाइज गर्ने केमिकल राखिएको हुन्छ । सङ्क्रमण फैलिन नदिन पिपिई लगाएर उनी आफैँ स्प्रे गर्छन् । सङ्क्रमितको घरमा औषधि पुर्‍याउन वा बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स चाहिएका बेला होस्, उनी दिनरात नभनी वडावासीको सेवामा हाजिर छन् ।

धाइजन स्वास्थ्यचौकीमा मेचीनगरले ३० शय्याको आइसोलेसन वार्ड बनाएको छ । अक्सिजन सुविधासहितको सो वार्डमा चिकित्सकको सेवा उपलब्ध छ । निजी अस्पतालमा खर्च गर्न नसक्ने सङ्क्रमित प्रायः यहाँ उपचारका लागि भर्ना हुन्छन् । मेचीनगर–११ का वडाध्यक्ष सन्तोष मेचे आइसोलेशन सञ्चालनमा आएदेखि निरन्तर यही वार्डमा आउने बिरामीको सेवामा जुटेका थिए । बिरामीको कुरुवा बसिदिने, घरमा खानेकुरा छैन भने होटलबाट खाना ल्याइदिने, उपचारमा कुनै अभाव छ कि भनेर सोधिरहने अभिभावकीय जिम्मेवारी उहाँले पूरा गरिरहेका छन् ।

कोरोना कहरका बेला वडाध्यक्षले गरेका सराहनीय कार्यको केही नमूना हुन् यी । मेचीनगरमा १५ वडा छन् । सबै वडाध्यक्षले यसरी नै वडावासीलाई मद्दत पुर्‍याइरहेका छन् । होम आइसोलेशनमा बसेकालाई मात्र होइन, अस्पताल पुर्‍याउने अवस्था आएमा वडाध्यक्ष सङ्क्रमितको सेवामा अग्रपङ्तिमा खटिने गरेका छन् ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले मेचीनगरमा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । नगरपालिकाले नाकामा हेल्थ डेस्क राखेको छ भने सुरक्षा निकायसँगको सहकार्यमा स्वास्थ्यकर्मीले होल्डिङ सेन्टर सञ्चालन गरिरहेका छन् । भारतमा आन्तरिक हवाई यातायात खुला रहेको हुँदा नजिकैको बागडुग्रा एयरपोर्टबाट नेपालका विभिन्न जिल्ला जाने नेपाली मेचीनगर आइपुग्छन् । उनीहरुलाई नाकामै एन्टिजेन परीक्षण गराएर घरसम्म पुग्ने व्यवस्था नगरपालिकाले मिलाएको छ ।

जनसङ्ख्यासमेत अधिक रहेका कारण मेचीनगरमा कोरोना सङ्क्रमितको सङ्ख्या धेरै छ । यही कारण नगरपालिकाले १५ वटै वडाध्यक्षलाई आफ्नो वडाको कोरोना नियन्त्रण र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने निर्णायक जिम्मेवारी दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा बताउछन् ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगसँगै वडाध्यक्ष सङ्क्रमितको उद्धार र उपचारमा खटिएको देखेर नगरवासीसमेत प्रफुल्ल छन् । ‘उनीहरुको सक्रियता अनुकरणीय छ’, ओझा भन्छन्, “निषेधाज्ञाका कारण सर्वसाधारण घर बाहिर निस्कन पाउनुहुन्न, यो बेला बिरामीको उद्धार र उपचारमा सघाउनुपर्‍यो भने जनप्रतिनिधि मध्यरातसमेत नभनी खट्ने गर्नुभएको छ ।’

मेचीनगर–६ का वडाध्यक्ष तामाङ दिनहुँ आएर स्वास्थ्य अवस्थाका बारेमा सोधीखोजी गरिदिँदा कोरोना जित्नका लागि आफ्नो मनोबल उच्च भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका निवर्तमान सचिव सन्तोष आचार्यले बताए । ‘कोरोना सङ्क्रमित भएर होमआइसोलेशनमा बसेका बेला कहिले स्वास्थ्यकर्मीसहित र कहिले एक्लै आउनुहुन्थ्यो’, सोही वडा निवासी आचार्यले भने, ‘एक दिन आफैँ स्प्रे ट्याङ्की बोकेर पिपिई लगाएर आउनुभयो र तपाईँको पूरै घर निःसङ्क्रमण गरिदिन्छौँ भन्दै कोठाको कुनाकाप्चा घुमीघुमी आफैँ स्प्रे गर्न थाल्नुभयो ।’

सङ्कटकै बेला जनप्रतिनिधिको परीक्षा हुने जनाउँदै आचार्यले वडाध्यक्ष तामाङले निस्वार्थ जनसेवा गरेर वडावासीको मन जितेको बताए । उनले सङ्क्रमित र अन्य बिरामीको औषधि आफैँ मेडिकल गएर किनेर ल्याइदिने गरेका छन्। उनले नेपालमा नपाइने औषधि भारतबाट मगाएर भए पनि घरमै ल्याइदिने गरेका छन् ।

वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले कोरोना महामारीको दोस्रो लहर बढेयता रातमा सुत्नसमेत नपाएको बताए । “निदाउन र आराम गर्न पाइएन भनेर कुनै दुःख छैन मलाई’, युवा उमेरका वडाध्यक्ष सिग्देल भन्छन्, ‘किनकि, हामी जनताको सेवा गर्ने बाचा गरेर जनप्रतिनिधि भएका हौँ, वडावासी बिरामी भएर छटपटिँदा हामीलाई पीडा हुन्छ, प्रायःजसो रातिकै समयमा सङ्क्रमितको घरबाट फोन आउँछ, म मोटरसाइकल लिएर दगुरिहाल्छु ।’

आइसोलेशन वार्डमा अहोरात्र खटिएका अर्का वडाध्यक्ष मेचे वडावासीको ज्यान जोगाउनु नै अहिले आफ्नो पहिलो प्राथमिकता भएको बताउछन् । ‘कतिका घरभरि सङ्क्रमित छन्, तातोपानी तताएर दिने मानिस पनि हुँदैनन्’, उनी भन्छन्, ‘त्यस्तो अवस्थामा बिरामीलाई आइसोलेशनमा ल्याइएको हुन्छ, म उहाँहरुलाई खाना, खाजा, पानी, अक्सिजन, औषधिको जोहो गर्न सघाउँछु, कमसेकम अभिभावकका रूपमा वडाध्यक्ष छन् भनेर महसुस गर्न पाउने वातावरण हामीले बनाएका छौँ ।’

कतिपयले आइसोलेशनमा डाक्टर र नर्स पो बस्नुपर्छ, जनप्रतिनिधि किन बसेको भनेर भन्ने गरेको उनी सुनाउछन् । कोरोना सङ्क्रमित भएको ठाउँमा पिपिई लगाएर स्वास्थ्यकर्मी वार्डभित्र आफ्नो काम गर्छन् । बिरामीका आफन्तसँग सम्पर्क गर्ने, चाहिएको बेला खाना ल्याइदिने र अक्सिजन सकियो भने व्यवस्था मिलाउने काम आफैँले गरिरहेको उनले बताए । मेचीनगरले नगरभित्र होम आइसोलेशन र आइसोलेशन वार्डमा बसेका सबै सङ्क्रमितलाई अक्सिजन, औषधि, एम्बुलेन्स, एक्सरेलगायतका सुविधा निःशुल्करूपमा व्यवस्था मिलाएको नगर उपप्रमुख मीना उप्रेतीले जानकारी दिइन् ।

‘निकट भविष्यमै मेची आम्दा अस्पतालमा रोटरी क्लब र उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्दैछौँ’, उपप्रमुख उप्रेतीले भनिन्, ‘कोरोना कहरमा हामी जनप्रतिनिधि जोखिम मोलेरै नगरवासीको सेवामा जुटेका छौँ, नगरको सम्पूर्ण स्रोत साधनलाई सङ्क्रमितको उपचार र कोभिड नियन्त्रणमा लगाइरहेका छौँ ।’

मेचीनगरका सक्रिय सङ्क्रमितमध्ये हाल ४५४ होम आइसोलेशनमा र १५ जना अस्पतालमा उपचाररत रहेकी नगरको कोभिड कार्यदलकी वरिष्ठ स्वास्थ्यकर्मी सविता सापकोटाले जानकारी दिइन् । नगरमा १८६ जना निको भइसकेका छन् । नगरका १८ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्यसमध्ये वडा नं ७ का वडाध्यक्ष चन्दन मेचे र नगरका कर्मचारी महेन्द्र निरौलासमेतको मृत्यु भयो ।

Tags :
प्रतिक्रिया दिनुहोस