गुनासो व्यवस्थापनका सन्दर्भमा ‘हेलो सरकार’ र नागरिकका अपेक्षा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

गुनासो व्यवस्थापनका सन्दर्भमा ‘हेलो सरकार’ र नागरिकका अपेक्षा


२० जेष्ठ २०७८, बिहिबार


पृष्ठभूमि
‘गुनासो व्यवस्थापन’ सुशासनको अभिन्न अङ्ग हो। यस विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयलगायतका विभिन्न मन्त्रालय तथा अन्य केन्द्रीय निकायमा प्राप्त हुने विभिन्न किसिमका जनगुनासो र सुझावहरूको उचित सुनुवाइ गर्न र मन्त्रालयबाट हुने नीतिगत निर्णयको कार्यान्वयन सम्बन्धमा जानकारी लिँदै शासकीय व्यवस्थामा सुधार गरी जनमुखी प्रशासन व्यवस्थाको प्रवर्द्धन गर्नका लागि नेपाल सरकारका केही नीतिगत र संरचनागत व्यवस्थाहरू रहेका छन्। सुशासन ( व्यवस्थापन तथा सञ्चालन ) ऐन, २०६४ को दफा ३१ र सुशासन ( व्यवस्थापन तथा सञ्चालन ) नियमावली, २०६५ को नियम २० ले गरेको व्यवस्थालाई प्रभावकारी बनाउन हेलो सरकार कक्ष सञ्चालन निर्देशिका, २०६८ बमोजिम मिति २०६८ कार्तिक १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा हेलो सरकार कक्ष स्थापना भई कार्य सञ्चालन भइरहेको छ।

तत्कालीन अवस्थामा सञ्चालनमा आएको गुनासो व्यवस्थापनको विद्युतीय पोर्टलमा सबै मन्त्रालयहरू र अन्य केन्द्रीय निकायहरुमात्र आबद्ध गरिएकोमा नयाँ शासकीय संरचना बमोजिम तीनै तहका सार्वजनिक निकायहरूको कामकारबाहीका बारेमा प्राप्त हुने जनगुनासो हरूलाई सम्बोधन गर्न तीनै तहका निकायहरू आबद्ध हुने गरी र सामाजिक सञ्जालबाट समेत प्राप्त हुने गुनासो सम्बोधन हुने गरी वि सं २०७६ साल साउन १ गते बाट लागु हुने गरी गुनासो व्यवस्थापनको नयाँ विद्युतीय पोर्टल स्थापना भई सञ्चालनमा आएको छ। उक्त विद्युतीय पोर्टलमा करिब तीन हजार सार्वजनिक निकायहरू आबद्ध गरी कार्यालय प्रमुख र कार्यालयले तोकेको गुनासो सुन्ने अधिकारीको नाम तथा सम्पर्क नम्बर समेतको विवरणको आधारमा संजालीकरण गरिएको छ ।

उद्देश्य
सार्वजनिक निकायले वितरण गर्ने सेवा सुविधामा भेदभाव भएको वा वञ्चित गरिएको, सार्वजनिक निकायहरूबाट प्रदान गरिने सेवा सुविधा प्राप्त गर्न अवरोध वा बाधा पुगेको र सार्वजनिक निकायको गैर कानुनी क्रियाकलापबाट कुनै पनि संस्था वा व्यक्तिलाई हानी-नोक्सानी भएका जस्ता सवालहरू, जनताका गुनासा र सुझावहरूको उचित सुनुवाइ द्वारा शासकीय व्यवस्थामा सुधार गरी नागरिकमुखी प्रशासन व्यवस्था प्रवर्द्धन गर्नु हेलो सरकार शाखाको उद्देश्य रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २४ सै घण्टा सञ्चालनमा रहने गरी हेलो सरकार कक्षको स्थापना गरी कार्य सञ्चालन गरिएकोमा हाल बिहान ७ बजे देखि राती ९ बजे सम्म दुई सिफ्टमा सेवा सञ्चालन गरिएको छ।हेलो सरकार शाखामा घटना/दुर्घटनाको बारेमा जानकारी दिन, उद्धारको लागि सहायता माग गर्न, महिला हिंसाको घटनाको बारेमा सूचना दिन, सार्वजनिक सेवाको विषयमा गुनासा वा सुझाव दर्ता गराउन, र सार्वजनिक सेवा प्रवाहमा देखिएका विकृति, विसङ्गति र अनियमितताका बारेमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

कक्षको टोल फ्री नम्बर, फ्याक्स, ई-मेल, फेसबुक, ट्विटर, भाइबर, कार्यालयको गुनासो प्रणालीमा आबद्ध वेबसाइट, नागरिक एप लगायतका विद्युतीय माध्यममा गुनासो पठाएर वा सम्पर्क गरेर, पत्र वा निवेदन पठाएर,र आफैँ उपस्थित भएर समेत गुनासो, सुझाव तथा उजुरी दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

‘हेलो सरकार’ को कार्य क्षेत्र
टेलिफोन, सामाजिक सञ्जाल, पत्र, फ्याक्स र इमेललगायत माध्यमहरूबाट प्राप्त गुनासा, सुझाव एवं उजुरीहरू सङ्कलन गर्ने र अभिलेख राख्ने, सङ्कलित गुनासा र सुझावहरू अध्ययन गरी प्राथमिकता निर्धारण गरी निर्देशन सहित सम्बन्धित निकायमा पठाउने गरिएको छ। प्रधानमन्त्री एवं मुख्यसचिवलाई सम्बोधन गरी प्राप्त भएका गुनासा, सुझाव एवं उजुरीहरू सम्बन्धित तहमा पेस गरी निर्देशन बमोजिम कार्यार्थ सम्बन्धित निकायमा पठाउने, सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएका गुनासा एवं उजुरीउपर भएको कारबाहीको पुनः ताकेता गर्ने, हेलो सरकारमा आएका सम्पूर्ण गुनासा तथा सुझावहरूको तथ्याङ्क भण्डार सुरक्षित राख्ने , हेलो सरकार कार्यक्रमको कुशल विद्युतीय नेटवर्क (सञ्जाल) स्थापना गर्ने, सङ्घीय संरचना अनुरूप हेलो सरकारका कार्यक्रमलार्इ प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्न समन्वय र सहजीकरण गर्ने लगायतका कार्यहरू यस शाखाले गर्दै आएको छ।

‘हेलो सरकार’ को कार्य सम्पादन र प्राप्त नतिजा : केही प्रतिनिधि मामिलाहरू
२०७६ साल श्रावण १ देखि २०७८ ज्येष्ठ १८ गते सम्ममा विभिन्न माध्यमबाट प्राप्त गुनासाहरू सम्बन्धित निकायमा पठाउन उपयुक्त देखि आवश्यक कार्यार्थ पठाइएका ८,७६० गुनासो तथा उजुरीहरू मध्ये ५८४६ (६६.७४%) गुनासो सम्बोधन गरी फर्छ्यौट गरिएको अवस्था छ। जसमध्ये केही महत्त्वपूर्ण गुनासोहरू र तिनको व्यवस्थापनको लागि ‘हेलो सरकार मार्फत’ भएका कार्यहरूको सम्बन्धमा चर्चा गर्नु सान्दर्भिक देखिन्छ।

मामिला – १
· गुनासोकर्ताको नाम : पेमा दोर्जे तामाङ,

· गुनासोकर्ताको गुनासो : म एक दुवै खुट्टा नभएको अपाङ्गता भएको व्यक्ति हुँ । मैले २०६९ सालमा गोदावरी न. पा. वडा नं १ दमैटारमा ४ आना जग्गा कि. नं १६८ घर सहित किनेर बसोबास गर्दै आएकोमा २०७२ को भूकम्पले मेरो घर पूर्ण रूपमा क्षति भएपछि म टहरो बनाई बस्दै आएको थिएँ। अहिले मैले उक्त टहरो भत्काई नयाँ घर निर्माण गर्न भनी सिमेन्ट बालुवा रड समेत झारी घर बनाउन खोज्दा मेरा सदियार कमल बहादुर खड्काले अवरोध सिर्जना गरी जग भत्काउने साथै सामान फालिदिने र कामदारलाई समेत धम्की दिई यसको घर बनाउन आएमा तिमीहरूको समेत ज्यान जोखिममा पर्ला भनेपछि कामदार पनि डरले नआएको अवस्था छ। यसरी मेरो नापी र नक्सामा भएको र लालपुर्जा समेत भएको जग्गामा मैले किन घर बनाउन नपाउने हो म साह्रै अन्यायमा परे मलाई न्याय चाहियो। मैले त्याहाका भद्र भलाद्मी मेयर सिडिओ साव सबैलाई गुहार्दा पनि प्रहरी आई तपाईँहरू आपसमा मिल्नुहोस् मात्र भनेर फर्किनु भयो। यसरी दोषीलाई कारबाही नगरी आपसमा मिल्नुहोस् मात्र भनेर समस्याको समाधान हुन सकेन। दोषीलाई तुरुन्त कारबाही गरी मलाई न्याय दिलाइयोस् ।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : नियमानुसार गुनासोको सम्बोधन गरी यस कार्यालयलाई जानकारी दिनु हुनुका लागि जिल्ला प्रशासन कार्यालय, ललितपुरमा निर्देशन दिइएको।

· कार्यान्वयनको अवस्था : जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट जानकारी प्राप्त भए अनुसार समस्या समाधान भई आफ्नो जग्गामा घर बनाएर भोग चलन गरी बसी सकेको साथै हाल कुनै समस्या नरहेको।

मामिला – २
· गुनासोकर्ताको नाम : उज्ज्वल पौडेल

· गुनासोकर्ताको गुनासो : मेरो घर बाहिर रहेको विद्युतको ट्रान्सफर्मरबाट विगत १ महिना देखि तेल चुहिरहेको छ, उक्त ट्रान्सफर्मरबाट चुहिएको तेल मेरो घरको कम्पाउन्डभित्र चुहिएको छ, यस विषयमा सम्बन्धित निकायमा गएर गुनासो टिपाई पनि सकियो फोन पनि सधैँ जस्तो गर्छु। जवाफमा फाइल माथि गएको छ मात्र भन्नुहुन्छ ।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : समस्या समाधानका लागि नेपाल विद्युत् वितरण केन्द्र, कुलेश्वरमा टेलिफोनबाट जानकारी गराइएको ।

· कार्यान्वयनको अवस्था : नेपाल विद्युत् वितरण केन्द्र, कुलेश्वरबाट जानकारी प्राप्त भए अनुसार ट्रान्सफर्मर बदली गरी सकेको ।

मामिला – ३
· गुनासोकर्ताको नाम : खेम चन्द्र भण्डारी

· गुनासोकर्ताको गुनासो : उद्योग मन्त्रालय ले उद्योग विभाग लाई २०७६ माघ मा सर्वोच्च अदालत को अन्तरिम आदेश अनुसार घरेलु तथा साना उद्योग बि. स. का कर्मचारी लाई तलब भत्ता दिन रकमान्तर गरी उद्योग विभाग लाई पठाइसकेपछि पनि किन तलब भत्ता २०७६ श्रावण देखि नै नदिएको होला?

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : आवश्यक कारबाही गरी यस कार्यालयलाई जानकारी दिन हुनका लागि उद्योग विभागलाई निर्देशन दिइएको।

· कार्यान्वयनको अवस्था : उद्योग बिभागलबाट जानकारी प्राप्त भए अनुसार मिति २०७७/०६/०२ मा २०७७ असार महिनामा घरेलु तथा साना उद्योग समितिका कर्मचारीहरूलाई सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार तलब भत्ता उपलब्ध गराइएको।

मामिला – ४
· गुनासोकर्ताको गुनासो : रू २०० को चुरा पोते रु १००० लिएर धेरै ग्राहक ठगी गरिरहेका छ। https://offeringhappiness.com/product/shrawan-gifts-combo/ यो लिङ्क मा हेर्नु होस् आफै। यो बजारी ठगी को पनि हद भयो।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : अनुगमन गरी आवश्यक कारबाही गर्नुहुनका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा निर्देशन दिएको ।

· कार्यान्वयनको अवस्था : उपभोक्ता संरक्षण ऐन विपरीतको व्यापारिक क्रियाकलाप गरेको देखिँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट रु ५० हजार जरिवाना गरिएको जानकारी प्राप्त भएको।

मामिला – ५
· गुनासोकर्ताको गुनासो : नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष , समाचार मिडिया प्रा.लि.द्वारा सञ्चालित स्थानीय टी.भी. तथा रेडियो गुल्मीका स्टेसन म्यानेजर एवम् कान्तिपुर टिभी का जिल्ला रिपोर्टर नवराज भुसालले अवैध रूपमा ड्रोन उडाउँदै स्थानीय तहसँग बार्गेनिङ गरी पैसा असुल्ने गरेको पाइएको छ। महासङ्घ अध्यक्षको हैसियत देखाउँदै केन्द्र र प्रदेशमा आफ्ना मान्छे भएका कारणले अहिले सम्म पनि प्रहरी प्रशासनले कुनै एक्सन ल्याउन सकेको छैन। ड्रोन जिल्लाका विभिन्न स्थान मा उडाएका छन् भने हालै जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर तीन मैदान मा उडाएका थिए। निजलाई छानबिन गरी कानुनी दायरामा ल्याउनको लागी अनुरोध गरिन्छ।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : आवश्यक कारबाही गरी जानकारी दिन हुनका लागि जिल्ला प्रशासन कार्यालय, गुल्मीलाई निर्देशन दिएको ।

· कार्यान्वयनको अवस्था : जिल्ला प्रशासन कार्यालय, गुल्मीले जिल्ला प्रहरी कार्यालय गुल्मीमा गोप्य रूपमा बुझ्दा निजले मिति २०७७/०७/२८ मा उडान अनुमति लिएको भन्ने जवाफ प्राप्त भएको ।

मामिला – ६
· गुनासोकर्ताको नाम : डा. मोह्सीन इद्रीसी

· गुनासोकर्ताको गुनासो : माता सरस्वती खानेपानी प्रा.लि., काठमाडौँको खानेपानीको जार किनेर घरमा लैजाँदा खानेपानीको नखोलिएकै अवस्थामा जारको पानीमा फोहोर देखिएको र उक्त जारको पानी पिउनको लागि अयोग्य भएको।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : तत्काल अनुगमन गरेर आवश्यक कारबाही/निर्देशन गर्नुहुन भनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग मा निर्देशन दिइएको।

· कार्यान्वयनको अवस्था : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग विभागबाट अनुगमन गरी रु २,००,००० रुपैयाँ जरिवाना भएको जानकारी प्राप्त भएको।

मामिला – ७
· गुनासोकर्ताको गुनासो : नासल नान प्रो इन्फेन्ट फरमुला पाउडर’ नामको बच्चाले खाने दूध पाउडरको बट्टामा उल्लेखित मूल्य ६१०।- रहेको दराज अनलाइनले उक्त मूल्य भन्दा झन्डै दुई गुणा रकम रु १८७४।- लिएकोले तत्काल अनुगमन गरी आवश्यक कारबाही हुन।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : आवश्यक कारबाही गरी यस कार्यालयलाई जानकारी दिनुहुनका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई निर्देशन दिएको।

· कार्यान्वयनको अवस्था :- वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट अनुगमन गरी रु. १५,००० रुपैयाँ जरिवाना भएको जानकारी प्राप्त भएको ।

मामिला – ८
· गुनासोकर्ताको नाम : रोहिन भण्डारी

· गुनासोकर्ताको गुनासो : रुपन्देही जिल्लाको सुद्धोधन गाउँपालिका वडा न. ३ सखुवानी मा रहेको रुपन्देही जिल्ला सियारी गाउँपालिका सँग सिमाना जोडिएको बेल्बास भैरहवा सडक सँगै रहेको, औद्योगिक क्षेत्रको नाममा दर्ता भएको सरकारी जग्गामा सोही जग्गा भोग गर्दै आएका भेषराज न्यौपानेका छोरा मेघराज न्यौपानेले सरकारी जग्गामा कुनै पनि किसिमको स्थायी व्यक्तिगत घर संरचना निर्माण गर्न नपाइने नियम लाई लत्त्याउँदै सोही सुद्धोधन गाउँपालिका वडा न.३ का वडा प्रमुखसँगको मिलेमतोमा ठुलो घरको निर्माण गर्न लागेको हुँदा सो ठुलो स्थायी संरचनाको निर्माण कार्य तत्काल स्थगित गराई सरकारी सम्पत्तिको सुरक्षा गर्न हुन विनम्र अनुरोध छ।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : आवश्यक कारबाहीका लागि सुद्धोधन गाउँपालिका लाई निर्देशन दिइएको ।

· कार्यान्वयनको अवस्था : सुद्धोधन गाउँपालिकाबाट जानकारी प्राप्त भए अनुसार निर्माण कार्य रोक्का गरिएको।

मामिला – ९
· गुनासोकर्ताको गुनासो : One of my relative (myThulomami) Durga Bhattarai(women) from Chakraghatti,Sunsari,Nepal has been missing since 10/07/2020.Before 10/07/2020 we are communicating to her through imo app. She was doing a job as a house made in kuwait. It’s been one and half year she is doing a job in kuwait. On 09/07/2020 she was explaining about her physical torturein house where she does a job. They didin’t provide food to her.They capture her passport also. since she is not providing a job salary since 4/5 months.They always threaten her to kill. So,It is my kind request to the hello sarkar to search her and bring back to her native as soon as possible. Home Address: chakraghatti, barahakshetra-06, sunsari,Nepal.

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : यस सम्बन्धमा तुरुन्त आवश्यक कारबाही तथा छानबिनका लागि पहल गरी यस कार्यालयमा जानकारी पठाउनका लागि परराष्ट्र मन्त्रालयलाई निर्देशन भएको।

· कार्यान्वयनको अवस्था : परराष्ट्र मन्त्रालयबाट जानकारी प्राप्त भएअनुसार नेपाली राजदूतावास कुवेतबाट निज श्री दुर्गा भट्टराई हाल दूतावासकै सुरक्षित गृहमा राखिएको र चाँडै नेपाल फर्कने प्रक्रियामा रहनु भएको जानकारी प्राप्त भएको।

मामिला – १०
· गुनासोकर्ताको नाम : गुन राज लुइँटेल,

· गुनासोकर्ताको गुनासो : कपनको सताले देखि खरेचोकको बाटोमा पर्ने ढलको ढकन नलगाई बाटोमा दुर्घटना हुनसक्ने हुँदा छिटै मर्मत गर्नुपर्ने।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : काठमाण्डौं महानगरपालिकामा ध्यानाकर्षण गरिएको|

· कार्यान्वयनको अवस्था : काठमाण्डौं महानगरपालिकाबाट जानकारी प्राप्त भए अनुसार उक्त बाटोको मंगालहरूमा ढकन राखिएको।

मामिला – ११
· गुनासोकर्ताको नाम : सुजात परियार,

· गुनासोकर्ताको गुनासो : समाखूसी को ग्रैंडी हस्पिटल जानी बाटोमा पाइप लाइन को काम सुरु गरेको ४ महिना भएको, बाटो को हालत खराब रहेको जसले गर्दा सर्वसाधारणको जीवनमा कष्ट रेहेको।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : काठमाण्डौं महानगरपालिकामा ध्यानाकर्षण गरिएको।

· कार्यान्वयनको अवस्था : काठमाण्डौं महानगरपालिकाबाट जानकारी प्राप्त भए अनुसार मर्मत कार्य भइसकेको।

मामिला – १२
· गुनासोकर्ताको नाम : मेनका कुमारी पोखरेल/नवराज आचार्य

· गुनासोकर्ताको गुनासो : दिव्यश्वरी जग्गा एकीकरण आयोजना दिव्यश्वोरी मनोहरा भक्तपुरबाट खरिद गरेको ८ आना जग्गा र आयोजनाको मापदण्ड अनुसार बाटोमा पर्ने जग्गा कटाइ बाँकी जग्गा आयोजनाले नयाँ कित्ता नं. ४२२ कायम गरी १८४.४२ वर्ग मि. जग्गा आयोजनाले मालपोत कार्यालय भक्तपुरबाट रजिस्ट्रेसन पास गरी गुनासोकर्ताको नाममा स्थायी जग्गा धनी पुर्जा समेत प्राप्त भइसकेको र उक्त आयोजना भित्र धमाधम घरहरू निर्माण भइरहेको हुँदा उक्त कित्ता नं. ४२२ जग्गामा घर बनाउन सुरु गर्न लाग्दा वैद्य थरका व्यक्तिहरूले अवरोध खडा गरेको र गुनासोकर्ताले घर बनाउन अवरोध खडा गर्‍यो भनी पटक पटक मौखिक अनुरोध गर्दा र लिखित निवेदन समेत दिँदा दिव्यश्वरी जग्गा एकीकरण आयोजना दिव्यश्वोरी मनोहरा भक्तपुरबाट जग्गा खाली गर्ने तर्फ ठोस कारबाही नभएकोले अभिलम्ब उक्त कित्ता नं. जग्गा खाली गराइ घर निर्माण गर्नको लागि आवश्यक व्यवस्था मिलाइ दिनु पर्‍यो ।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : यथाशीघ्र आवश्यक कारबाही गरी यस कार्यालयलाई जानकारी दिनुहुन काठमाडौँ उपत्यका विकास प्राधिकणलाइ निर्देशन दिइएको ।

· कार्यान्वयनको अवस्था : काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट जानकारी प्राप्त भए अनुसार उक्त जग्गा खाली गराई जग्गा धनिले हाल घर निर्माण कार्य सुरु गरी सकेको।

मामिला – १३
· गुनासोकर्ताको गुनासो : धरानको सङ्घीय प्रहरी इकाई कार्यालयमा प्रमुख रहेका एसएसपी राणाविरुद्ध यौन शोषणको गम्भीर आरोप लागेको छ। यौन शोषणको आरोपकै कारण पूर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारमा बस्न बाध्य छन्। महिलामाथि हुने यौन हिंसा विरुद्ध कार्यक्रम नै गरिरहेको नेपाल प्रहरीले आफ्ना एक उच्च अधिकृतले गरेको यौन शोषणको उजुरीलाई किन गुपचुप राख्यो र छानबिन गरेन भन्ने प्रश्न उब्जिएको छ। त्यसमाथि पनि गृह मन्त्रालयले कारबाही गर्नु भनी दिएको लिखित निर्देशनलाई त झन् प्रहरी मुख्यालयले थन्काइदिएबाट प्रहरी नेतृत्व राणालाई जोगाउने पक्षमा छ भन्ने कुरा बुझ्न सकिन्छ। राणामाथि गत मङ्सिर १७ गते गृह मन्त्रालयले आवश्यक अनुसन्धान तथा कारबाही गर्न प्रहरी मुख्यालयलाई चिठी पठाएको थियो। आज मंगलबार दस दिन बित्दा समेत राणाउपर कुनै छानबिन भएको छैन। राणा अहिले पनि धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयमा नै कार्यरत छन्। यस्तो उजुरीउपर प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहेको ‘छानबिन तथा प्रहरी निरीक्षणालय’ ले अनुसन्धान र कारबाहीको सिफारिस गर्छ ।

निरीक्षणालयका प्रमुख रहेका डिआइजी मनोज न्यौपानेले बिदामा रहेको भन्दै उम्कने प्रयत्न गरे । ०४९ सालमा प्रहरी निरीक्षक पदबाट जागिर सुरु गरेका राणाले आफूमाथि यौन शोषण गरेको भन्दै छानबिन लागि गृह मन्त्रालयमा उजुरी दिएसँगै मन्त्रालयले प्रहरी मुख्यालयलाई कारबाहीका लागि पत्र पठाएको थियो । राणा डिएसपी हुँदा देखि नै कुनै न कुनै रूपमा सुनसरीमा कार्यरत रहेका छन्। तालुकदार मन्त्रालयले दिएको लिखित निर्देशनसमेत प्रहरी मुख्यालयले रद्दीको टोकरीमा थन्काइदिएको छ। आफ्नो निर्देशन छानबिन नभएपछि तालुकदार मन्त्रालय ले पनि पुनः सोधपुछ गर्नुका पुनः सोधपुछ गर्नुका साटो चुप लाग्नुले कतै यो घटना दबाउन खोजिएको त होइन भन्ने प्रश्न पीडित पक्षबाट उठ्न थालेको छ।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : अनुगमन गरेर आवश्यक कारबाही गर्नका लागि गृह मन्त्रालयलाई निर्देशन गरिएको।

· कार्यान्वयनको अवस्था : गृह मन्त्रालयबाट जानकारी प्राप्त भए अनुसार लैङ्गिक संवेदनशील हुनुपर्ने तथा आचरण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेमा सो नगरी आफ्नो पदीय मर्यादा विपरीत कार्य गरेकोले निजलाई प्रहरी नियमावली बमोजिम एक तलब वृद्धि (ग्रेड) रोक्का गर्ने सजाय भएको।

मामिला – १४

· गुनासोकर्ताको नाम : महेश तिमिल्सिना

· गुनासोकर्ताको गुनासो : स्थानीय एग्रोभेटले १.रासायनिक मलको कृतिम अभाव सृजना गरेको २. अनुदानमा बिक्री गरिनुपर्ने मलाइ उच्च मुल्रयमा बिक्री गरेको !!! ( युरिया-१२५० प्रति बोरा, डिएपी – 3000 प्रति बोरामा बिक्री गरिएको ) ३. जाल्साझी गरी भ्रम सृजना गरी गलत मल बिक्री गरिएको 4. अनुमती पत्र बिना मल बिक्री गरिएको।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : कृषि मल सम्बन्धी गुनासो सम्बोधनका लागि पठाईएको र आवश्यक अनुगमन गरी जानकारी दिन हुनका लागि गोदावरी नगरपालिकालाई निर्देशन दिइएको।

· कार्यान्वयनको अवस्था : गोदावरी नगरपालिकाबाट जानकारी प्राप्त भए अनुसार नगरपालिकाले सम्बन्धित व्यक्तिको पसलमा स्थलगत रूपमा नै अनुगमन गरिएको , निजले नेपाल विषादी समितिको मापदण्ड बमोजिम आवश्यक ज्ञान रहेको छ, भन्ने ब्यहोरा भएको प्रमाणपत्र विषादी समितबाट मिति २०७३/०४/१३ , प्रमाणपत्र नं. १११९७ प्राप्त गर्नुभएको। निजको पसलमा ३/४ बोरा रासायनिक मल रहेकोमा घरायसी प्रयोजनको लागि राखिएको भनेर स्षष्टिकरण पत्रमा लेखि बुझाउनुभएको र यस नगरपालिकाबाट अब देखि कुनै पनि प्रयोजनको लागि किनेको मल पसलमा नराख्ने सम्झौता पत्रमा हस्ताक्षर गराइएको।। निजले यस नगरपालिकामा व्यवसाय दर्ता नगरीकन र कर कार्यालयबाट स्थायी लेखा नम्बर नलिईकन व्यवसाय गर्दै आएकोमा अनुगमन पश्चात् यस नगरपालिकाबाट व्यवसाय दर्ता (दर्ता नं. ४१, मिति २०७७/१०/०७) र कर कार्यालयबाट स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र (स्था.ले.नं.-६१४९९३१४१, मिति २०७७/१०/१६) प्राप्त गरी निजलाई करको दायरामा समावेश गरिएको ।

मामिला – १५
· गुनासोकर्ताको गुनासो : सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को (१) अनुसार ९८ दिन प्रसूति बिदा पाउनु पर्नेमा विशेष सेवा नियमावलीमा ६० दिन मात्र बिदाको प्रावधान रहेको छ भनी पाउनु पर्ने ९८ दिन बिदा स्वीकृत नगरिएको हुँदा आवश्यक कारबाही गरी पाऊँ।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : आवश्यक कारबाहीका लागि राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिइएको ।

· कार्यान्वयनको अवस्था : राष्ट्रिय अनुसन्धान विभागबाट जानकारी प्राप्त भए अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन‚ २०७५ को दफा १३ (१) अनुरूपकै ९८ दिन सुत्केरी बिदा स्वीकृत गरिएको।

मामिला – १६
· गुनासोकर्ताको नाम : नोदनाथ त्रिताल

· गुनासोकर्ताको गुनासो : कीर्तिपुर नगरपालिका – ४ भत्केपाटीभन्दा केही माथि दोबाटे पसल नजिकै यो सानो घरमा अन्दाजी ६० कटेका बाबुलाल श्रेष्ठ नामका वृद्ध, अशक्त मानिस उद्धारको पर्खाइमा छन्। दुई तीन दिनदेखि यो बाटैमा सटेको कटेजमा चिसोमा लडिरहेको ढोकाबाट टाउको मात्र बाटैबाट देखिन्छ। ज्यान जाने अवस्थामा रहेकाले तुरुन्त उद्धार गरियोस्।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन: आवश्यक कार्यार्थ कीर्तिपुर नगरपालिकालाई निर्देशन दिइएको।

· कार्यान्वयनको अवस्था :- कीर्तिपुर नगरपालिका र मानव सेवा आश्रम बिच समझदारी भई निज असहाय वृद्धको उद्धार गरी मानव सेवा आश्रमको जिम्मा लगाइएको।

मामिला – १७
· गुनासोकर्ताको नाम : जुना केसी

· गुनासोकर्ताको गुनासो : साबिक स्यूचटार 3 हाल नागार्जुन नगरपालिका वडा नं 9 बुढाथोकी गाऊँ स्थित मुख्य सडकमा रहेको 2 वटा बिजुलीका पोलहरू जीर्ण भई ढल्ने अवस्थामा पुगे पश्चात् उक्त स्थानमा नयाँ पोल राखी केही तारहरू सारे पनि पुराना पोलका सबै तारहरू नयाँ पोलमा नसारी जीर्ण खम्बाहरू समेत यथा स्थानमै तारले अकडिएर बसेको अवस्थामा लामो समय देखि रही आएकाले उक्त जीर्ण पोलहरू जहिले सुकै ढली भौतिक एवम् मानवीय क्षति समेत हुन सक्ने भएकाले उक्त जीर्ण पोलहरू हटाउन वडा कार्यालयमा पटक पटक लिखित रूपमै अनुरोध गर्दा समेत बेवास्ता गरिएको कारणले गर्दा ती जीर्ण पोलहरू समयमै हटाई सम्भाव्य क्षति हुन नदिनुहोला ।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : आवश्यक कार्यार्थ नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन गरिएको ।

· कार्यान्वयनको अवस्था : कुशेश्वर वितरण केन्द्रबाट प्राप्त जानकारी अनुसार उक्त पोलहरू हटाइसकिएको।

मामिला – १८
· गुनासोकर्ताको नाम : बम बहादुर मुसहर

· गुनासोकर्ताको गुनासो : मेरो घरमा मिटर जडान गर्दा एउटा मात्र MCB राखिदिनु भएको छ। वास्तवमा मिटर जडान गर्दा दुई वटा MCB राख्नुपर्ने नीति रहेको छ। यस बिचमा कर्मचारी को हेलचेक्र्याइँ भन्नु कि भ्रष्टाचार भन्नु, सम्बन्धित निकायबाट सुनुवाइ नभएकाले म गुनासो लेख्न बाध्य भएँ।

· हेलो सरकार शाखाबाट सम्बन्धित निकायमा गएको निर्देशन : आवश्यक कार्यार्थ नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको।

· कार्यान्वयनको अवस्था : बुटवल वितरण केन्द्रबाट प्राप्त जानकारी अनुसार गुनासोकर्ताको घरमा MCB जडान गरी समस्या समाधान भैसकेको।

निष्कर्ष
‘हेलो सरकार’ मार्फत सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक निकायहरूको गुनासो व्यवस्थापन सम्बन्धी भए गरेका कार्यहरूको नियमित अनुगमन गर्ने गरिएको छ। गुनासो व्यवस्थापन सफ्टवेयर स्तरीकरण गरी तीनै तहका निकायहरू आबद्ध भएका छन् । यो पृष्ठभूमिमा सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रही कार्यसम्पादन भएको र सम्बन्धित निकायहरूमा पठाइएका गुनासो सम्बोधनका लागि निरन्तर फोन तथा पोर्टल मार्फत ताकेता गर्ने गरिएको भएता पनि अधिकांश मन्त्रालय तथा विभागहरूले गुनासो सम्बोधन गर्नुको सट्टा फरवार्डिंग एजेन्सिजका रूपमा कार्य गर्ने, नोडेल अधिकृतहरूको सरुवा तथा बढुवा हुनासाथ तत्काल अर्को नोडेल अधिकृतलाई जिम्मेवारी दिई पोर्टलमा अपडेट नहुँदा र नोडेल अधिकृतलाई कार्यान्वयनका लागि आवश्यक लजिस्टिक उपलब्ध नहुनु लगायतका प्राविधिक र अन्य व्यवस्थापकीय कारणले गर्दा अपेक्षित हिसाबले जनताका पीरमर्का तथा जनगुनासो र सुझावहरूको उचित सुनुवाइ गर्न र शासकीय व्यवस्थामा यथेष्ट सुधार गरी जनमुखी प्रशासन व्यवस्था प्रवर्द्धन गर्ने कार्यमा कतै ढिलाइ भएको त होइन ? यस उपर निर्मम समीक्षा गरी गुनासो व्यवस्थापन र सुशासन प्रवर्धनमा सबै सरकारी निकायहरूबाट यथेष्ट पहलको अपेक्षा गरिएको छ। यस प्रकारका तमाम जटिलताका बाबजुद पनि शाखामा प्राप्त गुनासाहरू मध्ये झन्डै ६७% गुनासा सम्बोधन भएको अवस्था छ, जसलाई सकारात्मक रूपमा लिनु पर्दछ र आगामी दिनमा शत प्रतिशत गुनासो सुनुवाइको लक्ष्य प्राप्त गर्दै गुनासो रहित सार्वजनिक सेवा प्रवाह सम्मको यात्रा तय गर्नुपर्ने देखिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस