जम्मु–कश्मिरमा भाजपा नेता सोमनाथ पंडिताको गोली हानी हत्या « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जम्मु–कश्मिरमा भाजपा नेता सोमनाथ पंडिताको गोली हानी हत्या


एजेन्सी

२० जेष्ठ २०७८, बिहिबार


श्रीनगर । भारतको जम्मु–कश्मिरमा भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ।

बुधबार राति भाजपा नेता तथा त्राल नगरका पार्षद् राकेश सोमनाथ पंडितामाथि पुलवामामा गोली हानिएको जम्मु–कश्मिर प्रहरी प्रमुख विजयकुमारले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार आफ्ना साथीसँग भेटघाट गरिरहेका उनलाई तीन जना अज्ञात बन्दुकधारीले गोली हानेका थिए । गोली लागेर घाइते भएका पंडिताको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। गोली लागेर उनकी साथीकी छोरी पनि घाइते भएकी छन्। गम्भीर अवस्थामा रहेकी उनको अस्पतालमा उपचार जारी छ।

यसअघि नै पंडिताले प्रहरीसँग आफूलाई सुरक्षा खतरा रहेको बताएका थिए। प्रहरीले उनको सुरक्षामा दुई जना अंगरक्षक खटाइदिएको थियो। बुधबार राति उनी अंगरक्षक नलिएर साथीलाई भेट्न गएको बताइएको छ।

एक वर्षयतामात्रै जम्मु–कश्मिरमा पाँच जना भाजपा नेताको हत्या भएको छ। केन्द्र सरकार चलाइरहेको भाजपा नेताहरूको सुरक्षालाई मध्यनजर गरेर उनीहरूलाई श्रीनगरमा सुरक्षित आवासको पनि व्यवस्था गरिएको छ।

हत्याको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस