नेपालगन्ज भन्सारमा राजस्व सङ्कलनमा १०९ प्रतिशत वृद्धि  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपालगन्ज भन्सारमा राजस्व सङ्कलनमा १०९ प्रतिशत वृद्धि 


प्रशासन संवाददाता

१८ जेष्ठ २०७८, मंगलबार


बाँके । बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्वमा वृद्धि हुँदा रु १७ अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्ष २०७७/७८ मा सरकारले तोकेको लक्ष्य रु १८ अर्ब रहेको थियो । गत आव २०७६/७७ मा  १४५ प्रतिशत राजस्व वृद्धि भई रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो ।

गत वर्षको प्रगतिका आधारमा सरकारले यस वर्ष रु तीन अर्ब थप गर्ने लक्ष्य राखेको थियो । राजस्व सङ्कलन गर्न जिम्मेवारी दिँदा आफूहरुलाई मन्त्रालय र विभागले तोकिएको लक्ष्य बाँकी डेढ महिनामा हासिल हुने भन्सार अधिकृत भण्डारीले बताए ।

उनका अनुसार यस वर्षको राजस्व सङ्कलन वृद्धिदर हेर्दा १०९ प्रतिशतले हासिल भएको छ । सबैभन्दा बढी राजस्व सङ्कलन हुने सीमा नाकाको रुपमा रहेको जेठ १५ गतेसम्म मात्रै  रु एक अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कोरोनाको प्रतिकूल समयमा पनि राजस्व चुहावट हुन नदिँदा राजस्वमा वृद्धि भएको उनको भनाइ छ ।

उनले भने, ‘अनुगमन पद्धतिलाई बलियो बनाएका छौँ, त्यसैले गर्दा राजस्व सङ्कलन गर्न  सफल भएको छौँ ।’ भारतीय सीमा नाका भएको हुनाले भारतबाट आयात हुने सबैभन्दा बढी औद्योगिक सामान, पेट्रोलियम पदार्थ, खाद्यान्नजस्ता सामग्री यही नाका हुँदै आयात हुने गर्दछ भने नेपालबाट जङ्गली जडीबुटीहरु, सुगन्धित  तेलहरु निर्यात हुने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस