गीता : शिक्षण सिकाइको मार्गदर्शन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गीता : शिक्षण सिकाइको मार्गदर्शन


१८ जेष्ठ २०७८, मंगलबार


गीता विश्व प्रख्यात महाकाव्य महाभारतको छैठौँ पर्व भीष्मपर्वको एक अंश हो । महाभारत युद्धको उद्घाटन चरणमा रथी अर्जुन र सारथी श्रीकृष्णबीच झन्डै एक मुहूर्त अर्थात् अठचालीस मिनेट (कहीँ पैँचालीस मिनेट भनेको पनि पाइन्छ )को संवाद नै गीता हो । महाभारत युद्धलाई इतिहासमा भएका युद्धहरूमध्येको सबैभन्दा ठूलो युद्ध मानिन्छ । यो युद्ध छिनको छिनको आवेगमा भएको थिएन । एक आपसको घोचपेचको लामो शृङ्खलाले यो युद्ध निम्त्याएको थियो ।

युद्धले कसैको जय हुँदैन भन्ने कुरा त्यस बेला पनि थाहा थियो । युद्ध रोक्ने प्रयास नभएको पनि होइन । तर विनाशको समयमा उल्टो बुद्धि हुन्छ भने जस्तो त्यहाँ पनि युद्ध रोक्न सकिएन ।

युद्ध निहुँका जरुवा थुप्रै थिए तर मुख्य निहुँ थियो जूवा । जूवामा कपटी पासाका कारणले कौरवले हाम्रो राज्य जिते भनेर गुनासो गर्थे पाण्डवले । जाँड खाने जँड्याहाले भट्टीमा जाँड खान बसेको बेलामा “म उतापट्टि फर्केका बेला मेरो गिलासमा कसैले झुक्याएर जाँड राखिदिएछ । खाइहालियो, त्यसैकारण मलाई ज्यादा नसा लाग्यो र नालीमा लड्न पुगेँ” भनेर गरेको गुनासो जस्तो ।

श्रीकृष्ण र अर्जुनबीचको संवादलाई त्यस बेलाको विशेष दूरदर्शन अर्थात् टेलिभिजन प्रविधिबाट त्यसको प्रत्यक्ष प्रसारण सञ्जयले गरेका थिए केवल धृतराष्ट्रका लागि । त्यसैले यो गीता संवाद श्रीकृष्ण र अर्जुनबीच भएको भए पनि सम्पूर्ण कुरा सुन्नेमा सञ्जय र धृतराष्ट्र पनि हुन् ।

गीतालाई सबै उपनिषद्को सार हो भनी शास्त्रज्ञहरू भन्छन् ।

सर्वोपनिषदो गावो दोग्धा गोपाल नन्दन । पार्थो वत्सः सुधीर्भाेक्ता दुग्धं गीतामृतं महत् ।

“गोठाला रूपी श्रीकृष्णले उपनिषद् रूपी गाई दुहुन्छन् र बाच्छा रूपी पार्थले महान अमृत रूपी दूध पिउँछन्” भन्ने भनाइ निकै प्रसिद्ध छ ।

मानव जीवन दर्शनको अनुपम व्याख्या भएको सूत्रात्मक काव्यकारूपमा गीता विश्व विख्यात छ । जातपात, वर्ण, लिङ्ग, धर्म, सम्प्रदाय आदि सांसारिक विभेदको कुनै पनि गन्धबाट चोखो रहेर रचिएको यो उदाहरणीय ग्रन्थ संसारका सयौँ भाषामा अनुदित छ । कृष्णले म भनेका र कृष्ण हिन्दुका आराध्य देव भएकाले यसलाई हिन्दुको धर्म ग्रन्थ भनिनेबाहेकका धर्मसित जोडिएको अरू प्रमाण केही पनि छैन ।

यहाँ बुझ्नैपर्ने कुरा के छ भने कृष्णले अर्जुनको गुरुको हैसियतले म भनिरहेका छन् । यो कुरा गीता अध्याय २ को ७औँ श्लोकले स्पष्ट गरेको छ । यसभन्दा अगाडि श्रीकृष्ण सारथी अर्जन रथीका हिसाबले संवाद भइरहेको छ भने यसपछि गुरु चेलाको हिसाबले संवाद भएको छ । यस कुरालाई मनन गरेपछि अनेक वाद, धर्म, सम्प्रदायबाट चोखो रहेको ठम्याउन सकिन्छ ।

।। १ ।।

गीता ग्रन्थलाई उत्कृष्ट गुरुचेलाको संवादका रूपमा लिइन्छ । एक ज्यादै हतासिएको विद्यार्थीलाई एक असल शिक्षकले कसरी पथभ्रष्ट हुनबाट जोगाउँछन् भन्ने उदाहरण गीता अध्ययनबाट बुझ्न सकिन्छ ।

कुनै पनि कामका लागि सरिक हुनका लागि आत्मउद्घोषको आवश्यकता पर्छ । यहाँ गीताको अध्याय १ को सुरुमा विभिन्न महारथीहरूले आ-आफ्ना हतियारको जोहोको वर्णन र आ-आफ्ना शङ्ख बजाउनु त्यही आत्मउद्घोषको प्रतीक हो । आत्मामा आत्मबलको शङ्ख नबजी कुनै काम पनि गरिँदैन । यही सन्देश हो शङ्खघोषको ।

ततः श्वेतैर्हयैयुक्ते महति स्यन्दने स्थितौ । माधवः पाण्डवैश्चैव दिव्यौ शङ्खौ प्रदध्मतुः ।। १।१४

“सेता घोडाले युक्त रथमा बसेर श्रीकृष्ण र अर्जुनले जोडसित शङ्ख बजाए ।”

यहाँ पथप्रदर्शकले पनि शङ्ख बजाए, पथिकले पनि बजाए । यहाँसम्म पनि कथनी कर्म नै हो अर्थात् करनी कर्म होइन । किनकि उद्घोष पनि बोल्नु नै हो । यो कर्म क्षेत्रमा प्रवेश गर्नै लाग्दाको कुरा हो । अब करनीको कुरा के हुन्छ हेर्न बाँकी छ । किनकि कथनी र करनी उस्तै हुन्न, फरक हुन्छ भन्ने लोक कहावत नै छ ।

भनिन्छ कमजोर आत्मविश्वासवाला व्यक्तिले काम बिग्रला भनेर कामको सुरुवात नै गर्दैन । मध्यमवालाले काम त सुरु गर्छ तर बीचमा विघ्नबाधा आउँदा बीचैमा छाडिदिन्छ । तर उत्तम आत्मबल भएको व्यक्तिले बडो सोचविचारले काम सुरु गर्छ र बीचमा कस्तै विघ्नबाधा आए पनि छाड्दैछाड्दैन ।

।। २ ।।

कार्यारम्भ गर्नु पहिले आफ्नो क्षेत्र र परिवेशको निरीक्षण, पहिचान गर्नु जरुरी हुन्छ । म कर्ता हुँ, म रथी हुँ भन्ने सोच र उच्च शाहस भएका अर्जुनले सारथी श्रीकृष्णलाई रणस्थलको बीचमा रथ लैजान भन्नुले कार्यक्षेत्रको जानकारी लिने इच्छा भएको देखाउँछ ।

सेनयोरुभयोर्मध्ये रथं स्थापय मेच्युत ।।१। २१

(हे अच्युत, सेनाका बीचमा यो रथ लैजाऊ ।)

जब श्रीकृष्णले रथलाई युद्धभूमिको बीचमा लगेर उभ्याइदिए अनि आफूतिरका र कौरवतिरका सेनालाई अर्जुनले निकै नियालेर हेरे । म के कस्तो हैसियतका व्यक्तिसित लड्नुपर्ने हुनसक्छ भनेर अझ विशेष कौरवतिरका सेनालाई हेरे । यसरी हेर्दा त सबै नाता सम्बन्धका व्यक्तिहरू छन् । यस्ता आफन्तलाई मारेर कस्का लागि राज्य गर्ने ? केका लागि राज्य गर्ने भनेर अर्जुनले गाण्डिव धनु र बाण फ्याकेर लथ्राकलुथ्रुक भएर थचक्क बसे ।

विसृज्यं सशरं चापं शोकसंविघ्नमानस ।। १।४७

(… अर्जनले शोकाकुल मनस्थितिमा धनुर्बाण फाले ।)

अर्जुनको यो अवस्थाले मुख्य गरी दुईवटा सन्देश दिएको छ ।

१. जहिले पनि कथनी र करनी अर्थात् सिद्धान्त र व्यवहारमा फरक हुन्छ । लड्दा मान्छे मर्छन्, मारिन्छन्, आफै पनि मर्न सकिन्छ भन्ने कुरा अर्जुनलाई थाहा नहुने विषयवस्तु थिएन । किनकि अर्जुनको जीवनमा यो पहिलो लडाइँ त थिएन । अनि कौरव पक्षमा कोको लडाका छन् भन्ने कुरा पनि कुनै नजानेको नबुझेको कुरा थिएन । कल्पित सिद्धान्तले त्यस्तो निराशा जगाएको थिएन तर प्रत्यक्ष व्यवहारमा उभिँदा कामका लागि तयारी भएको मनको उत्साह म¥यो । बलशाली हात कामेर धनुबाण हातबाट खसे, खुट्टा गलेर उभिएर जिउ थाम्न नसकी बस्नुपर्ने अवस्था आयो ।

यसले शिक्षक र विद्यार्थी दुवैलाई मनको योजना र कार्यक्षेत्रको वास्तविकता फरक हुन्छ भन्ने कुराको सधै याद राख्नुपर्ने सन्देश दिन्छ । “ए यो त भैहाल्छ नि” भन्ने अति सहजभावले वास्तविक काममा हात हाल्नै लाग्दा यस्तै चित्त गलनको अवस्था सिर्जना हुन्छ । राम्रो उपदेशकको अभावमा शिक्षकले शिक्षण क्षेत्रबाट र विद्यार्थीले आफूले ताकेको विषय क्षेत्रबाट पलायन हुने अवस्था आउँछ । निकै हौसिएको अवस्थामा एक्कासि एक सय असी डिग्रीको परिवर्तन यस्तै दूरदृष्टिको अभाव हो ।

२. यस घटनाले दिएको अर्को महत्वपूर्ण सन्देश “आफ्नो अभिभावक वा शरण लिनेसित मनमा लागेका कुरा खुलस्त भन्नुपर्छ” भन्ने हो । यहाँ अर्जुन विख्यात धनुर्धर भैकन पनि देखावटी सामाजिक इजेतविजेतको वास्ता नगरी श्रीकृष्ण सामु यथार्थ कुरा भन्न लम्पसार परेका छन् र मनका कुरा पोखेका छन् । यसले श्रीकृष्णलाई समाधानका उपाय खोज्न सहज बनाएको छ । समस्या गुम्फित कोठाका झ्यालढोका नखोलेसम्म समस्या राम्ररी पहिचान हुँदैन र समाधानका उपाय सुझाउन सकिँदैन भन्ने कुरा मननयोग्य छ ।

हीनताभासमा गाडिएको व्यक्तिलाई बाहिर निकाल्ने सबैभन्दा राम्रो उपाय उसको आत्महौसलाको जागरण हो । त्यो हौसला केवल ऊ एक्लैसँग सम्बन्धित हुँदैन । उसको नातापाता, कुलकुटुम्बको नसानसासित जोडिएको हुन्छ । त्यसैले कसैलाई हौसाउनका लागि उसको सामाजिक सञ्जालको तथ्यपूर्ण जानकारी राख्नु आवश्यक हुन्छ ।

व्यक्तिले केके कुरामा ज्यादा गर्व गर्न चाहन्छ भन्ने सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौड्यालले भनेका छन्—

विद्याको वयको र बुद्धि बलको ऐश्वर्यको मानको । प्रज्ञाको कुल जातिको इलमको सौन्दर्यको ज्ञानको ।।

तातो बाफ मनुष्यको मगजमा सम्पूर्ण उत्रिदिए । पृथ्वीमा सब देवता घरघरै आएर खेल्ने थिए ।।

शिथिल मानसिकताले लोलाएका अर्जुनलाई हौसाउन श्रीकृष्णले कहिले भरत कुलको श्रेष्ठता सम्झाउँदै भारत भनेका छन् । कहिले पृथा जस्ती वीरङ्गनाका छोरा हौ नि भनेर पार्थ भनी सम्बोधन गरेका छन् । अर्जुनको पराक्रम, वीरता सम्झाउँदै हे शत्रुलाई तपाउने, भगाउने भनेर परन्त भनेका छन् । गीताभरिमा ३८ पटक पार्थ र ४४ पटक कौन्तेय(कुन्तीका छोरा) भनेका छन् । कतिपय ठाउँमा महाबाहु अर्थात् बलिष्ठ बाहु भएका कर्मठ भनेका छन् ।

क्लैब्यं मा स्म गमः पार्थ नैतत्वय्युपपद्यते । छुद्रं हृदयद्रौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ।। २ ।३

(हे पृथापुत्र तिम्रा लागि यो हीनमति नपुङ्सकता र तुच्छ हृदयदुर्बलता सुहाउँदैन । त्यसैले यसलाई त्यागेर उठ ।)

जब व्यक्ति कसैको शरणागतिमा रहन्छ त्यसको मानसिक रापताप शरण लिनेमा सर्छ र ऊ निश्चिन्त बन्छ । त्यसैले त “खाने मकै सकिने धान, थाक्ने बूढो गर्ने जहान” लोककथन बनेको छ । यहाँ बूढो शरण लिनेको प्रतीक हो भने जहान शरणागति हुनेको प्रतीक हुन् ।

आफ्नो मनको दुश्चिन्तन फाल्नुको एक मात्र उपाय असल गुरुको शरणागति हो । त्यसैले अर्जुनले श्रीकृष्णसित नाताभावले, सखाभावले होइन गुरुभावले आफ्ना भावना पोख्दैछन् । नाताका भावले हेर्दा अर्जुन एकतिरबाट श्रीकृष्णका बहिनी ज्वाइँ हुन् भने अर्कोतिरबाट हेर्दा फुपूका छोरा अर्थात् भाञ्जभाइ हुन् । कतिपय ठाउँमा अर्जुनले श्रीकृष्णलाई र श्रीकृष्णले अर्जुनलाई सखा अर्थात् साथी भनेका छन् । तर ती नाता र सखाभावमा शरणागतिको भाव आउँदैन । त्यसैले श्रीकृष्णसित अर्जुन भन्छन्—

कार्पण्य दोषे पहत स्वभावः पृच्छामि त्वां धर्म सम्मूढचेता ।

यच्छ«ेयः स्यानिश्चितं ब्रुहि तन्मे शिष्येतेहं शाधि मां त्वं प्रपन्नम् ।।२।७

(अनेक खालका धर्म र संस्कारले मोहित अन्तःकरणले म कायर र तिरस्कृत स्वभावको भएको छु । मलाई शिष्य सम्झेर कल्याणकारी शिक्षा दिनुहोस् ।)
यहाँ मलाई शिष्य सम्झेर भन्नुको अर्थ मैले हजुरलाई गुरु मानेको छु भनेको कुरा स्पष्ट छ । गुरुको गुरुत्वले शिष्यको लघुत्वलाई खिचेर स्वच्छ सफा बनाइदिन्छ । गुरुत्व बढी भएको वस्तुले कम गुरुत्व भएको वस्तुलाई आफूतिर तान्ने कुरा भौतिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

शरणागतिमा रहेकालाई शरण लिनेले के कसरी संरक्षण गर्छन् भन्ने कुराको उदाहरण यहाँ उल्लेख गर्न सान्दर्भिक हुनेछ ।

कुरो महाभारत भीष्म पर्वको हो । कौरवतिरको सेनापति भीष्म थिए । आठ दिनसम्मको लडाइँमा आफ्नातिर धेरै महारथी मरेका तर पाण्डवतिरका खासै नमरेकाले भीष्मले खासै मन दिएर नलडेको मन शङ्का दुर्योधने लिएको थियो । आठौँ दिनको साँझको युद्धविरामपछि दुर्योधनले सेनापति भीष्मसित गुनासो गर्दै भन्यो— पितामह, हजुरले पाण्डवसित अलि नरम भाव राख्नुहुन्छ । अर्जुनले हाम्रातर्फका थुप्रै सेनाको सर्वनाश पारिसक्यो । यदि यस्तै हो भने म भोलि अर्जुनसित लड्छु र उसलाई मार्छु । के गर्ने ? यस कुरामा हजुरको विचार के छ ?

दुर्योधनको कुरा सुनेर भीष्मले जङ्गिदै भने— लौ भोलि मैले अर्जुनलाई मार्छु तर यौटा सर्त छ “श्रीकृष्णले हतियार उठाएनन् भने” ।

भीष्मको यो प्रतिज्ञा सुनेर दुर्योधन निकै खुसी भयो । भीष्मको प्रतिज्ञा यसै पनि दुर्लङ्घ्य हो त्यसमा पनि दुर्योधनकै सामुन्नेमा श्रीकृष्णले “मैले हतियार उठाउने छैन” भनेका थिए । यहाँ दुई दृढप्रतिज्ञ व्यक्तिको प्रतिज्ञा जुध्यो ।

भीष्मको प्रतिज्ञाको समाचार निकै सन्सनीपूर्ण तरिकाले सर्वत्र फैलियो । यो खबर स्वयं अर्जुनले पनि थाहा पाए र श्रीकृष्णले पनि । श्रीकृष्णलाई निकै ठूलो छटपटी पर्‍यो । भीष्मको प्रतिज्ञा झुठो गराउन निकै गाह्रो हुन्छ ।भोलि अर्जुनलाई कसरी जोगाउने होला भन्ने पीरलोले श्रीकृष्णलाई आधा रातिसम्म नीद लागेन । म एक सारथीको हैसियतको व्यक्तिलाई त यति पीरलो परेर नीद लागेन भने अझ स्वयं मर्नेको विकल्प नभएको व्यक्ति अर्जुनको छटपटी कस्तो होला ? केही सम्झाइबुझाइ गरी आउनुपर्‍यो भनी श्रीकृष्ण अर्जुनको शिविरतिर लागे ।

अर्जुनको शिविर नजिकै पुगेकाश्रीकृष्णलाई रातिमा कतै गलत ठेगानामा आइयो कि भन्ने शङ्का लाग्यो । किनकि त्यो शिविरभित्रको व्यक्ति मजाले घुरीघुरी निदाइरहेको थियो । तर त्यो घुरीघुरी निदाउने व्यक्ति अर्जन नै थिए । यो देखेर श्रीकृष्ण उदेकाए ।

कृष्णले अर्जनलाई उठाएर भने— अरे, भोलि भीष्मले तिमीलाई मार्छु भन्ने प्रतिज्ञा गरेका छन् । भोलिको लडाइँमा कसरी जोगिने भन्ने केके उपाए सोचेका छौ र मजाले घुरीघुरी सुतेका छौ त ?

अनि अर्जुनले निश्चिन्त भावले भने— प्रभु, म सकेसम्म जोगिएर लड्ने कोसिसमा हुनेछु । मारेछन् भने मर्छु । यो मेरोभन्दा हजुरको चिन्ताको विषय हो । यो रातमा मेरो नीद खलबल नगर्नुस् । मलाई सुत्न दिनुस् । यति भन्दै अर्जुन बिछ्यौनामा पल्टिए । यो हो शरणागतिको अनुपम नमुना ।

अर्को दिन अर्जुन र भीष्मको घनघोर युद्ध भयो । भीष्मले अर्जुनलाई शरजालमा पारेर मार्ने लगभग निधो भएपछि श्रीकृष्ण रथबाट ओर्लेर युद्धभूमिमा भाँचिएको रथको पाङ्ग्रो लिएर भीष्ममाथि जाइलागे । भीष्मले मुसुक्क मुस्कुराउँदै बाण वर्षा रोके । शरणागत व्यक्तिको संरक्षण वा उत्थानका लागि शरण लिनेले आफ्नो पतनको समेत प्रवाह गर्दैनन् ।

आज्ञाकारी विद्यार्थीको गल्तीलाई शिक्षकले जिम्मा लिएर जोगाउँछन्, आफू अफ्ठ्यारोमा परेर पनि अभिभावकले आफ्ना बालबालिकाको दोषलाई आफ्नो टाउकोमा थाप्छन् । यसले आफ्ना संरक्षकको महानताबाट पाठ सिक्न ती विद्यार्थी तथा बालबालिकालाई ठूलो अवसर मिल्छ । भोलिका दिनमा आफू शरण लिन सक्ने ठाउँमा पुग्दा यही प्रक्रिया दोहोरिन्छ ।

हामी कुनै गूढ कुरा अर्थात् खास कुरा गर्नुपर्‍यो भने गोप्य ठाउँ खोज्छौँ, एकान्त ठाउँतिर लाग्छौँ । तर श्रीकृष्णले अठार अक्षौहिणी(एक अक्षौहिणी बराबर एक लाख नौ हजार तीन सय पचास सेना) सेनाको भीडका बीचमा राखेर अर्जुनलाई उपदेश गर्दैछन् । एक छिनपछि रगतको भल बग्ने ठाउँ, लडाकुको वास्तविक कार्यस्थलमा । आफन्त हत्याको भावी शोकले आकुलव्याकुल भएर निन्याउरा भएका अर्जुनसित मुसुक्क हाँस्दै श्रीकृष्ण अर्जुनलाई सम्झाउन लाग्छन् ।

गुरु र अभिभावकमा यही छ फरक । अभिभावकले आफ्ना आश्रितको पीरलाई आफूले लिन्छन् र झन् ठूलो आगो बालेर आफै जल्न लाग्छन् । तर गुरुले शिष्यको आगो लिएर सितल पङ्खा घुमाउन लाग्छन् । श्रीकृष्णको मन्द मुस्कान त्यही पङ्खाको सितल पवन हो । गुरुको मुहारमा हाँसो देखेपछि शिष्यलाई लाग्छ वास्तवमा म मनगढन्ते कुरामा रोमल्लिएको रहेछु । यत्ति कुराले पनि शिष्यको पीरको भारी सातसुत्तै घटिहाल्छ । यही कुरा सञ्जयले धृतराष्ट्रलाई यसरी बताउँछन् ।

तमुवाचः हृषिकेशः प्रहसन्निव भारत । सेनयोरुभयोर्मध्ये विषदन्तमिदं वचः ।।२।१०

(हे धृतराष्ट्र, दुवैतिरका सेनाको बीचमा बसेर दुःख पोखिरहेका अर्जुनलाई श्रीकृष्णले मन्द मुस्कानसित सम्झाउन लागे ।)

कति नै सोचविचार गर्दा पनि नसुल्झेको समस्यालाई विद्यार्थीले उच्च उकुसमुकुसका साथ जब शिक्षक समक्ष राख्छन् त्यो बेलामा शिक्षकले अँध्यारो मुख लाएर समस्यालाई ग्रहण गरे भने शिक्षकको अँध्यारो मुखको कालो छाया विद्यार्थीको मनमष्तिष्कमा घपक्कै पर्छ । यसका अनेक अर्थ लाग्छन् । यो समस्या मैले व्यर्थै सोधेँ । शिक्षकलाई यो सोधाइ मन परेन । अब मलाई नकारात्मक कित्तामा राख्ने भए । ती विद्यार्थीले यही कुरालाई निकै लामो समयसम्म पीरको स्रोत बनाइरहन्छन् । अब ती शिक्षकले सो समस्या राम्ररी समाधान गरिदिए पनि शिक्षकको प्रारम्भिक अनुहारको अवाचिक अभिव्यक्तिका कारण विद्यार्थीले सो समस्याको समाधान राम्ररी बुझ्दैनन् ।

विद्यार्थीको समस्यालाई अँध्यारो मुख लाएर लिने शिक्षकको मनस्थिति विश्लेषण गरेर कतिपय विद्यार्थीले यी शिक्षकलाई समस्या सोधेको कुरा जाती लाग्दैन भनेर कहिल्यै पनि समस्या प्रस्तुत नगर्ने निधो गर्छन् । त्यसैले शिक्षकको मन्द हास्य मुद्रामा विद्यार्थीको मनमष्तिष्कका झ्यालढोका खोलेर उनीहरूमा ज्ञानको ज्योति छर्नुपर्छ, उज्यालो भर्नुपर्छ भन्ने सन्देश उल्लिखित सन्दर्भले दिन्छ ।

वास्तवमा कसैमा शरणागतिमय आश्रित व्यक्ति आफ्नो कर्तव्यप्रति दृढ रहन्छ र कर्मफलको लिप्सादेखि पर हुन्छ । यो कर्मको फल यस्तो भएदेखि यो गरुँला त्यो गरुँला तर फल प्राप्त नभएदेखि के गरुँला भन्ने पीरलो नै नभएपछि केको पीर गर्नु र ? यस्तो द्विविधायुक्त मनस्थितिबाट मुक्त व्यक्तिको कार्यकुशल शक्ति पनि निकै उच्च हुन्छ । यही सन्दर्भको उत्प्रेरणा दिँदै श्रीकृष्णले अर्जुनलाई भन्छन्—

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूमाते सङ्गोस्त्वकर्मणि ।।२ ।४७

(कर्तव्य कर्म गर्न तिम्रो अधिकार छ तर त्यसको फलको बारेमा होइन । फलको कारण तिमी होइनौ । त्यसैले कर्तव्यकर्म नगर्नेतर्फको आसक्ति पनि तिमीमा हुनुहुँदैन । )

उल्लिखित श्लोकको केवल अभिधा अर्थ अर्थात् सोझो अर्थमा बुझ्ने हो भने व्यक्तिमा कर्मप्रति वितृष्णा जाग्ने खालको अवस्था आउन सक्छ । “काम गर, फलको आशा नगर” भन्ने हो भने केका लागि काम गर्ने भन्ने जल्दोबल्दो प्रश्न उब्जन्छ । यो भनाइको मर्मचाहिँ के हो भने जुन कुरा आफ्नो क्षमता वा दायराभन्दा बाहिर छ त्यसमा आसक्ति बढाउनु भनेको अनावश्यकको मानसिक चिन्ता बढाउनु मात्रै हो । तर कर्म गरेर फल लागेको जहाँ पनि देखिएको छ भने फलका लागि कर्म गर्नैपर्छ । कर्म गर्दागर्दै उपलब्धि यतिउति भनेर आशाका भनौँ अझ महत्वाकाङ्क्षाका रित्ता डोका ठड्यायौँ र कथंकदाचिद् ती डोका भरिएनन् भने अनावश्यक पीडा बेहोर्नुपर्ने हुन्छ । यही कर्मपछिको भावी पीडाबाट बचाउने सन्दर्भको श्लोक हो यो ।

यही कुरालाई शिक्षा जगत्मा जोडेर हेर्‍यौँ भने अझ सान्दर्भिक देखिन्छ । सबैभन्दा ढीलो उपलब्धि देखिने क्षेत्र शिक्षा क्षेत्र हो । यस सन्दर्भमा एक चिनीयाँ उखान निकै चर्चित छ । एक वर्षको कुरा सोच्छौ भने धान रोप, दश वर्षको कुरा सोच्छौ भने रूख रोप, सय वर्षको कुरा सोच्छौ भने समाजमा शिक्षा रोप । यस्तो मानवको पूर्णायुमा बल्ल प्रतिफल दिने कुरामा हामी तत्कालै उपलब्धिको लिप्सामा लाग्दा कसरी शान्ति मिल्ला र ? फेरि उपलब्धिका लागि लामो समय कुर्नुप¥यो भनेर शिक्षाबाट विमुख हुन पनि त सकिँदैन । यस्तै ढिलो प्रतिफल दिने क्षेत्र भएको ठानेर नै “पढ्यो गुन्यो कौने काम हलो जोत्यो खायो माम” भन्ने उखान बनाए होलान् पाका पुरानाले ।

राज्यले पूर्ण रूपले शिक्षाको जिम्मा लिन नभ्याइरहेको अवस्थामा हाम्रो शिक्षा पद्धति अझै पनि बाध्यकारी बन्न सकिरहेको छैन । त्यसैले अहिले पनि शिक्षित, साक्षर, निरक्षरका हाँगाबिँगाको अवलोकन पर्‍यौँ भने प्राकृतिक अवस्था पाइन्छ । साधारणतया पुस्तौँपुस्तादेखि पढ्दै आएकाका सन्तानहरूले धेरैधेरै पढेका छन् र कम पढालेखाहरूका सन्तानको शैक्षिक स्थिति कमजोर नै छ । अघिदेखि पढ्दै आएका समूह र पढ्ने अवसर नजुटेका समूहको ऐतिहासिक विश्लेषण गरेर शिक्षाप्रति उत्प्रेरणा जगाउनुपर्ने भएको छ ।

यसबाट के निचोड निकाल्न सकियो भने कर्मको फल अवश्यै लाग्छ तर के र कतिप्रतिको आसक्तिलाई छाडिदियो भने अवसाद अर्थात् डिप्रेसनमा फस्न पर्दैन । यसले व्यक्तिलाई कर्मबाट भाग्न पनि दिँदैन । शान्त र सहज जीवनयापनको मूल मन्त्र यही हो ।
।। ३ ।।

सकारात्मक सोच र नकारात्मक सोच दिन र रात जत्तिकै फरक छन्, जागरण र निद्रा जत्तिकै भिन्न छन्, आलश्य र सक्रियता जत्तिकै विपरीत छन् भन्दै श्रीकृष्णले अर्जुनलाई भनेका छन्—

या निशा सर्व भूतानां तस्यां जगर्ति संयमी । यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ।।२।६९

(सम्पूर्ण जीवका लागि राति भएको अवस्थामा ज्ञानी पुरुष जागा रहन्छन् र सम्पूर्ण जीव जागा भएको अवस्थालाई ज्ञानी जनहरूले राति देख्छन् ।)

यहाँ उल्लिखित श्लोकको अभिधा अर्थ गर्दा अर्थ सङ्गति उति मिले जस्तो देखिँदैन जुन माथि कोष्ठकका वाक्यले सङ्केत गरिरहेको छ । यो श्लोकमा लक्षणा अभिव्यक्तिका हिसाबले विवेचना गर्दा निकै मर्मस्पर्शी अर्थ फेला पर्छ । यहाँ “सर्व भूतानां” अर्थात् सर्वसाधारण जीव दूरदृष्टिविहीन अल्पज्ञका रूपमा चित्रित छन् । उनीहरू तत्कालको इन्द्रिय सुखको लागि मरिहत्ते गर्छन् । राम्रो भावी उज्यालोतिर उनीहरूको दृष्टि नै जाँदैन । सकारात्मक उज्यालोतिर पीठ फर्काउँछन् । त्यसैले राम्रो सत्मार्ग उनीहरूका लागि रात प्रतीत हुन्छ । तर संयमी अर्थात् ज्ञानी उज्यालो सत्मार्गमा बडो चनाखो जागा भएर रहेका हुन्छन् ।

यसको ठीक उल्टो तत्काल आनन्द जस्तो देखिने तर अन्ततः भँड्खालोमा जाकिने कुमार्ग ती अल्पज्ञका लागि निकै उज्यालो, राम्रो लागेको हुन्छ र सक्रियतापूर्वक लाग्छन् । तर ज्ञानीहरू त्यो कुमार्गको अन्धकारतिर रात देख्छन्, अँध्यारो देख्छन् र आँखा चिम्लन्छन् ।

उदाहरणका लागि, जूवातासको लत राम्रो होइन, जाँडरक्सीमा रल्लिनु हुँदैन भन्ने ज्ञानीहरूका दृष्टिमा यो अँध्यारो रात हो तरमलिन बुद्धिवालाहरूका लागिभने एक बारको जिन्दगी हो “लाई सार कि खाई सार मरेपछि लम्पसार” भनेर रमाउने यो आकर्षक उज्यालो हो ।

शिक्षा क्षेत्रमा पनि यो श्लोकको प्रतिविम्ब राम्रोसित देख्न पाइन्छ । शिक्षकले राम्रो शिक्षण गर्नका लागि विभिन्न बाधाव्यवधान रहेका भनी थुप्रै वाहनाबाजीको सूची तयार गरेका हुन्छन् । त्यसै गरी विद्यार्थीले पनि आफूले राम्ररी पढ्न नसक्नुमा त्यस्तै वाहनाबाजीको सूची तयार गरी बसेका हुन्छन् । तर जुन ज्ञानी कित्तामा रहेका शिक्षक तथा विद्यार्थी छन् उनीहरूलाई ती वाहनाबाजीका सूची आवश्यक छैनन् । निर्धक्कसित काममा जुटिरहेका छन् । राम्रो परिणाम प्राप्त गरिरहेका छन् । “लाग्ने कोललाई धूलो न फूलो” भने जस्तै भौतिक सुविधाको वास्ता पनि छैन, आर्थिक उत्प्रेरणा भएन भन्ने गुनासो पनि छैन । छाप्रो छ, झुप्रो छ, र पनि राम्रो छ ।

।।४।।

व्यक्तिको हरेक क्षण कर्ममय छ । प्रकृतिको वशमा रहेको जीवात्माले प्रकृतिजन्य केही न केही काम गरकै हुन्छ वा भनौँ केही न केही कर्म गर्ने बाध्यतामै हुन्छ । सास फेर्ने काम नगरे जीवनलीला समाप्त भैहाल्छ । जन्मपछि मृत्युपर्यन्त केही न केही काम गर्नैपर्छ भनेर त “गाथ बसोस् हात नबसोस्” भन्ने लोककथन बनेको छ । “हात नबसोस्” ले कर्म निरन्तरताको सङ्केत गरेको छ । अलि आध्यात्मिक चेतनावालाले यही कुरालाई “छोड्ने छैन काम बिर्सने छैन राम” भन्ने गर्छन् । यहाँ “छोड्ने छैन काम” हात नबसोस् हो भने “बिर्सने छैन राम” सत् चित्तले ताकेको परम लक्ष्यको सङ्केत हो । मनमा नाना थरी कुरा खेलाएर चुपचाप ध्यानमग्न देखाउने व्यक्ति मिथ्याचारी ढोँगी हो भन्दै श्रीकृष्णले अर्जुनलाई भन्छन्—

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत । कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ।।३।५

कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् । इन्द्रियार्थाविमूढात्मा मिथ्याचारः स उच्यते ।।३।६

(कोही पनि व्यक्ति एक छिन पनि काम नगरीकन रहन सक्तैन किनकि ऊ प्रकृतिका वशमा छ । त्यसैले प्रकृतिजन्य काम गर्नैपर्ने उसको बाध्यता हो । जो कर्मेन्द्रियलाई हठपूर्वक रोकेर मनले इन्द्रियका विषयवासनामा चिन्तन गरी बस्छ त्यो मूढ बुद्धिवाला हो । त्यस्तालाई मिथ्याचारी भनिन्छ । )

शिक्षण सिकाइमा पनि “काम र राम”का तमाम सन्दर्भहरू छन् । चल्ती चलाउ जीवन निर्वाहका सन्दर्भ “काम” लाई लिन सकिन्छ भने “राम” आफ्नो जिम्मेवारीको परम लक्ष्यलाई । विद्यालयबाट घर फर्केर शिक्षकले आफ्ना व्यावहारिक दैनन्दिनी गर्नुपर्छ । यो स्वाभाविक हो । यो काम हो । तर यो काम गर्दा आज कक्षामा पढाउँदा सोचे जसरी बालबालिकालाई विषयवस्तु बुझाउन सकिनँ । भोलि कसो गरेर सो विषयवस्तु छर्लङ्ग पार्ने होला भनेर मनमा चिन्तन भइरह्यो भने त्यो “राम” हो । त्यो ध्यान हो । विद्यालयदेखि घरबीच ओहोरदोहोर गर्दा देखिएका भेटिएका वस्तुलाई शिक्षण सामग्रीका रूपमा प्रयोग गर्ने गरी सङ्कलन गरियो भने शिक्षकका लागि त्यो ध्यान हो । यस्ता शिक्षकको शिक्षण साह्रै व्यावहारिक हुन्छ र शिक्षण सामग्रीका लागि बजेट भएन भनेर गनगन पनि गर्नुपर्दैन ।

विद्यार्थीका लागि पनि काम र राम उस्तै हुन्छन् । विद्यार्थीले केवल पढेर मात्रै भोलिको जीवन निर्वाहका सीपमा अभ्यस्त हुन सकिन्न । त्यसैले घरमा, डेरामा, छात्रबासमा गएपछि जीवन निर्वाहका लागि विभिन्न काम गर्नुपर्छ । यो काम हो । तर आफूले पढेको कुरा राम्ररी बुझिएको छैन, बुझिएको छ तर राम्ररी अभिव्यक्त गर्ने सीप भैसकेको छैन । अभिव्यक्ति सीप पनि छ तर अरूलाई बुझाउने सीप विकास भैसकेको छैन । अरूलाई बुझाउनेसम्मको सीप पनि छ तर त्यो सीपलाई कार्यव्यवहारमा उतार्ने सीप विकास भैसकेको छैन । विद्यार्थीलाई यी सिकाइसम्बन्धी खुट्किलाहरू क्रमशः चढ्दै ज्ञानको उचाइ लिनुपर्ने हुन्छ । आफ्नो सिकाइस्तर कहाँ छ भन्ने कुरा यकिन गरी त्यो सीप आर्जन गर्ने सोच वा चिन्तन भइरह्यो भने विद्यार्थीको “राम” त्यही हो ।

तरकारी पखाल्दा, तरकारी केलाउँदा, आफ्नो कामसित रामको चिन्तन होओस् । छुट्टीका दिन बुबाआमासित मेलाको काममा जाँदा, गाईबाख्रा लिएर वनमा जाँदा, खर्‍यानमा घाँस काट्न जाँदा आफ्नो घरायसी “काम” र चिन्तनको “राम” छोडिएन भने विद्याले पछ्याउन लाग्छ ।

।।५।।

जुन उमेर परिवेश अवस्थामा जे जस्तो प्राकृत काम गर्नुपर्ने हो त्यही काम गर्नु स्वधर्म पालन हो । आफ्नो हैसियत परिवेशअनुसारको प्राकृत काम अरूको भन्दा कम स्तरीय भए पनि अर्काको देखिने राम्रो कामभन्दा आफ्नै काम नै श्रेयष्कर हुन्छ । यसले वैयक्तिक भिन्नताको बारेमा सङ्केत गरेको छ । “अरू हात्ती चढ्यो भनेर आफू धुरी चढ्नुहुँदैन” भन्ने कुरा पनि यही हो । टाढाको आरनभन्दा घरैको उधिन(सान ढुङ्गो)ले घतमा काम दिन्छ भनेको पनि यही हो । यस सन्दर्भमा श्रीकृष्ण अर्जुनलाई भन्छन्—

श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् । स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।।३।३५

(अर्काको बडो उत्तम देखिएको धर्मभन्दा आफ्नो कम गुणवान् जस्तो देखिने धर्म नै श्रेष्ठ हुन्छ । अर्काको भय दिने धर्म अपनाउनुभन्दा आफ्नै धर्माचरण गर्दागर्दै मर्नु जाती हुन्छ ।)

यहाँ श्रीकृष्णले भनेको धर्म आजको जस्तो हिन्दु, क्रिश्चियन, बौद्ध, इश्लाम… जस्ता धर्म भनेका होइनन् । किनकि त्यस बखत यस्ता कुनै पनि धर्महरू जन्मेकै थिएनन् । त्यसैले धर्म भनेको आश्रम र परिवेशजन्य आचरण भन्ने बुझ्नुपर्छ । औषधी तथा खाद्यान्न सम्बन्धमा आयुर्वेदमा भनिएको छ—

“यस्य देशस्ययोर्जन्तु तद्जं तस्यौषधं हितम्” अर्थात् जुन ठाउँको प्राणी हो त्यसलाई त्यसै ठाउँको औषधी हितकर हुन्छ । यहाँ औषधी शब्द खाद्यान्नसमेतका लागि प्रयोग भएको छ । यो शरीरधर्मको कुरा भयो ।

अब सामाजिक व्यवहार धर्मको कुरा गरौँ । पच्चीस वर्षसम्म ब्रह्मचर्य पालन गरेर विभिन्न ज्ञान सीप आर्जन गर्ने अवस्था हो । तर कोही कसैले विवाह गरेर रज्जगज्ज गरेको देखेर आफ्नो उमेर नपुग्दै त्यतैतिर लागियो भने त्यो आफ्नो धर्म छाडेर परधर्म अपनाएको मानिन्छ । किनकि यो वैवाहिक जीवनको सुरुवात पच्चीस वर्ष पुगेर मात्र गर्ने कुरा हो, अपनाउने आचरण हो, धर्म हो । यसरी कुसमयमा धर्माचरण गर्दा वा परधर्म अँगाल्दा उपयुक्त ज्ञान सीप सिक्ने अवसरबाट वञ्चित भई भावी जीवनमा यही निर्णय दुःखको कारण बन्छ ।

शिक्षा शिक्षणमा लाग्ने व्यक्तिले यो स्वधर्म र परधर्माचरणका बारे निकै राम्रोसित बुझ्नुपर्ने हुन्छ । चाहे त्यो खाद्यपरम्पराको सन्दर्भमा होओस् चाहे पेसागत क्रियाकलापको बारेमा होओस्, चाहे सामाजिक सांस्कृतिक पक्षमै किन नहोओस् । हाम्रो अहिलेको सामाजिक विकृति यही स्वधर्ममा अडिग रहन नसक्ने प्रवृत्तिले निम्त्याएको परिणाम हो । यसमा धेरै शङ्का गरिरहनुपर्दैन ।

एक सान्दर्भिक उदाहरण लिऊँ । आफूसित सँगै पढेको साथीले व्यापार गरेर थुप्रै धनदौलत कमायो भनी शिक्षक पेसामा लागेको व्यक्तिले छटपटी देखाउँछ भने त्यो परधर्मप्रतिको आसक्ति हो । यस्तो आसक्तिले उसलाई कहिल्यै लाभ गर्दैन । उसमा पेसागत सीप खारिन नपाउनाले पेसागत दक्षताको सधै अभाव रहन्छ ।

त्यसै गरी राजनीतिक कार्यकर्ता आनन्दसित ठाउँठाउँमा डुलेको देखेर त्यसै गर्न खोज्ने शिक्षक, आफ्नो व्यापार व्यावसायमा ठूलो लगानी गर्नुपर्ने तर शिक्षक कर्मचारीलाई कुनै लगानीविना मासिक रूपमा खुरुखुरु पैसा आउँछ भनी कनकन गर्ने व्यापारी, साँझ बिहान करेसाबारीको काज र बगैँचामा टहलिने हजुरबुबाहजुरआमालाई देखेर आफ्नो विद्यार्थी धर्म भुलेर त्यतै लहसिन मन पराउने विद्यार्थी सबै अधर्मी हुन् । जुन बाटोमा हिँडिएको छ त्यसमाश्रद्धा आस्थासित हिँडियो भने व्यक्तिलाई शान्ति पनि हुन्छ र सहजै गन्तव्यमा पनि पुुगिन्छ । यो कुरा पहिले शिक्षक स्वयंले बुझ्नुपर्छ र विद्यार्थीलगायत अरूलाई पनि बुझाउनुपर्छ ।

।।६।।

विद्याले अथवा शिक्षाले आफूलाई, आफ्नो परिवारलाई मात्रै होइन सम्पूर्ण सृष्टि जगत्लाई माया गर्नुपर्छ, सबैलाई समान दृष्टिले हेर्नुपर्छ । एक आपसमा निर्भर भएर चलिरहेको संसारमा केही कसैको अभाव वा रिक्ततामा असन्तुलनको हुन्डरी मडारिन सक्छ । एउटा पूर्ण घरमा कुन ज्यादा महत्वको भनौँ कुन कम महत्वको ? जग, ढोका, गारो, दलिन, बलो, छानो, पेटी, … ?

जीवित जन्तु तथा वनस्पतिको कुरा मात्रै होइन निर्जीव वस्तुको फेरबदलले पनि वातावरणमा निकै ठूलो उथलपुथल ल्याएको हामीले देखे भोगेका छौँ । बाढी, पहिरो, भूकम्प, ज्वालामुखीले हाम्रो जैविक विविधतामा ठूलो फेरबदल ल्याएको हुन्छ । यसले कतिपय जीवको अस्तित्व सङ्कटमा पारेको हुन्छ । आपसी मेल र सन्तुलनले नै सबैको जीवन सहज हुन्छ ।

आपसी दुर्व्यवहारबाट बच्न बचाउन समभावको जागरण हुनुपर्छ भन्ने सन्दर्भमा श्रीकृष्णले अर्जुनलाई बडो राम्रो उपमा दिएर यसरी भनेका छन्—
विद्या विनय सम्पन्ने ब्राह्मणे गवि हस्तिनि । शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।।५।१८

(ज्ञानी महापुरुषले ब्राह्मण, गाई, हात्ती, कुकुर र चण्डाललाई समान देख्छन् । )

यस उदाहरणबाट थाहा हुन्छ कि त्यस बेला अर्थात् गीता रचनाकालमा पनि विभेदको अवस्था थियो । एक किसिमले हेर्ने हो भने विभेदको स्तर र क्रम पनि श्लोकमा देख्न सकिन्छ । व्यक्ति यदि समदर्शी हो भने विभेदहीन व्यवहार गर्नुपर्छ भनी उस बेलादेखि भन्दै आएको कुरा रहेछ ।

यहाँ प्रयोग भएको ब्राह्मण शब्द आजको जस्तो जात ब्राह्मणका लागि प्रयोग भएको होइन । यस शब्दले ज्ञानी, गुरु, शिक्षक, शास्त्रवेत्तालाई जनाउँछ । अहिले पनि शिक्षा क्षेत्रमा छुवाछूत, उँचनीचको होँचीअर्घेलीका दुर्व्यवहार देखिने अवस्था छ । यही संस्कृत भाषाका माध्यमबाट प्राचीन सभ्यताको अध्ययन चिन्तन मनन गरी वर्तमान समाजलाई सभ्य सुसंस्कृत बनाउने महान उद्देश्यले स्थापित विद्यापीठमा जात विशेषको योग्यताले प्रवेश पाउने अवस्था हुन्छ भने शिक्षा क्षेत्रमा यहाँभन्दा कलङ्क के हुन्छ ? तर यो दुव्र्यवहारको दुष्चक्रबाट समाजलाई उम्काउन सक्ने उत्तम क्षेत्र भनेको त्यही विद्यालय नै हो । विद्यालयमा बालबालिकाले उँचनीचको दुर्व्यवहार महसुस गर्ने अवस्था भएन भने समाजमा समता वा भनौँ समभाव स्थापित गर्न सजिलै सकिन्छ ।

दुःखका साथ भन्नैपर्ने हुन्छ कि हामी शिक्षा लिने दिने काममा पनि चरम विभेद गर्छौँ । धर्मका आधारमा, जात थरका आधारमा शिक्षालयका प्रवेशद्वार बन्द गर्छौँ । अनि हामीमा समताको टुसो कसरी पलाउला ? हामी मान्छेमान्छेमा मात्रै होइन एउटै गाउँ टोलमा बसेका बीच पनि समभाव राख्न सक्तैनौँ भने मान्छे इतर प्राणीसमेत(गवि, हस्तिनि…) को के कुरा गरौँ ।

बालबालिकाका लागि समदर्शी संस्कार सिक्ने र सिकाउने ठाउँ विद्यालय हो । विद्यालयमा हुने शिक्षकका, साथीभाइका व्यवहारले बालबालिकाको व्यक्तित्व विकासमा सकारात्मक चिन्तनको विकासमा ठूलो भूमिका खेल्छ । विद्यालयको अफिस बालबालिकाको सर्वोच्च न्यायालय हो जसका प्रधान न्यायाधीश प्रधानाध्यापक हुन् । प्रधानाध्यापकले बोल्ने हरेक शब्द, वाक्य बालबालिकाका लागि अलिखित कानुन हो । ब्रह्मवाक्य हो ।

यहाँ मेरो बाल्यावस्थाको एक सन्दर्भ जोड्दै छु । मेरो ६ वर्षको उमेर, कक्षा २ मा पढ्थेँ । कक्षा १ को अन्तदेखि पेन्सिल कापी प्रयोग गर्ने योग्यता मानिन्थ्यो । कक्षा १ मा त लगभग खरी पाटीमै लेखाइको काम हुन्थ्यो । कापीमा पेन्सिलले लेख्न पाउँदाको खुसीको के वर्णन गर्नु र । हातमा खरीको धूलो नलाग्ने, पाटी मस्याएको कालो लाग्ने डर पनि नहुने, एक उच्चस्तरको बढुवाको जस्तो खुसी ।

नयाँ पेन्सिल किनेर प्रयोग गर्न पाएको दिन, खुसीले भुइँमा खुट्टा थिएनन् । एक छेउमा गुलावी रङ्गको मेट्टा अर्थात् इरेजर, सुनौला रङ्गको धातुले बाँधिएको त्यो मेट्टाले पेन्सिलको शोभा कति हो कति बढाएको थियो । एक जना सहपाठी साथीले मैले कान्छीऔँलाले पेन्सिल भाँच्न सक्छु भन्दै अरू साथीहरूको लिने भाँच्ने गर्दै थियो । कान्छीऔँलाले केही काम गर्नु भनेको महाबलि प्रमाणित गर्नु मानिथ्यो । मलाई त्यो साथीको बलका बारेमा जान्नु थिएन । त्यो कैयौँ दिनको गनगन तपस्यापछि प्राप्त भएको पेन्सिललाई कसैको बल जाँच्ने साधनका रूपमा प्रयोग गर्ने कुराको कल्पना पनि गर्न सक्तिनथेँ । तर ती साथीले मेरो पेन्सिल च्यात्त खोसेर बेन्चमा टेकाएर कान्छीऔँला निरको भागले हानेर भाँचिहाले ।

मेरो रिसको सीमा रहेन । पेन्सिलका दुईटा टुक्रा स्याहार्दै ती साथीलाई भुइँमा पछारिदिएँ । उनी पनि कम थिएनन् । उनले पनि मलाई पछारे । तर मैले धेरै पटक पछारेपछि उनी रुन थाले । उनी त प्रधानाध्यापकका छोरा थिए ।उनी रुँदै बुबाछेउ गए ।

चार पाँच कक्षाका दाइ दिदीले “मास्टरजीका छोरालाई ¥वाइस् । अब मास्टरजीले तँलाई पिट्नुहुन्छ भने ।” कसैले पूर्वानुमानका कुरा गरे होलान् र कसैले तर्साउन पनि त्यसोे भने होलान् । तर अन्यायमा परेकालाई शिक्षकले पिट्छन् भन्ने कुरा मेरो बाल न्याय पद्धतिले किञ्चित विश्वास मानेन । मेरै पेन्सिल भाँचिदिने अझ मैले नै पिटाइ खाने अनुमान गर्ने ती दाइ दिदीको कुराले म मनमन उदेकाएको थिएँ । म अफिसमा बोलाइएँ । प्रधानाध्यापकको मुहारमा कुनै आक्रोश थिएन । सौम्य मुद्रा थियो । म शायद मलीन थिएँ हुँला । एक दुई चोटी पछारिएको दुखाइ र पेन्सिल भाँचिएको पीडाले म व्यथित थिएँ ।

प्रधानाध्यापकले घटनाको बारेमा सोध्नुभयो । मैले यथार्थ कुरा बताएँ । मैले दिन्न भन्दाभन्दै हातबाट खोसेर भाँचिदिएको कुरा बताएँ । मेरो कुरा सुनेपछि आफ्नै छेउमा उभिएर रोइरहेको छोरालाई प्रधानाध्यापकले चड्कन लगाउनुभयो र मलाई ती भाँचिएका टुक्रामध्ये एउटालाई घरमै राख्ने र एउटालाई लेख्न प्रयोग गर्न भन्नुभयो ।

जीवनको सार्वजनिक चासोको मुद्दामा सर्वोच्चले मलाई जितापत्र दियो । यसले प्रधानाध्यापकबाट पिटाइ खान्छ भन्ने माथिल्ला कक्षाका दाइदिदीहरूको अनुमान मिलेन । नयाँ पेन्सिल प्रयोग गर्दाकै दिन भाँचिनु मेरा लागि ठूलो दुर्घटना थियो । घर गएर आमाबुबासित यो बेलिविस्तार गरेँ । यो बेलिबिस्तार गर्दा छिमेकी कान्छाबुबा पनि हुनुहुन्थ्यो । मैले प्रधानाध्यापकसित आफ्ना कुरा ढुक्कसित राख्न सकेको भनी कान्छाबुबाले मेरो तारिफ गर्नुभयो । त्यति सानो उमेरमै नातावादको सूत्र छिँदेको अनुभवले मलाई जीवनभर आनन्द दिइरहेको छ । यो घटनाको स्मरणले हर्षका आँसु वर्षाउँछ । समदर्शी गुरुप्रति नमन ।

।।७।।

व्यक्तिमा दृष्टि हुनु एउटा कुरा हो । द्रष्टासहितको दृष्टि हुनु अझ महत्वपूर्ण कुरा हो । द्रष्टासहितको दृष्टि भनेको वास्तवमा दृष्टिकोण हो । कुनै पनि वस्तुलाई हेर्ने तथा कुनै पनि विचारलाई मनन गर्ने, विश्लेषण गर्ने कुराका लागि दृष्टिकोणसितको व्यक्तित्व(द्रष्टा) हुनुपर्छ । वैयक्तिक विभिन्नताअनुसार द्रष्टाको दृष्टिकोणमा फरक पर्छ । त्यसैले त एउटै कुरा वा वस्तुको व्याख्या विश्लेषणमा फरकफरक पक्षविपक्ष स्थापित हुन्छन् ।

भौतिक संसार र आध्यात्मिक संसार हेर्ने उपयुक्त दृष्टिकोणविहीन अर्जुनलाई श्रीकृष्णले दिव्यदृष्टि अर्थात् दृष्टिकोण युक्त दृष्टि दिने वचन यसरी दिन्छन्—
न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा । दिव्यं ददामि ते चक्षुः पश्य मे योगमैश्वर ।।११।८

(यी आँखा(चर्मचक्षु)ले तिमीले देख्न सक्तैनौ । मैले देख्ने आँखा दिन्छु । तब तिमीले ईश्वरीय सामथ्र्य हेर ।)

वास्तवमा दृष्टि र दृष्टिकोणको भेद नबुझेसम्म आफ्नै साम्नेको ज्ञान पनि ज्ञान बन्न सक्तैन । हामीसित सूक्ष्मदर्शक यन्त्र छ । त्यसमा राखेर हेर्ने वस्तु पनि छ । जुन हेर्नुपर्ने वस्तु हो त्यसलाई सूक्ष्मदर्शक यन्त्रमा राखेर हेर्दा जे देखिनुपर्ने हो सो देखिन्छ । तर के देखियो भन्ने चिनिदैन । यदि कुनै विज्ञले वा शिक्षकले यो नं.१ मा जे देखिएको छ त्यो वनस्पति कोषको बाहिरी आवरण हो । यसका प्रमुख चिनारी अमुक अमुक हुन् ।

यसरी एक विज्ञले जब दिव्य दृष्टि दिन्छ तब केही समय अघि यो के होला, त्यो के होला भन्न नसकेको त्यही व्यक्तिले स्पष्टसित फटाफट भन्न सक्छ । यसबाट हामी भन्न सक्छौँ कि एक सक्षम शिक्षकले बालबालिकालाई दृष्टिकोणसहितको दृष्टि दिने क्षमता राख्नुपर्छ । यसरी नै शिक्षकमा रहेको ज्ञान बालबालिकामा सर्ने वा सङ्क्रमण हुने हुन्छ ।

सकारात्मक सोचलाई अड्याइराख्न केही आत्म संयम चाहिन्छ । आत्म संयमका लागि केही त्यागको भावना चाहिन्छ । यिनै सामान्य कुरामा व्यक्ति ठहर्न सक्तैन ।

सकारात्मक पथ उकालो छ । एक पाइला मात्रै चढ्न सक्यो भने निकै फराकिलो क्षितिजको उद्घाटन हुन्छ । फराकिलो क्षितिजको दृश्यको रसास्वादन गर्न पल्केको व्यक्ति उकालै लाग्न चाहन्छ । ओह्रालोतिर आँखै लगाउन्न । त्यसै गरी नकारात्मक पथ ओह्रालो छ । यसका लागि खासै मेहनत संयमको आवश्यकता पर्दैन । लडे, पल्टे, गुल्टिए पनि तलै हिँडे, दौडे पनि तलै । त्यसैले यो भौतिक हिसाबले सजिलो छ ।

जसरी सकारात्मक सोचको उकालो चढ्दा क्षितिजको फराकिलोपन बढ्दै जान्छ, नयाँनयाँ क्षितिजका तरेलीहरूको उद्घाटन हुँदै जान्छन् त्यसै गरी नकारात्मक सोचको ओह्रालो झर्दा क्षितिज साँगुरिँदै जान्छ । साँगुरिँदै जाँदाजाँदा यस्तो अटेसमटेसको साँगुरोमा फस्छ कि ऊ आफै अट्ने ठाउँ पनि पाउन्न र यो संसार छोड्ने मन लागेर आत्महत्यातिर उन्मुख हुन्छ । सकारात्मक सोचको परम लक्ष्य परमानन्द प्राप्ति हो भने नकारात्मक सोचको परम गन्तव्य स्वयं अकाल मृत्यु वरण हो ।

यी र यस्तै कुराको चर्चाले शिक्षक, विद्यार्थी र अभिभावकमा सकारात्मक सोच भर्न सकिन्छ । यसले शान्त, सौम्य, सुखी, खुसी र समृद्ध समाज निर्माण गर्न सहयोग गर्छ ।

यी कुरालाई शिक्षकले हृदयङ्गम गरी बालबालिकालाई समयको उच्चतम सदुपयोग गर्न सिकाई सम्यक जीवन जिउन उत्प्रेरित गर्नुपर्छ । सुमार्गमा लाग्नका लागि अर्ती उपदेश आवश्यक हुन्छ तर ती अर्ती उपदेश दिने पात्र पनि अर्ती उपदेश दिने लायकको हुनुपर्ने कुरा ज्यादा महत्वको छ । जुन व्यक्तिले अर्ती उपदेश दिन्छ ती उपदेशमा अभिव्यक्त कुराहरूलाई उसले आफ्नो जीवनमा अपनाएको छ छैन, यस कुराले ठूलो अर्थ राख्छ । सूर्ती चुरोट खाने व्यक्तिले यो अम्मल खानुहुँदैन भनेर दिएको उपदेश कसैले टेर्दैन । किनकि उसले सो उपदेश ऊ आफैले अपनाइरहेको छैन ।

यस्तै कुरामा मिल्ने महात्मा गान्धीसित सम्बन्धित एउटा सन्दर्भ छ—

भारत भरखर स्वतन्त्र भएको थियो । महात्मा गान्धीको ख्याति प्रशंसा यत्रतत्र निकै फैलिइरहेको थियो । महात्मा गान्धीकै घर छिमेकमा एक जना सूर्तीको ज्यादै लत बसेका व्यक्ति बस्थे । सूर्ती खाएर उनका दाँत बिग्रिएका थिए । भित्री गालामा घाउ बनिसकेको थियो । जताततै थुक्ने बानीले घर असाध्यै फोहोर हुने गर्थ्याे । हरहमेसा खोकेर भएको शारीरिक कष्ट र अशान्त वातावरणले गर्दा उनकी श्रीमती साह्रै हैरान थिइन् ।

उनले सोचिन्, यत्रो देशले मानेको व्यक्ति गान्धीजी हाम्रो भाग्यले छिमेकी छन् । यी बूढालाई तिनै गान्धीछेउ लैजानुप¥यो । उनको उपदेशले यी बूढाको बुद्धि फि¥यो र सूर्तीको लत छुट्यो भने यी पनि स्वस्थ होलान् र हामी पनि सुख शान्तिसित जीवन चलाऔँला । यही कुरा सोचेर ती महिला आफ्ना श्रीमान्लाई लिएर गान्धीछेउ पुगिन् ।

गान्धीले सोधपुछ गरे । ती महिलाले आफ्ना श्रीमान्को सूर्ती सेवनको कुलतले श्रीमान्को स्वास्थ्य बिग्रेको र आफू अनेक किसिमले हैरान परेको कुरा बताइन् । अनि श्रीमान्को कुलत छुटाउनका लागि उपाय सुझाउन अनुरोध गरिन् ।

ती महिलाको कुरा सुनेर गान्धी एकैछिन मौन रहे र भने— आजको १५ दिनपछि मलाई भेट्नू ।

गान्धीले महत्वपूर्ण औषधीमूलो खोजेर साधेर दिनका लागि दुई हप्ता समय भनेका होलान् भनी ती महिला हर्षित हुँदै श्रीमान्लाई लिएर घर फर्किन् ।

पन्ध्र दिनपछि ती दम्पति फेरि गान्धीलाई भेट्न पुगे । गान्धीले ती दम्पतिलाई नजिकै बोलाएर भने— आजैदेखि सूर्ती खान छोड्नू । अब घर फर्के हुन्छ ।

ती महिलालाई गान्धीको व्यवहार मन परेन । “लौ आजैदेखि सूर्ती छोड्नू” भन्नका लागि पन्ध्र दिन कुराउनुपर्छ र !

अनि ती महिलाले गान्धीलाई भनिन्— गान्धीजी, यो एक वाक्य बोल्न पनि हामीलाई पन्ध्रपन्ध्र दिन पर्खाउनुभयो । यति जाबो कुरो त पन्ध्र दिन अगाडि नै भन्नुभएको भए भैहाल्थ्यो नि !

गान्धीले मन्द मुस्कानसित भने— नानी, तिमीले पन्ध्र दिन अघि मसँग आफ्ना श्रीमान्को सूर्तीको कुलत बारेको गुनासो गर्दा मैले पनि सूर्ती खान्थेँ । अनि मैले त्यो बेला तिम्रो श्रीमान्लाई कसरी “सूर्ती छोड” भन्न सक्थेँ र ? यो पन्ध्र दिनमा मैले खूब अभ्यास गरेर सूर्ती छोडिदिएँ । अब मैले सूर्ती छोड भन्ने अधिकारित्व प्राप्त गरेको छु । मैले छाड्न सकेँ भने तिमीले पनि छाड्न सक्छौ । त्यसैले म तिमीलाई दोहो¥याएर भन्दै छु “आजदेखि सूर्ती नखानू” ।

गान्धीको त्यो व्यावहारिक उपदेश सुनेर ती दम्पति ज्यादै खुसी हुँदै घर फर्के । त्यहाँ उपस्थित अन्य व्यक्तिहरूले पनि अर्ती उपदेशको आधिकारित्वको बारेमा राम्ररी बुझे ।

यो सन्दर्भ शिक्षक, विद्यार्थी, अभिभावक सबैका लागि उत्तिकै मननयोग्य छ । परिवर्तन चाहन्छौ भने पहिले आफू परिवर्तन हुनका लागि तैयार होऊ । यसको मूल मर्म यही नै हो ।

।।८।।

उपदेशकर्ताले जीवनका नकारात्मक सकारात्मक पक्ष बताइदिने हो । यो नै ठीक हो, यही नै गर्नुपर्छ भन्दा सिकारुले ज्यादा दवाव महसुस गर्छ । अनि दिइएका राम्रा उपदेशप्रति पनि श्रद्धा जाग्न पाउँदैन र अपनाउन वा स्वीकार गर्न पनि मन लाग्दैन । हरेक जीवात्मा स्वअस्तित्व बोधप्रति निकै सम्वेदनशील हुन्छन् । व्यक्तिको यो सम्वेदनशीलतामा ठेस लाग्दा उपदेशले निर्देश गरेको विपरीत दिशातिर उन्मुख हुन सक्ने सम्भावना पनि हुन्छ । यही मर्मलाई बुझेर श्रीकृष्णले अर्जुनलाई भन्छन्—

इति मे ज्ञानमाख्यातं गुह्यात्गुह्यत्तरं मया । विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु ।।१८।६३

(यो गुह्यभन्दा गुह्य ज्ञान अर्थात् मुस्किलले मात्र प्राप्त गर्न सकिने बुझ्न सकिने रहस्यपूर्ण ज्ञान मैले तिमीलाई बताएँ । अब राम्ररी सोचविचार गरेर जे इच्छा लाग्छ त्यही गर ।)

यो कुरा शिक्षकले मात्रै होइन अभिभावकले पनि उत्तिकै सचेत भएर बुझ्नुपर्छ । अहिले पनि अभिभावकका सजिलोका लागि बालबालिकाले विषय छानिदिनुपर्ने, शिक्षकका सजिलोका लागि विषय पढिदिनुपर्ने बाध्यता छ । अभिभावकले, शिक्षकले परामर्श दिएर भावी शैक्षिक जीवनका सम्भावित फराकिला क्षितिज उघ्रनुको साटो झन् साँगुरिने अवस्था आउँछ । त्यसैले विद्यालयले बालबालिकाको सञ्चित अभिलेख राख्ने व्यवस्था गर्ने र तर्कसङ्गत हिसाबले अर्थात् सप्रमाण भावी शैक्षिक जीवनको गोरेटो पहिल्याइदिनुपर्छ, पहिल्याइदिन सकिन्छ । यसरी बालबालिकालाई प्रमाणका आधारमा परामर्श दिने लिने संयन्त्रको विकास नहुँदा धेरै बालबालिकाले असफलताको अँध्यारो मुख देख्नुपरेको छ ।

माथिको श्लोकले शिक्षक निर्देशक होइन बरु सहजकर्ता हो भन्ने देखाएको छ । आफ्नो रुचि र लगाव जता छ त्यसैलाई फलाउन फुलाउनका लागि विद्यार्थीको ध्यान जानुपर्छ । अरूको देखासिकी गरेर पछि लाग्न खोज्दा देखासिकी गरिजा आरिसे मरिजा भन्ने उखान चरितार्थ हुन्छ ।

गीतामा जम्माजम्मी ७०० श्लोक छन् जसमा एक श्लोक धृतराष्ट्रले बोलेका छन् । ४० श्लोक सञ्जयले बोलका छन् । ५७४ श्लोकश्रीकृष्णले बोलेका छन् र जम्मा ८५ श्लोक अर्जुनले बोलेका छन् । श्रीकृष्णले बोलेका ५७४ श्लोकमध्ये ५६ श्लोक अर्जुनलाई अर्ती, उपदेश, आदेश, आज्ञाका रहेका छन् । यसले के देखाउँछ भने शिक्षकले बालबालिकालाई आफूले गरिने सम्पूर्ण क्रियाकलापको १० प्रतिशतभन्दा बढी उपदेशका वचन नबोल्नु राम्रो हुन्छ । बाँकी ९० प्रतिशतमा प्रयोगात्मक, प्रदर्शन, परिभाषा, व्याख्या, विश्लेषण, उदाहरण, उत्प्रेरणात्मक वचनहरूद्वारा विषयवस्तु स्पष्ट पार्नका लागि खर्चिएको छ ।

श्रीकृष्णका वचन र अर्जुनका जिज्ञासा हेर्दा श्रीकृष्णको वचन भार ८७ प्रतिशत र अर्जुनको १३ प्रतिशत अंश देखिन्छ । यसले श्रीकृष्णको शिक्षा विद्यार्थी केन्द्रित नभएर शिक्षक केन्द्रित देखिन्छ । तर गीता संवाद प्रयोगशालामा प्रवेश गरेको विद्यार्थीसितको संवाद हो । तब यसलाई नितान्त सैद्धान्तिक सिकाइका बखत कक्षामा शिक्षकले प्रयोग गरेको समय र विद्यार्थीले खर्च गरेको समयको अनुपातका रूपमा व्याख्या गर्न मिल्दैन । यो त प्रयोगशालामा प्रवेश गरेका विद्यार्थीलाई शिक्षकले प्रयोगशालाका नियम र सावधानीका कुरा निर्देश गरे जस्तै हो ।

श्रीकृष्णले अर्जुन जस्ता महारथी योद्धालाई महाभारत युद्ध प्रयोगशालामा हेलेर आफ्नो रेखदेखमा युद्ध क्रियाकलाप सञ्चालन गर्न सहयोग गरेका छन् । भीष्मले अर्जुनलाई मार्ने प्रतिज्ञा गर्दा आफ्नो वाचा तोडेर पनि आफ्नो शिष्य अर्जुनलाई बचाएका छन् श्रीकृष्णले । जयद्रथ मार्ने वाचा पूरा गर्न नसकी लज्जाबोधसित आत्महत्या गर्न लागेका अर्जुनलाई गजब जादूगरी रणनीतिद्वारा वाचा पूरा गर्ने अवस्था मिलाई अर्जुनको शाख उच्च बनाइदिएका छन् उनै श्रीकृष्णले । यसले के देखाउँछ भने एक सच्चा शिक्षक एक लगनशील विद्यार्थीका लागि हरेक क्षणमा सहयोग गर्न अहोरात्र चिन्तनशील हुन्छ ।

एक कर्मशील स्वाध्यायी शिक्षकले आफ्ना विद्यार्थीलाई आफ्नो प्रवृत्तिको उदाहरण दिएर कसरी उत्प्रेरित गर्छन् र गर्नुपर्छ भन्ने कुरा कुरा श्रीकृष्णले अर्जुनलाई यसरी भनेका छन्—

न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन । नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ।।३।२२

(हे अर्जुन, मलाई यो तीनै लोकमा केही गर्नुछैन र प्राप्त गर्ने वस्तु अप्राप्त हुने अवस्था पनि छैन । र पनि म केही न केही गरिरहन्छु, गरिरहेको छु ।)

कति सुन्दर भनाइ ! एक वर्षौदेखि पढाइरहेको शिक्षकलाई आफ्ना नियमित शिक्षण गर्ने कक्षाका लागि के पढिरहनुपर्छ र ? तर त्यसो होइन । स्वाध्ययन छाडियो भने बुद्धि विस्तारै खिया लाग्दै जान्छ र बोधो हुँदै जान्छ । त्यसैले विद्वान् शिक्षकले झन् धेरै अध्ययन गरेर आफ्नो ज्ञानको ओज अझ धेरै बनाउँछन् । आफ्ना विद्यार्थीलाई दिन प्रतिदिन झनझन ओजिलो ज्ञान दिने गर्छन् । काम चलाउ ज्ञानमा आश्रित नहुने र सधै अध्ययनमा लागिरहने शिक्षक साँच्चै श्रीकृष्णमय हुन् ।

उनलाई सबै पुगेको भैकन पनि आफ्नो अध्ययनको नित्यकर्म निरन्तर दिइरहन्छन्, दिइरहन्छन् ।

यो कुरा अभिभावकका हकमा पनि उत्तिकै महत्वका साथ लागू हुन्छ । मैले वा हामीले कमाएकै छौँ भन्ने दम्भ देखाएर आफ्ना बालबालिकाको सामु आलस्य पस्कियो भने बालबालिका बिग्रने कुरा पक्कापक्की हुन्छ । आफ्ना अभिभावक केही न केही कुरामा लागिरहेको देखेर बालबालिकाले बुझून् कि हाम्रो क्षेत्र मात्रै फरक हो तर काममा जो कोही पनि नित्य निरन्तर लागिरहनुपर्छ । कर्मयोगी संस्कार निर्माणको आधारभूमि त घर नै हो ।

र अन्तमा, आजको शिक्षा तथा शिक्षण सिकाइमा गीताको सन्देशलाई जोडेर मनन गर्न सक्ने हो भने हाम्रो शिक्षाको आधारशीला प्राचीनतम पूर्वीय दर्शनसित समायोजन गर्न सकिनेछ । यसले हाम्रो प्राचीन शैक्षिक परम्पराको निरन्तरतालाई ताजा रक्त सञ्चार गरी गरिमामय इतिहासको स्पष्ट ऐना प्रस्तुत गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस