निषेधाज्ञाका कारण खेतबारीमा नै कुहिन थाल्यो तरकारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निषेधाज्ञाका कारण खेतबारीमा नै कुहिन थाल्यो तरकारी


१७ जेष्ठ २०७८, सोमबार


चितवन । निषेधाज्ञाका कारण खेतबारीमा उत्पादन भएको तरकारीले मूल्य नपाउँदा र बिक्री समेत कम हुन थालेपछि किसान समस्यामा परेका छन् ।

पछिल्लो समय यसको बिक्री वितरण न्यून भएपछि खेतबारीमा नै कुहिन थालेका छन् । धमाधम तरकारी बिक्री गर्ने बेलाका निषेधाज्ञा जारी भएपछि किसान चिन्तित बनेका हुन् । बारीको तकारी टिपेर बजार पुर्‍याउँदा लाग्ने खर्च समेत नधान्ने उनीहरु गुनासो गर्दछन् ।

जिल्ला ताजा तरकारी फलफूल उत्पादक सहकारी सङ्घ चितवनका सचिव रामचन्द्र रेग्मीका अनुसार आज बजारका करेला प्रतिकेजी रु पाँचमा पनि बिक्री गर्न मुश्किल परेको थियो । गत चैतको पहिलो हप्ता सो तरकारी प्रतिकेजी रु १ सय २० मा बिक्री भएको थियो । अहिले तनेबोडी प्रतिकेजी रु १० मा बिक्री हुने गरेको छ । यसको पहिलेको मूल्य रु १ सय २० नै थियो । उहाँका अनुसार रु ९० मा बिक्री भएको घिरोला अहिले प्रतिकेजी रु २५, रु ८५ मा बिक्री भएको रामतोरी रु १५ मा समेत बिक्री गर्न कठिन छ । रु ५ मा झरेको गोलभिँडा रु २५ सम्ममा बिक्न शुरु भएको छ । रु १० मा बिक्री हुन नसकेको भेन्टा रु १५ सम्ममा बिक्न थालेको उनले जानकारी दिए । चिचिण्डा बिगतमा झै रु २० हाराहारीमा बिक्री भएको छ ।

नारायणगढ स्थित तरकारी तथा फलफूल स्थलमा निषेधाज्ञा जारी भएपछि दैनिक दुईदेखि तीन टन तरकारी बिक्रीहुन नसकेर खेरा जाने गरेको बताइएको छ । तरकारीले उचित मूल्य नपाउँदा जिल्लाका किसान चिन्तित छन् । भरतपुर महानगरपालिका २६ मा मामा भान्जा कृषि फर्म सञ्चालन गर्दै आएका सुनिल गुरुङ्ले बजारमा उचित मूल्य पाउन नसकेको गुनासो गरे । उनको बारीमा अहिले लौका, करेला, तनेबोडी, स्टिकलेस बोडी, सिमि र घिरौला रहेका छन् । उनले भने ‘दैनिक १ देखि १ दशमलब ५ टन तरकारी बजारमा जान्छ । पहिलेको भन्दा आधा पनि मूल्य परेको छैन ।’

अघिल्लो वर्षको लकडाउनका कारण मारमा परेका किसान यस वर्ष पनि घाटा बहोर्नु परेको उनले जानकारी दिए। खद्रौलीमा सुवेदी कृषि फर्म सञ्चालन गर्दै आएका सुभद्रा सुवेदीले किसानसंग अहिले नोक्सानीको हिसाव गर्नु वाहेकको विकल्प नरहेको बताउछिन् ।

उनले भनिन् ‘स्थानिय प्रशासनले हाटवजारहरु बन्द गरिदिदाँ र बजारसम्म पु¥याउन कठिन हुँदा उचित मूल्य पाउन सकिएन ।’ निषेधाज्ञा अघि तरकारी लिनका लागि व्यवसायी खेतबारीमा नै आउने गरेको भए पनि अहिले बन्दाबन्दीका कारण व्यवसायी आउन छोडेको उनको गुनासो छ ।

उनले तरकारीहरु अन्य बालीजस्तो भण्डारण गर्न नसकिने भएकाले समयमै बजारमा लगेर बिक्री नगरे कुहिएर खेरा जान्छ । पश्चिम चितवन तरकारीको मुख्य पकेट क्षेत्र हो । यहाँको तरकारी स्थानिय वजार संगै काठमाडौँ, पोखरा, बुटवल जाने गरेको थियो ।

अहिले बारीमा गोलभेडा, काँक्रो, फर्सी, लौका, बोडी, करेला, खुर्सानी, रामतोरी, भेन्टा लगायतका तरकारी बजार लैजाने अवस्थामा छन् । कृषि ज्ञानकेन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लामा उत्पादित तरकारीको बजार भाउ नपाउने अवथा रहेको भए पनि क्रमिक रुपमा सुधार हुँदै जाने बताए । बन्दाबन्दीका कारण कृषककोबाट तरकारी उठ्न नसकेको र कुहिएर जान थालेको उनले जानकारी दिए ।

जिल्लामा वार्षिक ७ हजार ५ सय हेक्टरमा तरकारी खेती हुँदै आएको छ । यस समयमा दुई हजार ४ सय हेक्टर क्षेत्रफलमा तरकारी लगाइँदै आएको छ । वार्षिक रुपमा जिल्लामा एक लाख मेट्रिकटनको हाराहारीम उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । व्यवसायीले यहाँबाट पश्चिममा धनगढी र पूर्वमा बिर्तामोडसम्म तरकारी लैजान्थे ।

अहिले कोहोलपुर पश्चिम र हेटौडा पूर्व तरकारी जान सकेको छैन । तरकारी यात्रुवाहक बसको छतमा राखेर पठाइन्थ्यो । अहिले सार्वजानिक यात्रुवाहक बस नचले पछि तरकारी पठाउन नसकिएको व्यवसायीको भनाई छ । स्थानीय स्तरमा आफ्नै उत्पादन हुने मौषम भएकाले पनि खपत कम छ । निषेधाज्ञाले होटल, रेष्टुरेन्ट बन्दसंगै भोजभतेर नहुँदा तरकारीको खपत समेत घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस