टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान


१७ जेष्ठ २०७८, सोमबार


लण्डन । कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आएका टङ्क भट्टराई र काठमाडौँ घर भएका आशिष महर्जन र जेनिस गिरीको संयुक्त प्रयासबाट पाँच वटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा काम गरिरहेका डा. अभिषेक न्यौपानेमार्फत टीकापुर अस्पतालका सुपरिटेन्डेन्ट डा.रेमकुमार राईलाई रु पाँच लाख बराबरको उक्त कन्सन्ट्रेटरहरू एक कार्यक्रमका बीच प्रदान गरिएको थियो ।

बेलायतमा स्थापित समाजसेवीका रूपमा परिचित भट्टराई परोपकारी संस्था कोडेकका अध्यक्षसमेत छन्। उनले गिरीसँगै मिलेर हचटिआर नामक मानव श्रम व्यवस्थापनमार्फत स्वास्थ्य क्षेत्रमा रोजगारीसमेत दिँदै आइरहेका छन् । त्यस्तै महर्जन पेशाले इन्जिनियर हुन् । उनले भट्टराईकै संस्थामा प्राविधिकरूपमा सहयोग गरिरहेका छन् ।

‘तीनै जना कोभिड सङ्क्रमित भई हाल निको भएका छौँ, बेलायत जस्तो देशमा त हामीलाई यति गाह्रो भयो भने नेपालमा कति गाह्रो होला भन्ने सोचेर हामी तीन जनाले सहयोग गर्ने निर्णय गरेका हौँ’, भट्टराईले भने । भट्टराई अध्यक्ष रहेको परोपकारी संस्थाले पनि कोरोना सङ्क्रमितका लागि सहयोग गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस