पाँचखालमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि १ अर्ब ५५ करोड बजेट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाँचखालमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि १ अर्ब ५५ करोड बजेट


१५ जेष्ठ २०७८, शनिबार


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई रु एक अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विश्वविद्यालयका लागि बजेट विनियोजन गर्दै आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणका लागि प्रक्रिया थालिने जनाएका हुन् । विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिनमध्ये पाँचखालसहित नमोबुद्ध नगरको केही वडा समेटिएको छ ।

विश्वविद्यालयका लागि आवश्यक देखिएको करीब दश हजार तीन सय रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको जिल्ला मालपोत कार्यालय धूलिखेलले जनाएको छ । कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं.७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं.वडाको दश हजार तीन सय रोपनी सार्वजनिक जमिन हालै विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण)को नामसारी भइसकेको छ ।

उक्त विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशानुसार २०७६ असार ९ गते राजपत्रमा प्रकाशित भएको थियो । सोहीअनुसार २०७६ मङसिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णय सरकारले गरेको थियो । विश्वविद्यालयका लागि उपयुक्त जग्गा खोज्ने क्रममा पाँचखाल र नमाबुद्ध नपाको सिमामा अवस्थित जग्गा उपयुक्त देखिएपछि सरकारले विश्वविद्यालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहनेगरी जिल्ला मालपोत कार्यालयलाई जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

उक्त विश्वविद्यालय निर्माणार्थ चिनियाँ सरकारले पनि सहयोग गर्न इच्छुक देखाएको छ । छिमेकी चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेट अध्ययनपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणार्थ सम्झौतासमेत भएको थियो । विश्वविद्यालय सञ्चालनपछि विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपालबाट जनशक्ति पलायन हुने क्रम न्यूनीकरण हुदै जाने अपेक्षा गरिएको छ ।

विश्वविद्यालयबाट विज्ञान तथा प्रविधिमा उच्चस्तरको अनुसन्धान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्ने सरकारी योजना रहेको छ । अन्तरराष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्न यो विश्वविद्यालय निर्माण गर्न लागिएको निवर्तमान सांसद एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले बताए ।

उनका अनुसार सार्वजनिक जमिन विश्वविद्यालयको नाममा हस्तान्तरण भइसकेकाले अबको बजेटबाट निर्माण प्रक्रियाको थालनी गरिनेछ । उनका अनुसार पाँचखालमा निर्माण हुन लागको पूर्वाधार उक्त विश्वविद्यालयको केन्द्रीय कार्यालय हुनेछ ।

मन्त्रिपरिषद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठित विश्वविद्यालय पूर्वाधार तयारी समितिले विश्वविद्यालय निर्माणको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिएको छ । हाल उक्त विश्वविद्यालयका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)सँगै ‘माष्टर–प्लान’ तयार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस