पशुपति क्षेत्रको गुरुयोजना विस्तार गर्न ३५ करोड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पशुपति क्षेत्रको गुरुयोजना विस्तार गर्न ३५ करोड


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि आगामी आर्थिक वर्षमा रु ३५ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८/२०७९ मा पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माणलाई तीव्रता दिइने उल्लेख छ ।

यसैगरी लुम्बिनी विकास गुरुयोजनाका काम दुई वर्षमा सम्पन्न गरिने लक्ष्य बजेट वक्तव्यमार्फत राखिएको छ । यसका लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । धनुषा जिल्लाको जनकपुरस्थित जानकी मन्दिर क्षेत्र र कपिलवस्तु जिल्लाको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्न आगामी आर्थिक वर्षदेखि प्रक्रिया अघि बढाइने भएको छ ।

यसअघि यी क्षेत्रमा पुरातत्व विभागले उत्खनन गरेको थियो । विभागले दुवै स्थानमा ऐतिहासिक, पुरातात्विक महत्वका चिजबीज भेटिएको जनाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गर्दै आएको थियो ।

आगामी आवमा चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा राममन्दिर स्थापना गर्न बजेट विनियोजन गरिएको छ । राम, सीता र लक्ष्मणको मूर्ति बनाई गत रामनवमीमै अयोध्यापुरी लगिएको छ । आदर्श राजा रामको जन्म अयोध्यापुरीमै भएको जनाई सरकारले राम मन्दिर निर्माणलाई प्राथमिकतासाथ अघि बढाएको हो ।

देशभरको संस्कृति झल्कने गरी काठमाडौँको कीर्तिपुरमा निर्माणाधीन सांस्कृतिक सङ्ग्रहालय दुई वर्षमा सम्पन्न गरिने प्रतिबद्धता बजेट भाषणमा गरिएको छ । यसैगरी महत्वपूर्ण धार्मिक तीर्थस्थल पाथीभरा, हलेसी, गढीमाई, स्वर्गद्वारी, चन्दननाथलगायतका गुरुयोजना निर्माण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस