निर्णय विपरीत मन्त्री बनेको भन्दै सुदूरपश्चिमका ६ मन्त्रीलाई स्पष्टीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्णय विपरीत मन्त्री बनेको भन्दै सुदूरपश्चिमका ६ मन्त्रीलाई स्पष्टीकरण


१५ जेष्ठ २०७८, शनिबार


धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ६ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । शुक्रवार नियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षले बनाएको प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय विपरीत मन्त्री बनेको भन्दै स्पष्टीकरण सोधेको हो । मन्त्री बन्नु र विपक्षीसँग साँठगाँठ गर्नु जघन्य अपराध भएको भन्दै स्पष्टीकरणमा किन कारबाही नगर्ने २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

ओली पक्षका नेताहरू मात्र भएको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर नेता माधवकुमार नेपाल समूहको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेसँगै शुक्रवार मात्र तीन मन्त्रीले राजीनामा दिएका थिए भने चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका थिए ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिँदा दीर्घ बहादुर सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का सामाजिक विकास, पूर्णा जोशी आन्तरिक मामिला मन्त्री बनेका थिए भने चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका थिए ।

सुदूरपश्चिम कमिटीले संसदीय दलका नेता शाहलाई यसअघि नै स्पष्टीकरण सोधेर कारबाही गर्न सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस