मुलुकको सर्वाङ्गीण विकास पारस्परिक सम्मान र सहअस्तित्वबाट मात्रै सम्भव छ : प्रचण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुलुकको सर्वाङ्गीण विकास पारस्परिक सम्मान र सहअस्तित्वबाट मात्रै सम्भव छ : प्रचण्ड


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकको सर्वाङ्गीण विकास पारस्परिक सम्मान र सहअस्तित्वबाट मात्रै सम्भव रहेको बताएका छन् । उनले गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने बताए ।

‘अहिले गणतन्त्रका विरोधीहरूबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहङ्कारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको बलिदानी पूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्त्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले जनयुद्ध, जनआन्दोलनलगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात सहिदहरूप्रति साथै कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरूको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न अपिल पनि गरेका छन् । स्वदेशमै उपलब्ध साधन स्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस